Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

रेमिट्यान्समा आइएमईको वर्चस्वः वार्षिक एक खर्ब बढी भित्र्याउँदैछ विप्रेषण

२०७९ असार १३ गते

बैंकिङ खबर/ नेपालको अर्थतन्त्र लामो समयदेखि रेमिट्यान्सले नै धानेको छ । विश्वका करिब झण्डै दुई सय मुलुकमा नेपालबाट दक्ष, अर्धदक्ष र न्यून दक्ष (अदक्ष) जनशक्ति वैदेशिक रोजगारीका लागि विदेश गएको विभिन्न तथ्यांकहरुले देखाउँछ ।

हाल विभिन्न देशमा करिब ७० देखि ७५ लाख नेपाली नागरिक रोजगारी, अध्ययन र व्यवसायका लागि बसोबास गर्दै आएको अनुमान छ ।
उनीहरुले विदेशबाट उनीहरूको श्रम र पसिनाले कमाएको रकम विप्रेषणका रूपमा नेपाल भित्रिने गरेको छ । यी जनशक्तिमध्ये धेरैजसो विपन्न परिवारबाट र ग्रामीण भेगबाट जाने गरेको देखिन्छ ।

रोजगारीको अतिरिक्त उच्च अध्ययनका लागि युरोपका मुलुकहरूलगायत अमेरिका, अस्ट्रेलिया, क्यानडा, सिंगापुर र दक्षिण एसियाली देश भारत, थाइल्यान्ड, फिलिपिन्स, जापान, बंगलादेश आदिजस्ता मुलुकमा विद्यार्थीका रूपमा गएका छन् । विद्यार्थीका रूपमा गए पनि उनीहरूले आंशिक रूपमा काम गरी उनीहरूको खर्च जोहो गर्नुका साथै केही न केही रकम घर परिवारमा पठाउने गरेको पाइन्छ । वैदेशिक रोजगारीमा जाने विपन्न तथा ग्रामीण भेगका युवा जनशक्ति मलेसियालगायत खाडी क्षेत्रका मुलुक साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन र ओमानमा रहेका छन् ।

उनीहरुले विदेशबाट पैसा पठाउने एकमात्र भरपर्दो माध्यम बनेको आइएमई । आज रेमिट्यान्स कम्पनीहरुको बीचमा एक छुट्टै पहिचान बनाउन सफल भएको छ आइएमई । एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक रु एक खर्बभन्दा बढीको विप्रेषण भित्र्याउन सफल भएको छ । आइएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिकरुपमा रु एक खर्ब वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याएको छ ।

पछिल्ला दिनमा विप्रेषण भित्रनेक्रम पनि उत्तिकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा मात्रै कूल रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी सयौं आइएमई सेन्टरसहित देशभर ७७ जिल्लाका हजारौं सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् कम्पनीले विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा वितरण गर्दै आइरहेको छ । छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट रकम पठाउन आइएमई रेमिट लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।

जीवनशैलीको अभिन्न अंग बन्याे आइएमई

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा जुन १२ का दिन स्थापना भएको हो । सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको शुुरुवात गरेको आइएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिटेन्सकोे माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ ।

अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवामा नेपाली लगानी र ब्राण्डका लागि आइएमईले आफ्नो एउटा अलग र विशिष्ट पहिचान बनाएको छ ।
तत्कालिन समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुखले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पु¥याउनका लागि औपचारिक माध्यमको ठुलो अभाव थियो ।

औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो । त्यस्तो चुनौतीलाई चिरेर स्थापना भएको आइएमई २२ वर्षमा प्रवेश गरेको छ ।

व्यवसायमा स्थायित्व, करमार्फत राज्यलाई सहयोग र मुलुकभित्रै रोजगारीका अवसरहरूको सिर्जना लगायतका उद्देश्य लिएर आजभन्दा २२ वर्ष अघि आजकै दिनमा स्थापना भएको आइएमई रेमिटेन्स सेवाको पर्यावाची आइएमई गरौं भन्ने भनाइसहित आम नेपालीको जिब्रोमा झुण्डिएको छ ।

आम नागरिकको जीवनशैलीको अभिन्न अंगको रुपमा आज आइएमई स्थापित भएको छ । नेपालको पहिलो रेमिटेन्स सेवा प्रदायकको रूपमा स्थापित कम्पनी २२ वर्षको अवधिमा बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनका क्षेत्रहरूमा समेत आफ्नो लगानी विस्तार गर्दै स्वउद्यमशीलताको विकासमा अग्रडी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

राज्यलाई सबैभन्दा बढी करमा योगदान गरे वापत लगातार तीन पटकसम्म नेपाल सरकारबाट सीआइपी सम्मान प्राप्त यस कम्पनी स्वदेशी एवम् विदेशी गरी दर्जनौं संघ÷संस्थाबाट सम्मानित भइसकेको छ ।

प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजारौँको संख्यामा रोजगारी सिर्जनामा सफल आइएमईलाई आम नेपालीहरूले एउटा भरपर्दो र विश्वसनीय ब्राण्डको रूपमा हेर्दै आएका छन् ।

आइएमईको स्थापनापछि औपचारिक संजालमार्फत आप्रवाह हुने रेमिटेन्सको मात्रा ह्यवत्तै बढेको देखिन्छ । रेमिटेन्सले देशको खास खास अप्ठ्यारा अवस्था जस्तै, भुकम्प नाकाबन्दी जस्ता समयमा महत्त्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

रेमिटेन्स आयातको मुख्य श्रोत हुनुका साथै विदेशी मुद्राको संचितिको मुख्य श्रोत पनि हो । आइएमईले समय सापेक्ष र अत्याधुनिक प्रविधिको माध्यमबाट डिजिटल सेवा प्रदान गर्न आइएमई पे मोवाइल वलेटको संचालन गरिरहेको आइएमई पे वालेटमा हाल ३० लाख भन्दा

धेरै प्रयोगकर्ताहरुले रियल टाइम डिजिटल भुक्तानी तथा रेमिटेन्स सेवाको लाभ लिई रहेका छन् ।
देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका खेल्ने रेमिटेन्स आप्रवाहलाई औपचारिक माध्यममा ल्याउन आजको यस विशेष अवसरमा नेपाल सरकारका हरेक प्रयासहरुमा आइएमई एक अग्रणी रेमिटेन्स सेवा प्रदायक संस्थाको रुपमा सदैव सँगसँगै रहने समेत संस्थाले प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रत्येक नेपालीको पहुँचमा आइएमइ

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिवद्व यस कम्पनीले सेवा शुभारम्भको २२ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३० आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु:ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

विद्युतीय भुक्तानीमा पनि अब्बल

‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो । पन्ध्र लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘आइएमई पे’ डाउनलोड गरी आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार संजाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ ।

औपचारिकरुपमा विप्रेषण भित्र्याउन पहल

आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल भन्नुहुन्छ, ‘रेमिटेन्सलाई यसलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, रोजगारीको विकास र विस्तारका लागि प्रयोग गर्नुपर्छ ।’ अध्यक्ष ढकाल आइएमईले प्रत्यक्षरुपमा ४० हजारलाई रोजगारी दिन सफल भएको बताउनुहुन्छ । आफूहरुले संस्था सुरु गर्ने बेला विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले गरेको नीतिगत प्रावधानले सहज भएको उहाँको भनाइ छ ।

अनौपचारिकरुपमा भित्रिँदै आएको विप्रेषण सुरुआती चरणमा आफूहरुकै पहलमार्फत औपचारिकरुपमा आउन थालेको तथ्य पेश गर्दै उहाँले सरकारले लिने सही नीतिले मुलुकको समृद्धि तथा आर्थिक विकासमा महत्वपूर्ण प्रभाव पर्ने बताउनुहुन्छ । अध्यक्ष ढकालले आर्थिक विकासका लागि सरकारसँग मिलेर आफूहरु काम गरिरहेको उल्लेख गर्नुभयो ।

विप्रेषणलाई व्यवस्थित बनाउन आइएमईको महत्वपूर्ण भूमिका

अर्थमन्त्री जनार्दन शर्मा विप्रेषण वैधानिक प्रणालीमार्फत भित्र्याउन सरकार लागिपरेको बताउनुहुन्छ । उहाँले अवैधानिक गतिविधिलाई नियन्त्रण गर्न आइएमई जस्ता संस्थाले विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ । मुलुुकको अर्थतन्त्रको ठूलो हिस्सा समेटेको विप्रेषणलाई व्यवस्थित बनाउन आइएमईले महत्वपूर्ण योेगदान दिएको अर्थमन्त्री शर्माको भनाइ छ ।

उहाँ भन्नहुन्छ, ‘हुन्डी कारोबारलाई हतोत्साही बनाउँदै यस्ता संस्थाले विदेशमा श्रम बेचेर कमाएको पैसा स्वदेशमा पठाउन महत्वपूर्ण भूमिका खेलेको छ, आइएमई जस्ता संस्था अझ सशक्त हुनुपर्छ ।’

अझै पनि विदेशबाट अनौपचारिक माध्यमबाट पैसा आइरहेकोे अवस्थामा त्यसको रोकथाममा यस्ता संस्थाले आफ्ना सेवा विस्तारका साथै प्रविधिको उच्चतम् प्रयोग गरी औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन पहल गर्नुपर्नेमा मन्त्री शर्माको भनाइ छ ।

अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताउनुहुन्छ । ‘विप्रेषणले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ, यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मद्दत मिलेको छ’, उहाँले भन्नुहुन्छ, ‘विदेशमा रहेका नेपालीको कमाई सुरक्षित रुपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनी बनिरहेका छन् ।’

ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उहाँ बताउनुहुन्छ । आर्थिक वर्ष ०७९/८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको उहाँ बताउहुनुहन्छ । ‘बजेटले रेमिट्यान्सबाट आएको पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन, अहिले सामान्य प्रणालीमा आइरहेको वैदेशिक मुद्रालाई एक कदम अघि बढेर विशेषरुपमा विदेशी मुद्रा भित्र्याउने भनिएको छ’, उहाँ भन्नुहुन्छ, ‘यो भनेको हामीसँग भएको स्रोत, साधनको उत्पादन वृद्धि र प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने र विदेशी मुद्राको आर्जन गर्ने भन्ने हो ।’

श्रम बेचेर पैसा कमाइरहेको परिस्थितिलाई परिवर्तन गर्ने गरी आगामी आबको बजेटले उत्पादन बेचेर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको उहाँ बताउनुहुन्छ । उहाँ मुलुकको अर्थतन्त्रमा हाल देखिएको तरलता व्यवस्थापनको समस्या समाधान गर्न आगामी मौद्रिक नीतिले नीतिगत सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

Ad