
बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डटकमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :-
मौद्रिक नीतिको तयारी तीव्र

नेपाल राष्ट्र बैंक यतिबेला आउँदो आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति निर्माणको अन्तिम चरणमा पुगेको छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।
सोही बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति ल्याउन लागेको हो । मौद्रिक नीतिका लागि राष्ट्र बैंकले जेठबाट नै सुझाव मागेको थियो भने अहिले विभिन्न संघसंस्थासँग अन्तरक्रिया समेत गरेको छ ।
राष्ट्र बैंकलाई बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने चुनौती छ ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको अधिकांश सूचकहरु खस्किएको अवस्था छ । निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चिति, बढ्न नसकेको रेमिट्यान्स आप्रवाहलगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ । यस्तो अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमा राख्नुपर्ने कडा चुनौती समेत राष्ट्र बैंकलाई छ ।
विगतका वर्षहरुमा मौद्रिक नीति साउनको पहिलो हप्ता भित्र सार्वजनिक गरिएको थियो । यस वर्ष पनि साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याउने तयारी गरिएको छ । गत वर्ष भने गभर्नर अधिकारीले साउन २९ गते मौद्रिक नीति ल्याउनुभएको थियो । त्यसभन्दा अघि आव २०७७/७८ को मौद्रिक नीति साउन २ गते ल्याइएको थियो । त्यसअघि चिरञ्जीवि नेपालको गभर्नर हुँदा पनि साउन २ गते नै मौद्रिक नीति ल्याइएको थियो ।
गभर्नर महाप्रसाद अधिकारीले कसिलो मौद्रिक नीति ल्याउने संकेत गर्दै आउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले अर्थतन्त्र केही असजिलो भएको वेला छ, यस्तो वेला सबै सहज हुँदैन, कोही न कोहीले केही न केही सहनुपर्ने हुन्छ, एक–आपसमा असहजता सहने वेला हो । ब्याज बढ्न सक्छ, कुनै क्षेत्रलाई अलि बढी असजिलो हुन सक्छ, तर समग्रमा अर्थतन्त्र अप्ठ्यारोबाट बाहिर निकाल्ने हाम्रो प्रयास हुन्छ ।’
अहिलेको परिस्थितिअनुसार खासगरी साना तथा मझौला उद्योग–व्यवसाय, कृषि, विपन्न वर्गलगायतलाई हेरेर मौद्रिक नीति ल्याउने उहाँको भनाइ छ । उहाँले आन्तरिक उत्पादन बढाउनेतर्फ धेरै सुझाव आएको र त्यसलाई सम्बोधन गरिने बताउनुभयो । कोडिभकालमा अर्थतन्त्र पुनरुत्थानका लागि दिइएका सुविधाहरू क्रमशः कटौती गरिँदै आएको र त्यसले निरन्तरता पाउने उहाँको भनाइ छ ।
राष्ट्र बैंकले बैंक वित्त कम्पनीसँग ५० खर्बको स्रोत रहेको र यसलाई उत्पादनमुखि बनाउन नसके अहिलेको विषय परिस्थिति झन् भयावह हुने जनाएको छ। सोही अनुसार मौद्रिक नीतिको तयारी भैरहेको राष्ट्र बैंकले बताएको छ।
अर्थमन्त्री शर्माको राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ ।
सभामुख अग्नि सापकोटाले राखेको ११ सदस्य विशेष छानबिन समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको हो । सभामुखले प्रस्ताव वाचन गर्दै सांसदहरू खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य रहेको छानबिन समिति गठन गरिएको जानकारी दिनुभएको छ ।
भाँडियो हिमालयन र सिभिल बैंकको बिग मर्जर

हिमालयन र सिभिल बैंकबीचको बीग मर्जरको सम्झौता अन्ततः अन्तिममा आएर रोकिएको छ । मंगलबार साँझ स्पाप रेस्यो टुङ्ग्याएर शुक्रबारलाई एमओयूको तयारी गरिएको थियो ।
बोर्ड लेवलमा स्वाप रेस्योबारे कुरा मिलेपनि कर्मचारी समायोजनमा अझै कुरा नमिलेको कारण मर्जर लम्बिएको हो । हिमालयन बैंकले आफ्नो ८१ कित्ता सेयर बराबर सिभिलको सय कित्ता हुनेगरी अक्वायर गर्न तयार भएको थियो । एमओयूको अघिल्लो दिन बिहीबार साँझ दुई बैंकको मर्जरमा खटपट सुरु भएको हो ।
हिमालयन बैंकले सिभिल बैंकका हालका सीईओ शुनिल पोखरेललाई डेपुटी सीईओ मान्न तयार भएपनि अन्य कर्मचारीको हकमा नविल एनबीको झै १ तह घटाएर कर्मचारी मिलना गर्न प्रश्ताव गरेपछि मर्जर सम्झौता रोकिएको हो । कर्मचारीको सम्मानजनक समायोजनको स्पष्ट खाका नआई मर्जरमा जान नहुने भन्दै सीईओ पोखरेलले संचालक समितिलाई कन्भिन्स गराएका थिए ।
असार मसान्तको लागी अझै ७ दिन बाँकी रहेकाले हतारमा सम्झौता नगर्ने सिभिल बैंकले जनाएपछि आफ १ बजेको लागी बुक गरिएको होटल सोल्टीको हल पनि क्यान्सिल भएको छ ।
सेन्चुरी बैंक प्रभु बैंकमा गाँभिने, छलफल अन्तिम चरणमा

ञ्चुरी बैंक प्रभु बैंकमा गाँभिन भएको छ । असार मसान्तभित्रै मर्जरको सम्झौता गर्ने गरिने तयारी गरिएको जनाइएको छ । सेञ्चुरीले स्वाप रेसियो १ः१ मागेको र प्रभु ९५ दिन तयार भएको बुझिएको छ ।
प्रभु बैंकले पनि सेञ्चुरीसँग मर्जरका विषयमा छलफल भएको जनाएको छ । मर्जरपछि बैंकको नाम प्रभु बैंक नै रहनेमा सेञ्चुरीका सञ्चालकहरु सहमत छन् । कर्मचारी व्यवस्थापनमा पनि खासै इस्यू छैन ।
यी दुई बैंकबीच यसअघि पनि मर्जरको डिल फाइनल भएको थियो । सेञ्चुरी बैंकको मर्जर कमिटिले प्रभु बैंकसँग मर्जरमा जाने निर्णय नै गरेको थियो । त्यसबेला स्वाप ८५ तय गरिएको थियो ।
हरेक वर्ष सेयर ब्रोकर लाइसेन्स खुल्ने

धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर लाइसेन्सका लागि कोटा प्रणाली खारेज गरेको छ । योसँगै अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्नेछ । धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै बोर्डले धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिइ आवेदन माग गर्ने व्यवस्था गरेको छ।
प्रस्तावित नियमावली अनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि बोर्डले न्युनतम २० करोड रुपैयाँ चुक्ता पुँजी निर्धारण गरेको छ। यस तहका सेयर ब्रोकरहरुले सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री गर्नेछन्।
यसअघिको व्यवस्था अनुसार सेयर ब्रोकर कम्पनीका लागि कायम हुनुपर्ने न्युनतम चुक्ता पुँजीको सीमा २ करोड रुपैयाँ तोकिएको थियो। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रदान गर्नेहरुलाई भने खरिद बिक्रीसहित मार्जिन कारोबार, लगानी परामर्श, लगानी व्यवस्थापन र निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने सहुलियत पनि हुनेछ। यस प्रकारको ब्रोकर कम्पनीको चुक्ता पुँजी बोर्डले ६० करोड रुपैयाँ हुनुपर्ने प्रस्ताव गरेको हो।
बैंकमा जागिर
नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ । बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि करारमा ३७ जना कर्मचारी माग गरेको हो ।
बैंकले सुरक्षा समूहतर्फ पिपामा केन्द्रीय कार्यालयका लागि ३ जना, बिराटनगर कार्यालयका लागि २ जना, जनकपुर कार्यालयका लागि १ जना, वीरगञ्ज कार्यालयका लागि २ जना, पोखरा कार्यालयका लागि २ जना, सिद्धार्थ नगर कार्यालयका लागि २ जना, नेपालगञ्ज कार्यालयका लागि २ जना र सुर्खेत कार्यालयका लागि २ जना मागेको छ ।
त्यस्तै, सवारी चालक (हलुका सवारी चालक) का लागि केन्द्रीय कार्यालयमा १२ जना, जनकपुर कार्यालयमा १ जना र पोखरा कार्यालयमा १ जना कर्मचारी मागेको हो ।
साथै, बस चालकमा केन्द्रिय कार्यालयका लागि २ जना र जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, धनगढीका लागि १.१ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता आठ कक्षा उत्तिर्ण माग गरेको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन ४ गते भित्र बैंकको बेभसाइटमा भित्र राखिएकोबाट अनलाईन आवेदन दिन सकिनेछ ।
कृषि विकास बैंकमा रोजगारी खुलेको छ । बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशीतर्फ बैंकले चौंथोदेखि आठौं तहसम्मका पदमा स्थायी नियुक्तिका लागि १५२ जनाको आवेदन आह्वान गरेको छ।
प्रशासन र प्राविधिकतर्फ बैंकले कर्मचारी मागेको हो। बैंकले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ। शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग भएको छ। उक्त पदका लागि तपाईले अनलाइनबाट आवेदन दिनुपर्नेछ ।