Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा मर्जरको छलफल तीव्र, ठूला बीमा कम्पनी बन्ने होडबाजी

२०७९ असार २३ गते

बैंकिङ खबर/पछिल्लो समय बीमा कम्पनीहरूबीच धमाधम मर्जर तथा एक्विजिसन हुन थालेको छ । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै इन्स्योरेन्स कम्पनीहरुले मर्जरको बाटो अवलम्बन गर्न थालेका हुन् ।

बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि अहिले बीमा कम्पनीहरू मर्जर तथा प्राप्तिको दबाबमा छन् । समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो । समितिको नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको भनाइ छ । समितिले बीमा कम्पनीहरूलाई हकप्रद निष्कासन गर्न बन्देज गरेको छ । हकप्रद सेयर निष्कासन गर्न बन्देज गरेका कारण कम्पनीहरूलाई बोनस सेयरबाट मात्रै पुँजी बढाउन कठिन छ ।

कम्पनीहरूले अहिले समितिसमक्ष पुँजी वृद्धिको योजना पनि पेश गरिसकेका छन् । कम्पनीहरूले पुँजी वृद्धिका लागि हकप्रद र मर्जर तथा प्राप्ति लगायत विकल्पहरू अगाडि सारेका छन् ।

बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी पुर्याउन पत्राचार गरिसकेको छ । कम्पनीहरूले एक वर्षभित्र पुँजी पुर्‍याइ सक्नुपर्नेछ ।

मर्जरको तीव्र छलफलमा बीमा कम्पनी

यतिबेला बीमा कम्पनीबीच मर्जरको तीब्र छलफल भएको छ । कति कम्पनीहरु मर्जमा गइ रहेका छन् । तोकिएकै समयमा चुक्ता पूँजी पुर्याउनु पर्ने बाध्यता भएपछि बीमा कम्पनीहरुमा मर्जरको लहर शुरु भएको हो । समितिले पूँजी वृद्धिको योजना अघि सारेपछि बैशाख २२ गते बीमा क्षेत्रमा पहिलो पटक सगरमाथा इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सबीच एक आपसमा मर्जर गर्ने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

समितिले बीमक गाभ्ने/गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा निर्देशिका,२०७६ को दफा ६ बमोजिम दुई बीमकहरुलाई एक आपसमा गाभ्न÷गाभिन बैशाख २३ गते शुक्रबार सैद्धान्तिक सहमति प्रदान समेत गरिसकेको छ ।

यस्तै जीवन बीमा कम्पनीहरुको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि एक आपसमा मर्जरमा जाने सम्झौता गरेका छन् । बैशाख २९ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेका तीन जीवन बीमा कम्पनीहरुलाई समितिले जेठ ३ गते मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

समितिले २०७६ सालमै बीमक गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी गरेपनि बल्ल बीमा क्षेत्रमा मर्जरको लहर शुरु भएको हो । समितिले गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम पाँच वटै बीमा कम्पनीहरुलाई मर्जरमा जान सहमति प्रदान गरेको हो । बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन बीमा कम्पनीहरुले मर्जरको बाटो रोजेका हुन् ।

मर्जरको चटारो

बीमा समितिले पूँजी बढाउन समयसीमा तोकेर निर्देशन दिएसँगै बीमा कम्पनीहरुमा मर्जरको चटारो बढेको छ । समितिले पनि विषेशगरी क्रस होल्डिङ्ग भएका बीमा कम्पनीहरुलाई मर्जरमा जाने जोड दिदै आईरहेको छ । समितिको निर्देशन अनुसार तोकिएको समयमा पूँजी बढाउन बाध्य भएपछि बीमा कम्पनीहरुले मर्जर तथा प्राप्ति सम्बन्धी एक आपसमा छलफल गरिरहेका छन् ।

थप सुविधा र छुटको व्यवस्था

बीमा समितिले पूँजी बढाउन बीमा कम्पनीहरुलाई मर्जर तथा एक्विजिशनलाई प्रोत्साहन गर्दै आइरहेको छ । समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई प्रोत्साहन गर्दै थप सुविधाका साथै छुटको व्यवस्था समेत गरेको छ ।

समितिले गत माघ ११ गते बीमक गाभ्ने-गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका संशोधन गर्दै मर्जरमा जाने कम्पनीहरुलाई थप सुविधा तथा छुटको व्यवस्था गरेको हो ।

निर्देशिका अनुसार बीमकलाई गाभेको कारण गाभ्ने बीमकको शेयर संरचनामा कुनै शेयरधनीको नाममा चुक्ता पूँजीको १५ प्रतिशत भन्दा बढी स्वामित्व कायम भएमा वा क्रश होल्डिङ्ग हुने भएमा त्यस्तो शेयर स्वामित्वलाई सीमा भित्र ल्याउन थप दुई वर्षको अवधि प्रदान हुनेछ ।

मर्जर प्रकृयामा कुनै बीमकको संस्थापक शेयर प्रतिशत अन्य गाभ्ने/गाभिने बीमकभन्दा बढी भई समान प्रतिशत कायम गर्नुपर्ने अवस्थामा लकिङ पिरियड पाँच वर्ष नपुगेतापनि उपयुक्तता जाँच गरी बिक्री गर्न स्वीकृति दिने सकिने लगायतको सूविधा समेत थप गरेको छ ।

यसैगरी मर्जर पछिको एकिकृत रुपमा बीमांकिको प्रतिवेदन पेश गर्न थप ६ महिना प्रदान गर्ने, बीमकको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा सञ्चालकसँगको लगानी वा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवस्था आएमा सो हटाउन एक वर्षको समय प्रदान गर्ने पनि निर्देशिकामा उल्लेख छ ।

छुट र सुविधा

बीमा समितिले मर्जरमा जाने कम्पनीहरूलाई प्रोत्साहित गर्न विभिन्न छुट र सुविधाको व्यवस्था समेत गरेको छ । समितिले मर्जर निर्देशिका संशोधन गर्दै थप सुविधाको व्यवस्था गर्दै आएको छ । समितिले १ वर्षको अवधिमा चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीहरू मर्जरमा जान बाध्य भएका छन् । बीमा कम्पनीहरूले तोकिएको पुँजी पुर्याउनका लागि मर्जरमा जाने पार्टनर खोज्ने प्रक्रियामा छन् ।

क्रस होल्डिङ भएका कम्पनीलाई मर्जरमा जान दबाब

बीमा समितिले एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर भएको (क्रस होल्डिङ) बीमा कम्पनीहरूलाई मर्जरमा जान दवाव दिने रणनीति बीमा समितिले बनाएको छ ।समितिले केही समयदेखि बीमा कम्पनीहरूमा भएको क्रस होल्डिङको बारेमा अध्ययन गरेको थियो । अध्ययनको तथ्यांक तयार पारेको समितिले क्रस होल्डिङ हटाउन निर्देशन दिएको थियो ।

समितिले क्रस होल्डिङ हटाउन ९ कम्पनीलाई निर्देशन दिएको छ । समितिले क्रस होल्डिङलाई हटाउन पर्ने र नहटाए मर्जरमा आदेश दिनसक्ने गरी निर्देशन जारी गरेको थियो ।
बीमा व्यवसायमा एकाधिकार रहनसक्ने भएकाले समितिले स्वच्छ र प्रतिस्पर्धात्मक व्यवसाय सञ्चालनका लागि क्रस होल्डिङ हटाउन निर्देशन दिएको समितिको भनाइ छ । कम्पनीहरूमा देखिएको क्रस होल्डिङ मात्रै हटाउँदा पनि नेपालमा बीमा कम्पनीहरूको संख्या कम हुने समितिको बुझाइ छ  ।
समितिको उक्त निर्देशनसँगै क्रस होल्डिङ भएका सूर्या र ज्योति लाइफले मर्जरमा जाने सम्झौतापत्रमा हस्तार गरेका छन् ।

५ जीवन बीमा र २ निर्जीवन बीमा कम्पनीबीच मर्जरमा जाने सम्झौता

हालसम्म जीवन बीमा कम्पनीतर्फ ५ वटा र निर्जीवन बीमा कम्पनीतर्फ २ वटाले मर्जरमा जने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जीवन बीमा कम्पनीहरूतर्फ गुराँस, प्राइम र युनियन लाइफ, ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । भने निर्जीवनतर्फ हिमालयन र एभरेष्ट इन्स्योरेन्सले मर्जरको सम्झौता गरिसकेका छन् ।

वैशाख २२ गते दुई निर्जीवन बीमा कम्पनी हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले समितिले तोकिदिएको साढे २ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन एक आपसमा गाभ्ने-गाभिने सहमति गरेका थिए । त्यसको एक हप्ता नवित्दै ३ जीवन बीमा कम्पनीले मर्जरको सम्झौता गरे । प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए ।

यस्तै, असार १२ गते ज्योति लाइफ र सूर्या लाइफबीच मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालयन जनरल र एभेरेष्ट इन्स्योरेन्सले नियामक निकायबाट मर्जरमा जाने अन्तिम स्वीकृति पाईसकेका छन् । भने ३ जीवन बीमा कम्पनी यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफले भने मर्जरमा जाने स्वीकृतिका लागि समितिमा आवेदन दिएका छन् ।

पाटर्नरको खोजीमा

यति बेला कम्पनीहरूले विशेष साधारण सभा र वार्षिक साधारण सभाको मुख्य एजेण्डामा मर्जरलाई राखेका छन् । प्रभु इन्स्योरेन्स, प्रभु लाइफ, लुम्बिनी जनरल, रिलायन्स, सानिमा लाइफ इन्स्योरेन्सले साधारण सभाको मुख्य एजेण्डामा मर्जरलाई प्राथमिकतामा राखेका हुन् ।

प्रभु इन्स्योरेन्स, प्रभु लाइफ, रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्सले मर्जरको एजेण्डा राख्दै विशेष साधारण सभा बोलाएका हुन् । सानिमा जनरलको भने आज विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त साधारण सभाले मर्जरसम्बन्धी आवश्यक प्रक्रियाको अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।

सानिमा जनरल र लुम्बिनी जनरलले भने वार्षिक साधारण सभामा मर्जरलाई विशेष प्रस्तावमा राखेका छन् । मर्जरको प्रस्तावसहित प्रभु इन्स्योरेन्स कम्पनीले असार २८ गतेका लागि विशेष साधारण सभा बोलाएको हो ।

उक्त सभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय तथा मर्जर तथा प्राप्तीसम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन हुनेछ ।

पुँजी वृद्धि र मर्जरसम्बन्धी विशेष प्रस्तावसहित प्रभु लाइफ इन्स्योरेन्सले असार २३ गते विशेष साधारण सभा बोलाएको छ । नियामकले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, पुँजी वृद्धि एंव अन्य व्यवस्थाहरू समेत समावेश गरी प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव अनुमोदन हुनेछ ।

अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने लगायतका मर्जर सम्बन्धी अन्य कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित भएकाे छ । पुँजी वृद्धिका लागि अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्त गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान गर्ने र मर्जरसम्बन्धी अन्य प्रस्ताव उक्त सभाले अनुमोदन गरेकाे छ ।

सानिमा लाइफ इन्स्योरेन्सले लाभांश र मर्जरको प्रस्ताव पारित गर्न असार २० गते सम्पन्न चौथो साधारण सभाले  कम्पनीको अधिकृत पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने तथा मर्जरको प्रस्ताव समेत अनुमोदन गरेकाे छ ।

पुँजी वृद्धिका लागि अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि उपयुक्त कम्पनीको छनौट गर्ने तथा मर्जरसम्बन्धी अन्य निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिइएकाे छ ।

यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असार २९ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले अन्य कुनै कम्पनीलाई प्राप्ति गर्न वा एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि सम्पूर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।