
बैंकिङ खबर/ बैंकहरुबाट ऋण लिएरभन्दा नलिएर व्यावसाय गर्नेको संख्या बढी भएको एक सर्वेक्षणले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणमा साना उत्पादन मुलक उद्योग प्रतिष्ठान(१० जनाभन्दा कम काम गर्ने)मा ३४ प्रतिशतले मात्र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको पाइएको हो । जसमा १ प्रतिशतले बैंकबाट ऋणको प्रतिबद्धता पाएको तथा ५ प्रतिशत प्रक्रियामा रहेको उल्लेख गरिएको छ । ६० प्रतिशत साना उद्योग प्रतिष्ठानले बैंकको ऋण नलिएको देखिएको छ ।
नेपालमा सञ्चालित ७० प्रतिशत उद्योग २७० दिन चल्ने तथा १९ प्रतिशत उद्योग प्रतिष्ठान १८० देखि २६९ दिनसम्म चल्ने गरेको देखिएको छ । यस्तै ४ प्रतिशत उद्योग प्रतिष्ठान ९० भन्दा कम दिन सञ्चालनमा रहेको पाइएको छ ।
सर्वेक्षणमा अनुसार ठूला औद्योगिक प्रतिष्ठानहरु २३ प्रतिशतले बढेको देखाएको छ । २०६९ सालको सर्वेमा ठूला उद्योगको संख्या ४ हजार ७६ रहेकोमा २०७६ सालको सर्वेमा २३ प्रतिशतले बढेर ५ हजार १७ पुगेको देखिएको छ । औद्योगिक प्रतिष्ठानहरुमा करिव ६ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पती रहेको देखिएको छ ।