Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

के के भयो यो साता बैंकिङ क्षेत्रमा ? हेर्नुहोस्, टप बैंकिङ खबरहरु

२०७९ असार १७ गते

बैंकिङ खबर/ नेपालमा यो साता पनि बैंक वित्त क्षेत्रमा विभिन्न गतिविधिहरु भएका छन् । समग्रमा, साताको सुरुवातदेखि बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु तल प्रस्तुत गरिएको छ ।

 मौद्रिक नीतिको तीव्र तयारी

नेपाल राष्ट्र बैंक यतिबेला आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तीव्र तयारीमा छ । चालु आर्थिक वर्ष सकिन केहि दिन बाँकी रहँदा राष्ट्र बैंक मौद्रिक नीतिको तीव्र तयारीमा जुटेको हो । यतिबेला राष्ट्र बैंकका अनुसन्धान विभागका कर्मचारी आर्थिक वर्षको जेठ महिनाको मुलुकको आर्थिक अवस्थाको तथ्यांक जोड घटाउमा व्यस्त छन् ।

यसैबीच राष्ट्र बैंकले साउनको पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैक पोखराले आयोजना गरेकोे बैंकनोट शेरडिङ्ग एण्ड ब्रिकेटिङ्ग सिस्टम बारे अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्ष २०७९/०८० को मौद्रिक नीति साउनको पहिलो साता ल्याउने गरी तयारी भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मौद्रिक नीति साउनको पहिलो हप्ताभित्रमा सार्वजनिक गर्ने तयारीमा हामी लागेका छौँ, जुन विगतमा भन्दा केही छिटो पनि हो, पहिलो हप्ता भन्दा पछि नपुर्याउने प्रयासमा हामी छौँ ।’

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि राष्ट्र बैंकले सुझाव मागिरहेको छ ।

बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने राष्ट्र बैंकलाई चुनौती छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको अधिकांश सूचकहरु खस्किएको अवस्था छ । निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चिति, बढ्न नसकेको रेमिट्यान्स आप्रवाहलगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ । यस्तो अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमा राख्नुपर्ने कडा चुनौती समेत राष्ट्र बैंकलाई छ ।

मौद्रिक नीतिको खाका कोर्नका लागि गभर्नर अधिकारीले आफ्नै प्रमुख संलग्नता हुने गरी मौद्रिक नीतिको तयारी गर्नुभएको थियो । जेठ १७ गतेदेखि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सम्बन्धी सुझावहरु लिन थालेको छ । आएका सुझावहरुलाई समेत राष्ट्र बैंकले केलाउने र सरोकारवालाहरुसँग छलफल गरिसकेको छ ।

विगतका वर्षहरुमा पनि मौद्रिक नीति साउनको पहिलो हप्ता भित्र सार्वजनिक गरिएको थियो । गत वर्ष भने गभर्नर अधिकारीले साउन २९ गते मौद्रिक नीति ल्याउनुभएको थियो । त्यसभन्दा अघि आव २०७७/७८ को मौद्रिक नीति साउन २ गते ल्याइएको थियो । त्यसअघि चिरञ्जीवि नेपालको गभर्नर हुँदा पनि साउन २ गते नै मौद्रिक नीति ल्याइएको थियो ।

पुनर्बीमा सम्बन्धी नयाँ निर्देशन जारी

 बीमा समितिले बीमा कम्पनीहरुलाई आफ्नो सत प्रतिशत जोखिम स्वदेशी पुनर्बीमा कम्पनीमै गर्न चाहेमा पाउने व्यवस्था गरिदिएको छ । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै ‘बीमकले पुनर्बीमकलाई प्रदान गरेको प्रत्यक्ष हिस्सा पश्चात बाँकी रहेको हिस्साको शतप्रतिशतसम्म पुनर्बीमा नेपाली पुनर्बीमकलाई दिन सक्नेछ ।’

समितिले पुनर्बीमकलाई बीमकबाट प्राप्त नेपाल सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा पुनर्बीमकले कुनै पनि अवस्थामा अस्वीकार गर्न नपाउने व्यवस्था गरिदिएको छ । अव पुनर्बीमा कम्पनीहरुले जीवन बीमा कम्पनीको जुनसुकै जोखिमको २० प्रतिशत आफैले बहन गर्नु पर्ने भएको छ ।

बैंकवित्तको निक्षेप ५० खर्ब पुग्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५० खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेपले बुधबार नयाँ रेकर्ड राख्दै ५० खर्ब कटेको हो । राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ५० खर्ब ४ अर्बको निक्षेपको आकार छ । यस्तै कर्जा ४७ खर्ब ९ अर्ब रहेको छ । गतवर्ष असार मसान्तमा ४७ खर्ब ४० अर्ब निक्षेप बैंक तथा वित्तीय संस्थासँग थियो ।

बैंकिङ प्रणालीमा रहेको निक्षेपमा वाणिज्य बैंकमा ४४ खर्ब १८ अर्ब तथा विकास बैंक र फाइनान्स कम्पनीसँग ५ खर्ब ८७ अर्ब छ । बैंकमा निक्षेप बढ्दै गएपछि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.०६ प्रतिशतमा आएको राष्ट्र बैंकले जनाएको छ ।

नबिल र एनबी बैंकबीचको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। बुधबार बिहान राष्ट्र बैंकको सञ्चालक समितिले नबिल र एनबी बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो।

गभर्नर महाप्रसाद अधिकारी स्विटजरल्यान्डको कार्यक्रम सकेर मंगलबार फर्किएपछि बुधबार बिहान बसेको सञ्चालक समितिको बैठक बसेको थियो। राष्ट्र बैंकको अन्तिम स्वीकृतिसँगै नबिलले अब कम्पनी रजिस्ट्रारको कार्यालयसँग स्वीकृत लिएर एकिकृत कारोबार गर्ने मिति तय गर्नेछ।

छिमेक लघुवित्तले पायो अन्तर्राष्ट्रिय स्तरको ‘स्मार्ट क्याम्पियन सर्टिफिकेट’

 छिमेक लघुवित्तले अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट प्राप्त गरेको छ । अमेरिकाको वासिंटन डीसीमा अवस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षण सम्बन्धी ७ सिद्धान्त र १९२ मानकहरुलाई पूर्ण रुपमा पालना गरेको कारण छिमेक लघुवित्तलाई स्मार्ट क्याम्पियन सर्टिफिकेट दिइएको हो ।

स्मार्ट क्याम्पियन सर्टिफिकेट अन्तराष्ट्रिय स्तरको मापदण्ड पूरा गरेका विश्वका उत्कृष्ट वित्तीय संस्थाहरुलाई दिने गरिन्छ । स्मार्ट क्याम्पियन सर्टिफिकेट प्रमाणपत्र प्राप्त गर्न ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा, ग्राहकलाई अधिक ऋणग्रस्त हुनबाट जोगाउने, संस्थाको प्रत्येक क्रियाकलापमा पारदर्शिता, सेवाको मुल्य निर्धारण गर्दा जिम्मेवार बन्ने, ग्राहकप्रति मर्यादित सम्मानजनक व्यवहार गर्ने, ग्राहकको तथ्याङ्क तथा सुचनाहरु गोप्य राख्ने र ग्राहकको गुनासो सुनुवाई संयन्त्र चुस्त र दुरुस्त बनाउने जस्ता सात सिद्धान्त अवलम्बन गर्नुपर्ने हुन्छ ।

सात सिद्धान्त अवलम्बन गरेको कारण प्रमाण पत्र पाएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले बताउनुभयो ।अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सर्टिफिकेसन पाएसँगै लघुवित्तले थप उर्जा पाप्त गरेको शर्माले बताउनुभयो । उहाँले थन्नुभयो ‘आगामी दिनमा अझ ग्राहक र सदस्यप्रतिको जिम्मेवारीलाई सर्वोपरि ठान्ने हौसला मिलेको महसुस भएको छ ।’

नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाद्वारा पदभार ग्रहण

 नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हाल्नु भएको छ । नबिल बैंक लिमिटेडकोे मिति २०७९/०३/१६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गानालाई नियुक्त गरेको थियो ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगाल्नु भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गर्नुभएको थियो । यसबाहेक उहाँले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धकतथा नेपाल राष्ट्र बैंकको निर्देशकपदमा समेत रहीकार्य गर्नुभएको थियो ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथावित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गर्नुभएका ढुङ्गाना सन् २०१३ मा नेपालव्यवस्थापन संघ (Management Association Nepal)द्वारा Manager To Watch  र सन् २०१५ मा Manager of the Year विधामा पुरस्कृत हुनुभएको थियो । कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन हुनुभएको थियो । उहाँको कुशलर सक्षम नेतृत्वमाआगामीदिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।

नेप्सेले हटायो एओएन सम्बन्धी व्यवस्था

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अल अर नट (एओएन) सम्बन्धी व्यवस्था हटाएको छ । नेप्सेले धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्बन्धी व्यवस्था असार १९ गतेदेखि लागू हुनेगरी हटाएको हो ।

एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र बोर्डको पत्र संख्या ०७८/७९, च.न. १५८७ को निर्देशन अनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्वन्धी व्यवास्था हटाएको जनाएको छ ।

Ad