July 7th, 2022

मौद्रिक नीतिमा लघुवित्त : ‘न्यून ब्याजदरमा भरपर्दाे र स्थायी स्रोतको व्यवस्था गरौं’

रोशन कुमार अधिकारी
प्रमुख कार्यकारी अधिकृत(सीईओ), अभियान लघुवित्त वित्तीय संस्था लि.

लघुवित्त र मौद्रिक नीति

लघुवित्त वित्तीय संस्थाहरुको लागि न्यून ब्याजदरमा भरपर्दो र स्थायी वित्तीय स्रोतको व्यवस्था गर्नुपर्छ । नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ”वर्गका लघुवित्त वित्तीय संस्था तथा सहकारीबाट प्रवाह भइरहेको लघुवित्त सेवालाई नियमन गर्न एकै प्रकारको व्यवस्था हुनुपर्छ । त्यस्तै लघुवित्त सेवा प्रवाह गरिरहेका सहकारी संस्थालाई पनि कर्जा सूचना केन्द्रमा जोड्ने साथै दुवै प्रकारका संस्थाले प्रदान गरेको लघुवित्त सेवाको सूचना प्रणाली एकीकृत गर्ने गरेमा लघुवित्त क्षेत्रमा राम्रो हुन सक्छ ।

गरिबी न्यूनीकरणको एक भरपर्दो आधार लघुवित्त

नेपालमा लघुवित्त वित्तीय संस्थाहरु सेवा व्यवस्थापन केन्द्र तथा समूहमा हुने गर्दछ । लघुवित्तको यत्ति ठूलो कारोबारको व्यवस्थापन नेपालका महिला दिदी बहिनीहरुबाट नै सम्भव भएको हो । ग्राहक सदस्यको क्षमता विश्लेषण तथा कर्जा लगानीको निर्णयमा सबैभन्दा भूमिका महिला दिदीबहिनीले खेल्नुभएको छ ।

नेपाली समाजको लागि लघुवित्तको यो अभूतपूर्व योगदान हो । आफ्नो नाम समेत लेख्न नजान्ने महिला दिदी बहिनीलाई लघुवित्तले नाम लेख्न सिकाएको छ । उहाँहरुमा समूहमा आफ्नो मत राख्ने क्षमता तथा नेतृत्वको विकास भएको छ । महिला दिदी बहिनीहरुले कुनै उद्यम गर्न वा गर्जो टार्न शिरउच्च बनाएर अधिकारपूर्वक कर्जा प्राप्त गर्ने संयन्त्रको स्थायी व्यवस्था बनेको छ ।  लघुवित्तकै कारण स्थानीय साहु महाजनको चर्को ब्याजबाट नेपाली समाजले मुक्ति पाएको छ । त्यस्तै गरिबी न्यूनीकरणको एक भरपर्दो आधार पछिल्लो समयमा लघुवित्त बनेको छ ।

लघुवित्तका चुनौती तथा समस्याहरु र समाधानका उपायहरु

लघुवित्त क्षेत्रमा भएको प्रमुख समस्या भनेको धेरै संख्यामा रहेका लघुवित्त संस्था एक चुनौतीको रुपमा रहेको छ र यसको समाधानका लागि छिटै मर्जर लगायतका उपाय अपनाई संस्थाको संख्या कम गर्नुपर्छं ।

एकभन्दा बढी वित्तीय संस्थाबाट कर्जा लिएको कारण सदस्यहरुमा कर्जाको भार बढेको छ र यसको लागि लघुवित्त संस्थामा प्रवेश गर्नु अगाडि नै कर्जा सूचना केन्द्रमा दर्ता गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । सदस्यमा उद्यमशीलताको अभाव रहेको र यसको लागि स्थानीय निकायको सहयोगमा हरेक पालिकामा उद्यमशीलता विकासको लागि तालिमको व्यवस्था गरेमा लघुवित्त क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरु समाधान गर्न सकिन्छ ।

२ अर्ब बढी कर्जा लगानी गर्न सफल अभियान लघुवित्त

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा संख्या ६० ओटा रहेको छ । यस संस्थाको चुक्ता पुँजी १५ करोड २५ लाख रहेको छ । यस संस्थामा २ सय एघार जना कर्मचारीहरु कार्यरत छन् । २८ हजार सदस्य संख्या रहेको छ । संस्थामा उद्यमी सदस्य संख्या १९ हजार रहेको छ ।

२ अर्ब १३ करोड रकम कर्जा लगानी गर्दै आएको छ । विशेष गरी कृषि, व्यापार र पशुपालन क्षेत्रमा यस संस्थाले बढी कर्जा लगानी गरेको छ । अभियान लघुवित्त वित्तीय संस्थाबाट लगानी भएको मध्यमा सबै कर्जा सहि सदुपयोग भएको छ । यस लघुवित्तमा खराब कर्जाको अवस्था नगन्य रहेको छ ।

(अभियान लघुवित्त वित्तीय संस्था लि.का सिइओ रोशन कुमार अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश)

 
 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]