मुद्रास्फीतिबारे महत्वपूर्ण जानकारी (हेर्नुस् विस्तृतमा)


Bankingkhabar /June 22, 2022

बैंकिङ खबर/  सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा वृद्धि भएको र यस्तो वृद्धि निरन्तर भएको अवस्था मुद्रास्फीति हो । यसको मतलब, केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।

बजारमा मुद्राको परिमाणमा वृद्धि भएपछि सँगसँगै वस्तु तथा सेवाको उत्पादन वा आकृति बढेन भने मुद्राको क्रयशक्ति कम हुन्छ र यही अवस्थालाई मुद्रास्फीति भनिन्छ । अर्को शब्दमा, वस्तुको मूल्य बढ्नु र पैसाको मूल्य (क्रयशक्ति) घट्नु नै मुद्रास्फीति हो । यस्तो अवस्थामा वस्तु महँगो पर्ने भएकाले थोरै सामानका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने अवस्था सृजना हुन्छ । सामान्यतयाः मुद्राको परिमाणमा वृद्धिले मात्र मुद्रास्फीतिको अवस्था नआउन सक्छ । यसको अर्थ मुद्राको परिमाणमा वृद्धिबाहेक अन्य विभिन्न कारणले पनि मुद्रास्फीति हुन सक्छ । जुन अनुपातमा मूल्यस्तर वृद्धि हुन्छ सोही वा सोभन्दा धेरै अनुपातमा उत्पादनमा वृद्धि हुन्छ भने त्यस्तो अवस्थामा मुद्रास्फीति नहुन सक्छ । मुद्रास्फीतिको अवस्था त्यतिबेला मात्र सृजना हुन्छ, जतिबेला उत्पादनको तुलनामा मौद्रिक आम्दानी (प्रवाह) वृद्धिदर बढी हुन्छ ।

मुद्रास्फीतिका कारण
माग प्रेरित मुद्रास्फीति (मौद्रिक आम्दानीमा वृद्धि)
मौद्रिक आम्दानीमा वृद्धि हुँदा वस्तु तथा सेवाको माग बढ्न जान्छ । तर, सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ । माग बढेका कारण यस्तो भएकाले त्यसलाई माग प्रेरित मुद्रास्फीति भनिन्छ । सामान्य अवस्थामा निम्न कारणले यो अवस्था सृजना हुन्छ ।
क)    केन्द्रीय बैङ्कले जारी गरेको प्रारम्भिक मुद्रा तथा बैङ्कहरूले सृजना गरेको शाख मुद्राको आपूर्तिमा वृद्धि ।
ख)    घाटाको सरकारी वित्त व्यवस्था
ग)    जनसङ्ख्या वृद्धि
घ)    कर कटौती
ङ)    वैदेशिक ऋण, लगानी, सहायता र विषेषण आयमा उच्च वृद्धि (यसबाट माथि ‘क’मा दिएको अवस्था सृजना हुन्छ)

लागत वृद्धि मुद्रास्फीति(उत्पादन लागतमा वृद्धि)  
उत्पादन लागत बढेका कारण वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । मूल्य बढेका कारण माग केही घटेपछि माग र आपूर्तिबीचमा असन्तुलनका कारण मूल्यवृद्धि सृजना भएमा त्यसलाई लागत वृद्धि मुद्रास्फीति भनिन्छ । सामान्यतया निम्न कारणले यो अवस्था सृजना हुन्छ स्
क) पूँजी लागतमा वृद्धि
ख) कच्चापदार्थको मूल्यमा वृद्धि
ग) ब्याजदरमा वृद्धि
घ) प्राकृतिक प्रकोप आदि

मुद्रास्फीतिका चरण
मुद्रास्फीतिलाई सामान्यतया चार चरणमा विभाजन गर्ने गरिन्छ :
क)  क्रिपिङ इन्फ्लेशन (मन्द मुद्रास्फीति) : वार्षिक मूल्यवृद्धि दर ३ प्रतिशतभन्दा कम भएको अवस्थालाई क्रिपिङ इन्फ्लेशन भनिन्छ । आर्थिक वृद्धिका लागि यत्तिको इन्फ्लेशन आवश्यक मानिन्छ । यत्तिको मुद्रास्फीति उत्पादकहरूलाई उत्पादन कार्य चलाइरहन प्रेरक हुन्छ ।

ख)  वाकिङ इन्फ्लेशन (बढ्दो मुद्रास्फीति) : न्यूनतम ३ प्रतिशतदेखि ७ प्रतिशतसम्म मूल्यवृद्धि भएको अवस्थालाई वाकिङ इन्फ्लेशन भनिन्छ । केही अर्थशास्त्रीहरूले ९ प्रतिशतसम्मको मूल्यवृद्धिलाई पनि यसै चरणभित्र समावेश गर्छन् । यो पनि त्यत्ति आत्तिइहाल्नुपर्ने अवस्था होइन । यसले पनि उत्पादकहरूलाई प्रेरणा दिने भूमिका खेल्छ ।  

ग)  रनिङ इन्फ्लेशन (दौडँदो मुद्रास्फीति) : सामान्यतयाः १० प्रतिशतदेखि २० प्रतिशतसम्मको मूल्यवृद्धिलाई रनिङ इन्फ्लेशन भनिन्छ । यस्तो प्रकारको इन्फ्लेशन आर्थिक विकासका लागि खतरनाक मानिन्छ । यस्तो अवस्थामा कामदारहरूले ज्याला बढाउन निकै कडा दबाब दिन्छन् । र, उत्पादन लागत व्यवस्थापन गर्न गाह्रो हुन्छ । यो अवस्था नियन्त्रणका लागि बलियो मौद्रिक र वित्तीय नीति आवश्यक पर्छ ।

घ)  हाइपररग्यालोपिङ इन्फ्लेशन (अनियन्त्रित मुद्रास्फीति) : यो मूल्यवृद्धिको सबैभन्दा उच्चतम अवस्था हो । २० प्रतिशतभन्दा धेरैले मूल्य बढेको अवस्थालाई हाईपररग्यालोपिङ इन्फ्लेशन भनिन्छ । यो अवस्था अर्थतन्त्रका लागि निकै डरलाग्दो हुन्छ । यो अवस्थालाई सामान्यतया खतरनाक र सामान्य मौद्रिक तथा वित्तीय नीतिबाट नियन्त्रण हुन नसक्ने अवस्था पनि मानिन्छ । यसलाई नियन्त्रण गर्न समग्र अर्थतन्त्रकै व्यापक पुनःसंरचना गर्नुपर्छ । यस्तो अवस्थामा केही देशले पुरानो मुद्रालाई नै परित्याग गरेर नयाँ मुद्रा जारी गर्नेसम्म गरेका छन् ।

लगानीकर्तामा मुद्रास्फीतिको प्रभाव

  • मुद्रास्फीति उच्च भएमा उपभोक्ताको क्रयक्षमतामा कमी आउने भएकाले सीमित आय भएका लगानीकर्ताले ठूलो जोखिम लिन चाहँदैनन् । त्यस्तै धेरै आम्दानी भएका लगानीकर्ताले पनि मुद्रास्फीतिको अवस्थामा लगानी गर्न उत्साहित हुँदैनन् ।
  • मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्य कम हुँदै जाने भएकाले बचत गरेको मुद्राको मूल्यमा ह्रास आउँछ । यसले मानिसहरू बचत गर्न प्रोेत्साहित नहुन सक्छन् ।
  • सामान्यतया मुद्रास्फीति उच्च हुँदा ब्याजदर पनि उच्च हुन्छ र कम हुँदा ब्याजदर पनि कम हुन्छ । तसर्थ, मुद्रास्फीतिको अवस्थामा लगानीकर्ता अपुग लगानीका स्रोत खोज्न वा नयाँ लगानी गर्न उत्साहित हुँदैनन् ।
  • मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्यमा ह्रास आउँछ । त्यसैले, लगानीकर्ताले सानो पोर्टफोलियो निर्माणका लागि पनि ठूलो धनराशि खर्च गर्नुपर्छ ।
Spread the love

सोसिअल मेडिया