July 13th, 2022

सबैको लघुवित्तको छैठौं वाषिकोत्सव : देशभर विभिन्न कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ तनहुँको बन्दीपुर-१, डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा डुम्रे सुपरीवेक्षण मुकाम अन्तर्गतका शाखाहरुद्वारा विभिन्न कार्यक्रम सञ्चालन गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराउनुभएको छ ।

छैठौं वाषिकोत्सवको उपलक्ष्यमा बाग्लुङ्ग जिल्ला स्थित संस्थाको अक्षते शाखाले आषाढ २८ गते ट्राफिक सचेतना सम्बन्धी जानकारीमूलक होडिङ्ग बोर्ड  अक्षते, दोबिल्ला स्थित अस्थायी ट्राफिक पोष्टलाई वितरण गरेको छ ।

संस्थाले धादिङको धार्के शाखाद्वारा धुनीवेसी-९ स्थित श्री बराह देवी प्राथमिक विद्यालय गरिब तथा जेहेन्दार छात्रछात्रालाई पाठ्य सामग्री वितरण गरेको छ । धादिङको धुनीबेसी-९ टायलघरमा रहेको उक्त विद्यालयका ३५ जना विद्यार्थीहरु मध्ये ५ जना गरिब तथा जेहेन्दार छात्रछात्रालाई पाठ्य सामग्री वितरण गरेको हो ।

कार्यक्रममा धार्के शाखाका प्रमुखले विद्यार्थीहरुलाई अनिवार्य विद्यालय उपस्थित हुन तथा विद्यार्थीहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभएको छ । उक्त विद्यालयका प्रधानाध्यापक हसना भण्डारीले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको जानकारी गराउँदै संस्थालाई धन्यवाद दिनुभएको हो । उक्त कार्यक्रममा संस्थाका कर्मचारीहरु तथा विद्यालयका शिक्षक, शिक्षिका तथा अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

त्यस्तै संस्थाको छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, धमिलिकुवाँ शाखाले राइनस नगरपालिका वडा नम्बर ८ हरबोट स्थित सर्वोदय सेवा आश्रम तथा लायन्स जेष्ठ नागरिक सेवा आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको छ । धमिलिकुवाँ शाखाले उक्त आश्रमका सञ्चालक कृष्ण ओलियाको उपस्थितिमा उक्त आश्रममा रहेका १२ जना जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेको हो ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाको अरुणखोला शाखाले नवलपरासी जिल्ला (पश्चिम) बिनयी त्रिबेनी–१, बगुबन स्थित लक्ष्मी आधारभुत विद्यालयमा ८ कक्षासम्म अध्ययनरत आर्थिक अवस्था अत्यन्त कमजोर रहेका ५६ जना विद्यार्थी भाइबहिनीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

स्याङ्गजाको अर्जुनचौपारी शाखाले अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ र ६ मा सञ्चालित समूह न. ३, ७, ८, ९ र २३ गरी पाँच वटा समूहका ग्राहक सदस्यहरुलाई तरकारीको बीउ विजन तथा बोट विरुवा वितरण गरेको छ ।

त्यस्तै रसुवा जिल्ला स्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बेत्रावती शाखाले छैठौं वार्षिकोत्सवको अवसर पारेर उत्तरगया गाउँपालिका कैदलेटारमा सञ्चालित समूहका सदस्यहरुलाई तरकारीको बीउ विजन वितरण गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला साँगाचोक स्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, साँगाचोक शाखाले चौतारा साँगाचोकगढी नगरपालिका, वडा नम्बर १२ साँगाचोक बजार क्षेत्रमा सरसफाई कार्यक्रम गरेको छ । उक्त सरसफाई कार्यक्रममा सोही वडाका वडा अध्यक्ष, प्रहरी चौकी इन्चार्ज, बजार ब्यवस्थापन समितिका अध्यक्ष, साँगाचोक युवा क्लबका सचिव, स्थानीय स्तरमा सञ्चालित सहकारी संस्थाका प्रतिनिधि, होटल व्यवसायी संघ, संस्थाका सदस्यहरु तथा स्थानीय बासिन्दाको सह-कार्यमा सरसफाई कार्यक्रमको आयोजना गरेको भएको हो ।

मकवानपुर जिल्ला मनहरी स्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, मनहरी शाखाले आषाढ २५ गते छैठौ वार्षिकोत्सवको उपलक्ष्यमा मकवानपुर, मनहरीमा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थाीहरुलाई पाठ्य सामग्री वितरण गरेको छ ।

त्यस्तै छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चितवन जिल्लाका ३ वटा शाखाहरु ज्योतिनगर, पर्सा र कुरिनटार शाखाको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका वडा नम्बर २६ ज्योतिनगर स्थित दिवा स्याहार केन्द्रमा खेलकुद तथा खाद्यान्न सामग्री वितरण गरेको छ । उक्त स्याहार केन्द्रमा ५ वर्षदेखि १२ वर्षसम्मका ८ जना मस्तिष्क पक्षघात भएका बालबालिका रहेको संस्थाका सञ्चालक लक्ष्मीकान्त घिमिरेले बताउनुभएको छ ।

संस्थाको तनहुँ जिल्लाको डुम्रे, थर्पु शाखा र गोरखा जिल्लाको लक्ष्मीबजार शाखाको संयुक्त आयोजनामा ब्यास नगरपालिका वडा नम्बर १० बैरेनी स्थित उज्यालो घरमा रहेका अनाथ बालबालिकाहरुलाई फलफूल, खाद्यान्न तथा पाठ्य सामग्री वितरण गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]