Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तका समस्यालाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ : सुरेश बम(सीईओ, खप्तड लघुवित्त)

२०७९ असार २४ गते

सुरेश बम

प्रमुख कार्यकारी अधिकृत(सीईओ)

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड

मौद्रिक नीति र लघुवित्त

लघुवित्त वित्तीय संस्थाहरुले ग्राहकसँग १५ प्रतिशतभन्दा माथि ब्याजदर लिन नपाउने व्यवस्था छ । लघुवित्तको फण्डको स्रोत भनेको वाणिज्य बैंकहरु हुन् । वाणिज्य बैंकबाट पाउने ब्याजदरको रेट एकदमै धेरै छ । यो लघुवित्त क्षेत्रमा सबैभन्दा ठूलो समस्या हो । अर्कातिर लघुवित्त स्रोतको व्यवस्थापन वाणिज्य बैंकले मात्र गर्ने भएको कारण नेपाल राष्ट्र बैंकले लघुवित्त कोषको स्थापना गर्ने भनेको छ ।

त्यसलाई पनि सरल तरिकाले सम्पूर्ण लघुवित्त संस्थाहरुले पाउने व्यवस्था भएमा लघुवित्त क्षेत्रमा राम्रो हुने थियो । त्यस्तै ब्याजदर वृद्वि गर्ने कुरामा राष्ट्र बैंकले विशेष प्राथमिकता दिनुपर्छ । अहिले वित्तीय संस्थाहरु कोभिड महामारीको प्रकोपबाट भर्खरै उम्किएको अवस्था छ । यस्तो बेलामा केन्द्रीय बैंकले हार्ड पोलिसीहरु ल्याउनुहुँदैन । भएको समस्याहरुलाई एकै पटक नभई क्रमशः समाधानतर्फ लाग्ने किसिमको मौद्रिक नीतिमा व्यवस्था हुनुपर्छ ।

आर्थिक रुपान्तरणमा लघुवित्तको भूमिका

लघुवित्त क्षेत्रमा वि.सं. २०५० सालदेखि म निरन्तर लागि रहेको छु । सुरु – सुरुमा महिलाहरुलाई मात्र सदस्यता दिने गरेका थियौं भने अहिले पुरुषहरुलाई पनि सदस्यता दिन थालेको छौं । सुरुमा महिला दिदीबहिनीहरु आफ्नो घरभन्दा बाहिर गएर बोल्न सक्ने अवस्था थिएन । उनीहरु समाजबाट बाहिर आउन सक्ने अवस्थामा पनि थिएन ।

त्यसैले हामीले गाउँ–गाउँमा गएर महिला दिदीबहिनीहरुलाई कम्तीमा आफ्नो नामसम्म भएपनि लेख्न जान्नुपर्छ भन्ने कुरा यसै लघुवित्तको माध्यमबाट सिकायौं । उहाँहरु एकदमै खुशी हुनुहुन्थ्यो । त्यसपछि हामीले लघुवित्तकै माध्यमबाट नेपाल सरकार तथा विभिन्न निकायसँग समन्वय गरेर प्रौढ शिक्षाका कार्यक्रम पनि सञ्चालन ग¥यौं । तर अहिलेको अवस्था र त्यतिबेलाको अवस्थामा धेरै फरक छ ।

लघुवित्तले सामाजिक जनचेतनाको साथसाथै आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउने पक्षमा धेरै ठूलो भूमिका खेलेको छ । यसले सामाजिक रुपमा मात्र नभएर उनीहरुको आर्थिक स्थिति सुधार गर्न सहयोग गरेको छ । त्यसैले लघुवित्तले अदृश्य रुपमा समाजमा धेरै ठूलो प्रभाव पारेको छ ।

लघुवित्तका चुनौती, समस्याहरु

लघुवित्त क्षेत्रको प्रमुख समस्या भनेको यसको अपरेटिङ कस्ट एकदमै बढी हुन्छ । सञ्चालन खर्च पनि एकदमै बढी हुन्छ । यस क्षेत्रमा कर्जाको जोखिम एकदमै बढी हुन्छ । कर्जाको सुरक्षाको जिम्मेवारी हामीले लिएका हुँदैनौं तर ग्रुप ग्यारेन्टी हुन्छ । सदस्यहरुले लगेको कर्जाको ब्याकअप न त संस्थासँग हुन्छ, न त राष्ट्रले नै सेक्युरिटी दिएको हुन्छ ।

त्यस्तै लघुवित्त वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले बाउन्डी दर गरेको छ । उदाहरणका लागि बचत निक्षेप संकलन गर्न नपाउने, नेपाल सरकारको गरिबी निवारण कोषमा वा वाणिज्य बैंकहरुमा आश्रित हुनुपर्ने व्यवस्था रहेको छ ।

वाणिज्य बैंकहरुले आफ्नो लघुवित्त संस्थाहरुका स्थापना गरिसकेको अवस्था छ । त्यसैले वाणिज्य बैंकको १०० प्रतिशत स्वामित्वमा खुलेका संस्थाहरुलाई बढी प्राथमिकता दिने गरेको छ । उनीहरुलाई फण्डको त्यति समस्या हँुदैन भने अहिले भर्खर खुलेको नयाँ संस्थाहरुलाई फण्डको समस्या आएको छ ।

समाधानका उपायहरु

नेपाल राष्ट्र बैंकले लघुवित्त कोषको स्थापना गर्ने भन्ने नीति ल्याएको छ । त्यसलाई मौद्रिक नीतिमा सकारात्मक रुपमा संलग्न गर्न सकेमा लघुवित्त क्षेत्रमा सहज हुनेछ । त्यस्तै लघुवित्त र वाणिज्य बैंकहरुको प्रकृति फरक भएकाले यिनीहरुलाई एउटैमा गाँस्न मिल्दैन ।

किनकी लघुवित्त संस्थाहरुलाई केन्द्रीय बैंकहरुले आफ्नो निर्देशनमा कर्जाको सिलिङ र ग्रुपको क्राइटएरियामा बाउन्ड्रेट गरेको हुन्छ । लघुवित्त वित्तीय संस्थाहरुलाई पनि फ्रि छोड्नुपर्छ । किनकी स्थानीय निकायहरुमा बैंकिङ सेक्टर छैनन् । अहिलेको अवस्थामा पनि ४,५ किलोमिटर टाढा गएपछि बैंक भेट्टाउन सकिन्छ भने कुनै ठाउँमा त १० कि.मि सम्म जानुपर्ने अवस्था छ ।

लघुवित्त वित्तीय संस्थाहरु सहजै स्थानीय निकायमा भेट्टाउन सकिन्छ । अहिले झण्डै गाउँपालिका तथा नगरपालिकाको वडामा पनि यसको अस्तित्व रहेको छ । यसरी यसबाट पनि सर्वसाधारणले बचत गरिदिएमा लघुवित्तहरुको वाणिज्य बैंकमा भएको परनिर्भरता पनि हट्न जान्छ ।
यदि प्रतिस्पर्धामा जाने हो भने केही खुकुलो गराइदिनुपर्छ । होइन भने केन्द्रीय बैंकले लघुवित्तहरुलाई सहज रुपमा कर्जा पाउने वातावरण सिर्जना गरेमा लघुवित्तमा भएको समस्याहरुलाई हल गर्न सकिन्छ ।

खप्तड लघुवित्त

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७६ फागुनमा केन्द्रीय बैंकबाट लाइसेन्स पाएको थियो । लाइसेन्स पाए भएलगत्तै २०७६ चैत्र ११ गतेदेखि कोभिडका कारण लकडाउन सुरु भयो ।

२०७७ साउनतिर अलि खुकुलो भयो र साउनको १६ गतेदेखि हामीले टिकापुर शाखाबाट कारोबार सुरु गर्यौ । त्यसपछि कारोबार सुरु गरेको नौ महिनापछि फेरि अर्का लकडाउन भएको कारण संस्था राम्रोसँग सञ्चालन गर्न पाएनौँ । यस लघुवित्तको कैलालीमा ४ ओटा, कञ्चनपुरमा २ ओटा र दैलेखमा एक ओटा गरी जम्मा सात ओटा शाखाबाट ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

लघुवित्तको चुक्ता पुँजी २ करोड ६८ लाख रहेको छ । त्यसमध्येमा ६७ प्रतिशत संस्थापकको र बाँकी ३३ प्रतिशत कर्मचारी र पब्लिकको रहेको छ । अहिले आईपिओका लागि धितोपत्र बोर्डमा पाइपलाइनमा छौं । अनुमति पाएसँगै चाँडै नै निष्काशन गर्ने तयारीमा छौं । त्यसपछि संस्थाको चुक्ता पुँजी चार करोड हुनेछ । यस संस्थामा कर्मचारी संख्या २९ जना रहेका छन् भने १९ सय जना उद्यमी सदस्य रहेका छन् ।

त्यसैगरी २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । विशेष गरी पशु तथा पंन्छि पालन, कृषि र व्यापारमा बढी कर्जा लगानी भएको छ । लगानी भएको मध्येमा १०० प्रतिशत कर्जाको सहि सदुपयोग भएको छ । लघुवित्तमा खराब कर्जाको अवस्था १ देखि २ प्रतिशतको बीचमा छ ।

(खप्तड लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेश बमसँग गरिएको कुराकानीको सम्पादित अंश)