Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

पुनर्बीमा के हो ? किन र कसरी गरिन्छ ?

२०७३ आश्विन ८ गते

reinsuranceपुनर्बीमा भन्नाले जीवन र निर्जीवन बीमा कम्पनीहरुको बीमाको पनि बीमा गर्ने व्यवसाय हो अर्थात् बीमा कम्पनीहरुले आफूले रक्षावरण गरेको बीमाको सम्पूर्ण जोखिम आफैंले बहन गर्न नसक्ने भएकोले त्यसलाई वा जोखिमलाई न्यूनीकरण गर्न जोखिमको हस्तान्तरण एक कम्पनीबाट अर्को कम्पनीमा गर्दछन् जसलाई पुनर्बीमा भनिन्छ । 

कसरी गरिन्छ पुनर्बीमा ?
सामान्यतया पुनर्बीमा कम्पनीहरुले सोझै ग्राहकबाट बीमा स्वीकार नगरी बीमा कम्पनीहरुबाट बीमा स्वीकार गर्दछन् । यस्तो बीमा संसारभरि सञ्जालको रुपमा फैलिएर रहेको हुन्छ, यसरी एक बीमा कम्पनीबाट अर्को पुनर्बीमा कम्पनीमा सोझै कम्पनी–कम्पनी एक आपसमा पुनर्बीमा गर्न पनि सक्दछन् भने दुवै कम्पनीहरुको बीचमा ब्रोकरको सहयोगबाट पनि पुनर्बीमा गर्न सक्दछन् । सामान्यतयाः बीमा कम्पनीहरुले पुनर्बीमा कम्पनीहरुसँग बीमा गर्दा मध्यस्थकर्ता दलालको सहयोगमा बीमा गर्दा बढी सुरक्षित हुने गर्दछ । 

बीमा ऐनमा पुनर्बीमा
नेपालमा बीमा ऐन २०४९ अनुसार हरेक बीमा कम्पनीहरुले आफ्नो पुँजी संरचनाको अधिकतम पाँच प्रतिशतसम्म मात्र रक्षावरण आफूले राखी बाँकी बीमांकको पुनर्बीमा गर्नुपर्ने हुन्छ । पुनर्बीमा कम्पनीहरुले बीमा कम्पनीहरुलाई ऐतिहासिक बीमा प्रिमियम र दाबीहरुको आँकडाहरुको आधारमा सुविधाहरु उपलब्ध गराउँदछन् भने बीमा कम्पनीहरुले ग्राहकले तिरेको प्रिमियम जति बीमांकको रक्षावरण आफूले गरेको छ सोही अनुपातमा आफू राख्दछ र बाँकी जुन–जुन पुनर्बीमालाई जोखिम हस्तान्तरण गर्दछ । सोही अनुपातमा प्रिमियम पनि तिर्नुपर्ने हुन्छ । सोझै वा ब्रोकरको सहयोगको आधारमा हरेक आर्थिक वर्ष सुरुु हुनुभन्दा अगाडि बीमा कम्पनीहरु र पुनर्बीमक कम्पनीहरुको पुनर्बीमा सम्झौता गर्ने गर्दछन् । यसमा विभिन्न सेवा, शर्तहरु र सीमाहरु उल्लेख हुन्छन् । सोभन्दा बढी रकमको बीमा गर्नुपरेमा हरेक बीमांकको लागि छुट्टाछुट्टै सम्झौता पनि गर्नुपर्दछ । 

नेपाल पुनर्बीमा कम्पनी
नेपालमा छुट्टै पुनर्बीमा कम्पनीको सुरुवात भने ०७१ साल पुस ७ गतेदेखि नेपाल पुनर्बीमा कम्पनीको नामबाट भयो । सरकार र बीमा कम्पनीहरुको संयुक्त लगानीमा उक्त कम्पनीको स्थापना गरिएको हो । २०६० सालमा स्थापना भएको आकष्मिक बीमा कोषलाई पुनर्बीमा कम्पनीमा परिणत गरिएको हो । जसमा सरकारको ४३ प्रतिशत र बीमा कम्पनीहरुको ५७ प्रतिशत सेयर लगानी छ । कम्पनीमा जीबन बीमा कम्पनीको १८ प्रतिशत र निर्जीबन बीमा कम्पनीहरुको सेयर हिस्सा ३९ प्रतिशत रहेको छ ।