
बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डटकमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता राष्ट्र बैंकले ल्याएको विभिन्न नीतिले बढी चर्चा पायो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :-
मौद्रिक नीतिको तेस्रो समीक्षा

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गरेको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो समीक्षा गरेको हो । समीक्षामा मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकाले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको उल्लेख छ ।
मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने समीक्षामा उल्लेख छ ।
कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि यस बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइएको उल्लेख छ ।
आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिने समीक्षामा रहेको छ ।
मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखिएको छ ।
मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइने मौद्रिक नीतिको समीक्षामा उल्लेख गरिएको छ ।
संसदमा बैंक मर्जरको विषय

संसदमा बैंक मर्जको विषय उठेको छ । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले बैंकहरुको कारण विकासले गति लिन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्दै उहाँले नेपालमा बैंकहरुको संख्या बढी भएकोले पूँजी छरिएको बताउनुभयो । एकत्रित हुनुपर्ने पूँजी छरिएर रहेकाले विकासले गति लिन नसकेको उहाँको भनाइ छ ।
पूँजी छर्न रोक्नका लागि बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउनु पर्ने उहाँको भनाई छ । ‘धेरै संख्यामा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत गरि सिमित बैंकलाई बढावा दिनुपर्छ । छरिएर पूँजी एकत्रित गरिने छ । हाम्रो विकासको समस्या पूँजी कम भएर नभएको होइन । अत्यन्त छरिएर रहेको पूँजीको समस्या हो ।’
जर्मनिको बैंकको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘विश्वको छैटौ ठूलो अर्थतन्त्र भएको जर्मनीमा जम्मा ६ वटा बैंक छन् । हाम्रो देशमा यति धेरै बैंकहरु छन् । यी बैंकहरुले नै पूँजीले औधोगिकीकरण गर्न रोकिरहेका छ । बैंकहरुकै कारण आयातमुखी अर्थतन्त्रलाई बढावा दिएको छ । उत्पादनमुखी अर्थतन्त्रलाई यदासिनता देखाएको छ । त्यसकारण मर्जरमा गएर सिमित बैंक तथा वित्तीय संस्था बनाउनुपर्छ ।’
प्रशोधन परियोजनालाई दिने कर्जामा नयाँ व्यवस्था

बैंक तथा वित्तीय संस्थाहरुले फलफूल एवं जडीबुटी उत्पादन तथा प्रशोधन परियोजनामा आधार दरमा अधिकतम २ प्रतिशतमात्र प्रिमियम थप गरी आवधिक कर्जा गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७८ को इ.प्रा. निर्देशन नं. २ को बुँदा ३८ मा यो व्यवस्था थप गरेको हो। थव गरिएको व्यवस्थामा फलफूल एवं जडीबुटी उत्पादनका लागि वा पूर्णतया स्वदेशमा उत्पादित फलफूल तथा जडीबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नुपर्ने उल्लेख छ।
यो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने र भएका कर्जामा पनि लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ। राष्ट्र बैंकको निर्देशनमा भनिएको छ,“फलफूल एवम् जडिबुटी उत्पादनका लागि पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नु पर्नेछ ।” तर, यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने/भएका कर्जामा भने लागू नहुने केन्द्रीय बैंकले जनाएको छ ।
यसभन्दा अघि बैंक तथा वित्तीय संस्थाले आधार दरमा वा त्यसमा केही मात्र प्रिमियम थप गरी ब्याज लीन पाउने विभिन्न क्षेत्रहरु ६ वटा मात्र थिए । बिहीबार केन्द्रीय बैंकले एकिकृत निर्देशनलाई संशोधन गर्दै थप एक बुँदा थप गरेर सात पु¥याएको हो ।
राष्ट्र बैंकका अनुसार व्यावसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय एवम् भूकम्पबाट प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न ऋणीको ऋण तिर्नसक्ने क्षमताका आधारमा बढीमा २० लाखसम्मको कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछ व्यवस्था छ ।
राष्ट्र बैंकको सञ्चालकमा डा. आचार्य र शिवाकोटी नियुक्त

नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा.शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त हुनुभएको छ । आचार्य र शिवाकोटीलाई मन्त्रिपरिषद्को बैैठकले राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । आचार्य राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ भने शिवाकोटी पूर्व डेपुटी गभर्नर हुनुहुन्छ ।
राष्ट्र बैंकका सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि गत वैशाखमा सकिएको थियो । सो बेलादेखि रिक्त रहेको संचालकहरु अहिले नियुक्त गरेको हो । राष्ट्र बैंकको सञ्चालकको लागि चिन्तामणी सिवाकोटी, डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम सिफारिस भएको थियो ।
सरकारको प्राथमिकतामा डिजिटल बैंकिङ

सरकारले आफ्नो नीति तथा कार्यक्रममा डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार संघीय संसदमा प्रस्तुत गर्दै डिजिटल भुक्तानीलाई सहज बनाउने कार्यक्रम ल्याउने बताउनुभयो ।
यस्तै सरकारको नीति तथा कार्यक्रममा पुँजी बजारलाई प्रभावकारी बनाइने, डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने र बीमालाई उत्पादकतवसँग जोड्ने लगायतका विषय समेटिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘ डिजिटल बैंकिङको अवधारणा अन्तर्गत सबै काम डिजिटल बैंकिङ मार्फत् गर्ने व्यवस्था गरिनेछ ।’
रु. ३ अर्ब बढीको ‘नागरिक बचतपत्र’मा आवेदन खुला, ११% ब्याज

नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले जेठ १२ गतेबाट नागरिक बचतपत्र–२०८४ बिक्री खुला गरेको छ।
केन्द्रीय बैंकले रु. ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री खुला गरेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्।
यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११ प्रतिशत ब्याज (ब्याज कर लाग्ने) पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा गरिने राष्ट्र बैंकले जनाएको छ।
लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सक्नेछन्। यो बचतपत्र धितो राखी केन्द्रीय बैंकबाहेक अन्य बंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ।
यो बचतपत्रको निष्कासन आउँदो असार ८ गते हुनेछ भने साँवा भुक्तानी २०८४ असार ८ गते हुनेछ। यो बचतपत्रमा यही जेठ ३१ गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ।
सहकारी विभागको ३५ बुँदे एकीकृत निर्देशनः ऋण लगानीदेखि सन्दर्भ व्याजदरसम्म

सहकारी विभागले सहकारीको सुशासन प्रवद्र्धनको लागि ३५ बुँदे एकीकृत निर्देशन जारी गरेको छ । धुलिखेलमा आयोजिक एक कार्यक्रमको बीच सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले एकीकृत निर्देशन जारी गर्नुभएको हो । यो निर्देशन जारी भएसँगै यस अघि विभागले जारी गरेको ८८ बुँदे निर्देशन खारेज भएको छ । एकीकृत निर्देशनमा सहकारीको ऋण लगानीदेखि सन्दर्भ व्याजदरसम्म उल्लेख छ ।
नियुक्त
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त हुनुभएको छ । जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको आगामी सीईओ नियुक्त गरेको हो। बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल अबको केही दिनभित्रै सकिँदै छ।
ढुंगानाले आउँदो असार १७ बाट नबिलको सीईओको रुपमा पदबहाली गर्नुहुनेछ । राष्ट्र बैंकसँग अन्तिम स्वीकृतिका लागि जानुअघि नबिलले गत शनिबार गरेको विशेष साधारण सभाबाटै एकीकृत कारोबारको सुरुवाती दिनदेखि नै बैंकको प्रमुख कार्यकारीको भूमिका सम्हाल्ने गरी ढुंगानालाई सीईओ नियुक्तिको निर्णय गरेको थियो।
यसअघि नबिलसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक (एनबी) मा एक दशक उहाँले व्यवस्थापकीय नेतृत्व गर्नुभएको थियो । ढुंगानाले गत पुस अन्तिम साता नेपाल बंगलादेश बैंककाे सिईओबाट अवकाश लिनु भएको थियो ।
एन आई सी एशिया बैंक लिमिटेडको २०७९ जेठ ८ मा बसेको सञ्चालक समितिको ५४५ औं बैठकले सन्तोष कुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहनुभएका उहाँलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६/०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले मिति २०७९ श्रावण १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
२०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिनुभएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको हो ।
समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गर्नुभएका राठीलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणमा पुर्याउनु भएको अतुलनीय योगदानको कदर एवं उच्च मूल्याङ्कन गर्दै बैंकले उहाँलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।
नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगाल्नुभएको श्री राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ ।
अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीलाई दोस्रो कार्यकालका लागि समय थप भएको छ । कम्पनीको संचालक समितिको बैशाख ५ गते बसेको १०४ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल ४ वर्ष थप गरी गरिएको हो ।
उक्त निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश भएकोमा समितिबाट स्वीकृत प्रदान गरी जेठ ९ गते पत्र प्राप्त भई पुनः ४ बर्ष कार्यकालको पदभार सम्हालेको जानकारी गराएको कम्पनीले जनाएको छ ।