‘कर्जा दुरुपयोग गर्नेहरु नै लघुवित्तको विरुद्वमा लागि परेका छन्’


Bankingkhabar /June 12, 2022

प्रेम बहादुर पाठक
सिईओ, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था

लघुवित्त वित्तीय संस्थाहरुलाई गरिबीको सारथीको रुपमा लिने गरिन्छ । देशमा रोजगारी सिर्जना गर्न देखि ग्रामीण क्षेत्रमा रहेका विपन्न परिवारको आर्थिक र सामाजिक विकासमा यसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अझ महिलाहरुको सशक्तिकरण र नेतृत्व क्षमता वृद्धिमा पनि यसले अहम् भूमिका निर्वाह गर्दै आएको छ । तरपनि लघुवित्तहरुमाथि विभिन्न आरोप, आक्षेपहरु पनि आउने गरेको छ ।

यसैबीच हामीले लघुवित्तको क्षेत्रमा विगत २५ वर्षदेखि काम गर्दै आउनुभएका उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका सिईओ प्रेम बहादुर पाठकसँग लघुवित्तको पछिल्लो अवस्थाका बारेमा केन्द्रित रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ सिईसो पाठकसँग बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंश ।

नेपालमा समग्र लघुवित्तको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

अहिले लघुवित्तहरु कठिन परिस्थितिमा छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले गर्दा विश्व अर्थतन्त्रमा नै ठूलो प्रभाव पर्याे । त्यसको असर नेपालको लघुवित्तहरु पनि देखा पर्यो ।  अझै पनि काेराेनाकाे असर पूर्ण रुपमा जान सकेको छैन । अहिले पुनः रुस–युक्रेनको युद्धका कारण लुघवित्तमा समस्या देखिएको छ ।

नेपालको वित्तीय क्षेत्रमा विगत देखि नै तरलताको अभाव छ । तरलता अभावका असर लघुवित्तमा पनि छ । अन्तर्राष्ट्रिय स्तरमा देखिएका समस्याहरुले मात्र होइन, नेपालका लघुवित्तहरु अन्तरिक चपेटामा पनि पर्दै आएका छन् । जस्तो, उदाहरणका लागि लघुवित्तको बारेमा अफहवा फैलाउने, भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने, शेयर गर्ने, अवाञ्क्षित गतिविधि गर्ने प्रवृत्तिहरु पनि पछिल्लो समय देखा परेका छन् ।

केही व्यक्तिहरु लघुवित्तका विरुद्वमा संगठन नै बनाएर लागेका छन् । त्यस्ता व्यक्ति र त्यस्ता कार्यलाई राज्य तथा राज्य शक्तिका संयन्त्रले कानूनी दायरामा ल्याउनुपर्छ । यसरी अफहवा फैलाउनेमा कर्जालाई गलत ठाउँमा प्रयोग गर्नेहरु र संस्था भन्दा बाहिरका व्यक्तिहरु नै लागि परेका छन् । यस्तो गलत कार्यको लागि हामी कानुनी बाटो खोजिरहेका छौं ।

अहिले लघुवित्त क्षेत्रमा टेक्नोलोजीको अवस्था के छ ? कस्ता टेक्नोलोजीहरु प्रयोग भइ रहेका छन् ?

बैंकिङ सिस्टममा ‘सिभीएस’ भन्ने हुन्छ । हिजोका दिनमा हामीले हाइटेकहरु प्रयोग गर्न सकिरहेका थिएनौं । अब विस्तारै प्रविधिमैत्री बन्नुपर्ने बाध्यता छ । त्यसैलाई सिरोपर गर्दै विद्युतीय हाजिरी, सिसिटिभी लगायतका प्रविधिहरु प्रयोगमा आउनका थालेका छन् ।

लघुवित्तमा एटिएमको चर्चा चलेकै छ, तर अहिले नै कार्यान्वयनमा गई हाल्न सक्ने अवस्था भने छैन । हाम्रा सञ्जालहरु पनि त्यो ढङ्गबाट विकास भइसकेका छैनन् । पूर्वाधारहरु पनि त्यो रुपमा निर्माण गर्न सकिएको छैन । इन्टरनेट नभएको र इन्टरनेटले कामै नगर्ने स्थानमा पनि पुगेर सेवा दिनुपर्ने हुन्छ । त्यसैले पनि तत्कालका लागि एटिएम सम्भव देखिदैन । एटिएम राख्नका लागि केही खर्चिलो पनि छ । त्यो खर्च हामी तत्काल धान्न सक्दैनौं ।

हाम्रो पूर्वाधार निर्माणले भ्याएसम्म स्मार्ट टेक्नोलोजीको प्रयोग गर्दै सेवाग्राहीलाई सकेसम्म सन्तुष्ट पार्ने प्रयास गरिरहेका छाै‌ँ । टेक्नोलोजी भन्ने वित्तिकै सेक्युरीटीको कुरा पनि सँगसँगै जोडिएर आउँदो रहेछ । हामी जनताको पैसा ‘पब्लिक प्राेपर्टी’ मा काम गर्ने मान्छे हौं । उहाँहरुको सम्पत्तीलाई संरक्षण गर्नुपर्ने हाम्रो जिम्मेवारी र कर्तव्य पनि हो । हामी धेरै कनेक्टीभिटीमा जोडिन सकिरहेका छैनौ ।

लघु उद्यमीहरुलाई व्यवसायिक बनाउन के–के गर्नु पर्ला ?

लघुउद्यमीहरुलाई व्यवसायिक बनाउन उनीहरुको सीप, दक्षता र प्रोडक्टलाई बजारीकरण गर्नुपर्छ । अहिले हामीले सेवाग्राहीहरुलाई  तालिम दिने  काम गरिराखेका छौं । आगामी दिनमा उनीहरुको उत्पादनलाई बजारसम्म कसरी पुर्याउने भन्ने विषयमा पनि छलफल सुरु भएको छ ।

आगामी दिनमा सेवाग्राहीले उत्पादन गरेको सामग्री उचित मुल्यमा बजारसम्म पुर्याउने र बिक्रि वितरणको व्यवस्था मिलाउने हाम्रो उद्देश्य छ । अहिले कृषकले उत्पादन गरेको कृषि सामग्री उचित मुल्य नपाएर कुहिएर जाने अवस्था छ । हामी त्यो अवस्था आउन दिँदैनौं । लघु उद्यमीले उत्पादन गरेका सामानहरुलाई ठुला उद्यमीहरुले किन्ने र त्यस्ता लघु उद्यमीले पनि ठुलो आम्दानी गर्न सक्ने च्यानल निर्माण गर्ने भन्ने सोचमा हामी छौं । यसलाई हामी छिट्टै कार्यान्वयन गर्छौ ।

लघुवित्तको विकास र वित्तीय साक्षरताका लागि के–के गर्नुपर्ला ?

हामीले अहिले दुई प्रकारले वित्तीय साक्षरता गरिरहेका छौं । पहिलो विभिन्न क्याम्पिएनहरुमा सहभागी भएका र सहभागी गराएका छौं ।  दास्रो हाम्रै विभिन्न समूहका बैठकहरुमा सहभागी गराएर पनि वित्तीय साक्षरता दिएका छौं । समूहका हरेक बैठकमा एजेण्डा नै राखेर छलफल गर्ने गरेका छौं ।

वित्तीय साक्षरताले नै सबै कुरा निर्धारण गर्ने भएकाले हाम्रा सेवाग्राहीहरु पनि सचेत बन्नुभएको छ । धेरै जना स्थानीय जनप्रतिनिधिको रुपमा निर्वाचित भइसक्नुभएको छ । केही प्रदेश र संघीय संसदमा पनि हुनुहुन्छ । वित्तीय साक्षरताका विषयमा हामीले निकै प्रभावकारी रुपमा काम गरेका छौं ।

मैले करिब २५ वर्ष  लघुवित्त क्षेत्रमा बिताएँ । सुरुवाती बेला र अहिलेको अवस्थालाई हेर्दा चेतनाको स्तरमा धरै नै विकास भएको छ । परिवर्तन आएको छ ।

धेरै संख्यामा लघुवित्त भएपनि ग्रामीण क्षेत्रमा अर्थतन्त्रको विकासमा यसको प्रभाव कम भएको पाइन्छ, के गर्न सकिएमा ग्रामीण विकासमा लघुवित्त महत्वपूर्ण बन्न सक्ला ?

ग्रामीण क्षेत्रको विकासको पहिलो पाटो भनेको आर्थिक क्रियाकलापमा संलग्न हुनु नै हो । जसले उनीहरु लाभान्वित हुनेछन् । एउटा सदस्य, परिवार, समाज हुँदै राष्ट्र परिवर्तन हुने हो । त्यसरी नै सेवाग्राहीहरुको चेतनाको स्तरमा वृद्धि गर्दै लैजानुपर्छ ।

लघुवित्तहरु ७ सय ५३ वटै स्थानीय तहमा पुगेका छन् । हिमाली जिल्लाहरुमा पनि लघुवित्तको पहुँच पुगेको छ । १८ हजार जनसंख्या भएको स्थानीय तहमा पनि करिब १८ वटा नै लघुवित्तले काम गरिरहेको अवस्था छ ।

हिजोका दिनमा ९० को हाराहारीमा पुगेका लघुवित्त संस्थाहरु अहिले ७० भन्दा कममा झरेका छन् । यो संख्या भोलिका दिनमा २५/३० को हाराहारीमा आउँदा पनि सहभागिता लगभग बराबर जस्तै हुने देख्छु । राष्ट्र बैंकले लिएको मर्जरको नीतिले पनि यसमा निकै ठुलो भूमिका खेलेकाे जस्ताे लाग्छ । 

लघुवित्तलाई राष्ट्र बैंकले मर्जरको नीतिमा राखेको छ । मर्जरको प्रक्रियाले लघुवित्तमा ल्याउने सकारात्मक र नकारात्मक पक्षहरु के–के हुन् ?

लुघवित्त मर्जर सम्बन्धी राष्ट्र बैंकले लिएको नीति धेरै राम्रो छ । जसले गर्दा ‘मल्टीप्लिकेशन’ हुँदैन । अस्वस्थ प्रतिस्पर्धा हुँदैन । सेवाग्रहीले बढीभन्दा बढी सेवा सुविधाको उपभोग गर्न पाउँछन् । ठूलो अर्गनाइजेसनमा काम गर्दा अन्य फाईदाहरु पनि धेरै छन् ।

अर्को नकारात्मक पक्षहरु पनि छन् । जस्तो विभिन्न भूगोलमा हिँडेका कर्मचारी, फरक–फरक तवरबाट काम गरिराखेको अवस्थामा एकै स्थानमा आउँदा परिर्वतन हुन समय लाग्दो रहेछ । आफूले गरेको ठिक र उसले गरेको बेठिक भन्ने पनि हुने रहेछ । मर्जर वा एक्जिजिशनको असर कम्तीमा पनि ५ वर्ष पर्दाे रहेछ । त्यो हामीले भोगी सकेका छौं ।  मैले यसलाई अवसरका रुपमा नै लिएको छु । किनकी यसबाट धेरै कुराहरु सिक्ने अवसर मिल्दो रहेछ ।

लघुवित्त क्षेत्रमा खराब कर्जाको अवस्था कस्तो छ, भविष्यमा खराब कर्जा कत्तिको बढ्छ ?

पछिल्ला दिनमा लघुवित्तमा पनि खराब कर्जा बढ्ने जस्तो देखिन्छ । गत चैतसम्मको तथ्यांक हेर्दा पनि त्यस्तै देखिन्छ । हिजोका दिनमा राष्ट्र बैंकले सहुलियत कर्जा दिँदा अलि सहज भएको थियो । त्यो अहिले छैन । राष्ट्र बैंकसँग पटक–पटक माग्ने भन्ने पनि हुँदैन ।

पछिल्लो समय सिस्टममा देखिने समस्याले गर्दा खराब कर्जाको प्रतिशत वृद्धि भएको अवस्था छ । त्यसलाई चाँडोभन्दा चाँडो न्यूनिकरण गर्नुपर्छ । समग्रमा खराब कर्जा ५ प्रतिशत भन्दा कम नै छ । तर त्यो बढ्छ कि भन्ने चिन्ता छ ।

Spread the love

सोसिअल मेडिया