
बैंकिङ खबर/ बीमा समितिले सबैखाले पुनर्बीमा शत प्रतिशत स्वदेशी पुनर्बीमकसँगै गराउनुपर्ने प्रावधानमा केही संशोधन गरेको छ । समितिले जारी गरेको परिपत्र अनुसार नेपाल पुनर्बीमा कम्पनी(नेपाल रि) लाई बीमकबाट प्राप्त नेपाल सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा कुनै पनि अवस्थामा अस्वीकार नगर्न निर्देशन दिएको छ ।
कूल पुनर्बीमाको बीस प्रतिशत नेपाल रिसँगै सम्झौता गर्नुपर्ने बाध्यकारी प्रावधान रहेकोमा नेपाल रिले जोखिमको मूल्यांकनका आधारमा जोखिम स्वीकार्ने वा अस्वीकार्ने निर्णय गर्दै आएको थियो । तर यो परिपत्रले नेपाल रिलाई अनिवार्य पुनर्बीमा अन्तर्गतको हिस्सावापतको व्यापारमा जोखिमको मूल्यांकन गर्ने अवसरबाट वञ्चित गरिदिएको छ ।
ट्रिटी पुनर्बीमा अन्तर्गत नेपाल रिले २० प्रतिशत हिस्सा ग्रहण गरी सकेपछि बाँकी रहने ८० प्रतिशत हिस्साको १५–१५ प्रतिशत व्यवसाय पहिलो वर्ष र २०–२० प्रतिशत व्यवसाय दोश्रो वर्ष प्रत्येक पुनर्बीमक(नेपाल रि र हिमालय रि)लाई दिन समितिले बीमकलाई निर्देशन दिएको छ ।
स्वदेशी पुनर्बीमकले प्राप्त फ्याकल्टेटिभ प्रस्ताव पूर्ण वा आंशिकरुपमा गर्न नसकेको खण्डमा त्यस्तो पूनर्बीमा कम्तीमा एम वेष्ट रेटिङ एजेन्सीको बि प्लस रेटिङ वा सो सरहको(एस एण्ड पि रेटिङ को हकमा ए, मुडीज रेटिङको हकमा एटु र फिच रेटिङको हकमा ए) रेटिङ भएको पुनर्बीमा कम्पनीलाई दिन सकिने समितिको परिपत्रमा उल्लेख छ ।
हेर्नुहोस्





