
बैंकिङ खबर/ नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन नियुक्त हुनुभएको छ । जेठ १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले महर्जनलाई सीईओमा नियुक्त गरेको हो ।
हाल इन्स्योरेन्समा कामु सीईओको कार्यभार सम्हानुभएका महर्जनले आजैदेखि सीईओको कार्यभार सम्हाल्नुहुनेछ । बीमा क्षेत्रमा २४ वर्षभन्दा बढी अनुभव भएका महर्जनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गर्नुभएको छ ।
उहाँ कानूनको स्नातक हुनुहुन्छ । उहाँले मुम्बईको इन्सुरेन्स इन्स्टिच्युट अफ इन्डियाबाट फेलोसिप पूरा गर्नुभएको छ । उहाँले जनवरी १९९७ मा भारत सरकारको पूर्ण स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको सहायक कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीमा आफ्नो करियर शुरु गर्नुभएको थियो ।
नेपाल इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १४ वर्ष सीईओको रूपमा काम गर्नुभएको थियो । उहाँ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा गाभिएको), नेपाल केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त ’घ’ वर्गको बैंकिङ संस्थाको सञ्चालक समेत हुनुहुन्थ्यो। त्यस्तै, उहाा नेपाल पुनर्बीमा कम्पनीको निर्देशक हुनुहुन्थ्यो । उहाँ नेपाल बिमा संघका पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ ।



