June 22nd, 2022

इच्छाराजलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिने अडियो सार्वजनिक

बैंकिङ खबर/ सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिन लागिएको अडियो सार्वजनिक भएको छ ।

न्यूज २४ टेलिभिजनमार्फत सार्वजनिक भएको अडियोमा अधिवत्ता रुद्रप्रसाद पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायधीश राजकुमार कोइरालासँग १० करोड धरौटीमा छाड्न भनेको र २ करोड दिने उल्लेख छ ।

पोखरेल नेपाल बार एशोसियनका निवर्तमान कोषाध्यक्ष हुन् । उनी बारमा एमालेको निकट कानुन व्यवसायीको तर्फबाट उम्मेदवार थिए । तामाङको पक्षमा कानुन व्यवसायीको रुपमा पोखरेलले मुद्दा लडेका छन् ।

तामाङलाई सहकारीकर्ताको १० अर्बभन्दा बढी निक्षेप नदिएको आरोप छ । अडियोमा १० करोड रुपैयाँ धरौटी लिएर तामाङलाई रिहा गर्ने योजना बनाइएको थियो । वकिल पोख्रेल र न्यायाधीश राजकुमार कोइरालाबिच भएको गोप्य संवादमा १० करोड धरौटी मागेर तामाङलाई रिहा गर्ने र यो काम गरेबापत २ करोड लिने डिल अडियो रेकर्डमा सुनिन्छ ।

सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गएको वर्षको असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । तामाङ, उनकी पत्नी र छोरीसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

त्यही मुद्दामा तामाङलाई धरौटीमा छाड्न गरिएको डिलमा सहमति जनाएका न्यायाधीश कोइरालाले २०७८ को पुस १४ मा भने तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउने र अन्यलाई धरौटीमा छाड्ने आदेश दिएका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]