Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मर्जरकाे अन्तिम तयारीमा पुगेको एनबी बैंकका कर्मचारी आन्दोलित !

२०७९ बैशाख २५ गते


बैंकिङ खबर/ नबिल बैंकसँग मर्जरको अन्तिम तयारीमा पुगेको नेपाल बंगलादेश बैंक(एनबी) का कर्मचारीहरु आन्दोलित भएका छन् । बैंकका कर्मचारी संघले आफ्ना माग पुरा नभएको भन्दै उनीहरुले आइतबारदेखि सांकेतिक विरोध शुरु गरेका हुन् । आन्दोलन अनुसार संघले आइतबार अपरान्ह ३ बजेदेखि ५ बजेसम्म हातमा कालोपट्टी बाधेर काम गर्ने तथा ब्यानर टाँसेका छन् । त्यस्तै

वैशाख २६ गते र २७ गते बिहान १० बजेदेखि ५ बजेसम्म हातमा कालोपट्टी बाधेर काम गर्ने तथा ब्यानर टास्ने कार्यक्रम तय गरेको छ । संघले ग्राहकलाई प्रदान गरिने सेवामा भने कुनै अवरोध नगर्ने प्रष्ट पारेको छ । हाल दबाब स्वरुप सांकेतिक विरोधका कार्यक्रम मात्र सार्वजनिक गरेको र माग पुरा नभए कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ । संघले नेपाल बंगलादेश बैंक लि. र नबिल बैंक लि.प्राप्ती/गाभिने सम्बन्धमा असहमती जनाएको छ ।

संघले कर्मचारी समायोजन समान पद र हैसियत कायम गरिनु पर्ने, आकर्षक स्वेच्छिक अवकाश योजना लागु गरिनु पर्ने, कर्मचारीको सेवा शर्त सुबिधा मर्जर पश्चात समान कायम गरिनु पर्ने, सहयोगि तहका कर्मचारीहरुको रोजगारीको सुनिश्चित गरिनु पर्ने र कर्मचारीको वृत्ति विकास लाई निरन्तरता दिईनु पर्ने माग राखेको छ ।

पटक पटक लिखित तथा मौखिक रुपमा नबिल बैंकसँग मर्जर प्राप्तीको प्रक्रियाको सन्दर्भमा समान पदमा समान रुपले पद मिलान गर्ने सम्बन्धमा आफ्ना मागलाई वेवास्ता गरी एकपक्षिय ढंगबाट निर्णय गरेको संघले जनाएको छ । संघलाई जानकारी नै नदिई कर्मचारी समायोजन प्रक्रिया अघि बढेकोले उक्त निर्णय कर्मचारीहरुलाई अस्विकार्य भएकोले बिरोधका कार्यक्रम सुरु गर्न बाध्य भएको संघले जनाएको छ । संघले सबै कर्मचारीहरु लाई आ–आफ्नो कार्यस्थल रहेर विरोध कार्यक्रमहरु संचालन गर्न आग्रह गरेको छ ।

संघले आन्दोलन सुरु गर्न लागेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका अध्यक्ष तथा सन्चालक समिति, बैंकको मानब ससांधन विभाग, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्र बैंकको बैंक तथा बित्तिय संस्था नियमन विभाग, राष्ट्र बैंक कै गुनासो सुनुवाई इकाई, श्रम तथा रोजगार कार्यालय,र नेपाल वित्तीय संस्था कर्मचारी संघ फियुनलाई पनि दिएको छ ।

छलफल निष्कर्ष विहिन

नेपाल बंगलादेश बैंकका उच्च व्यवस्थापन र कर्मचारीबीचको आइतबारको छलफल निष्कर्षविहीन भएको छ । बैंकका उच्च व्यवस्थापन र संचालकले उचित विकल्प दिन नसकेपछि छलफल निष्कर्षबीना नै टुंगिएको हो । बैंकका बहालवाला निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, तत्कालिन सीईओ ज्ञानेन्द्र ढुंगाना र बैंकका संचालक इन्द्र बहादुर थापा तथा बैंकका कर्मचारीबीचको छलफल बीना कुनै निष्कर्ष टुंगिएको जनाइएको छ ।

बैंकका संचालक थापाले सहायक तथा त्यस भन्दा तलको पदमा रहेको कर्मचारीको घटुवा नहुने प्रतिबद्दता जनाउनुभएको थियो । त्यस्तै बैंकका तत्कालिन सीईओ ढुंगानाले कर्मचारीहरुको पद एक तह वा दुई तहले घटेपनि खाईपाई आएको सुविधा तथा तलबमा कटौती नहुने र नबिलले प्राप्ति गरेको ६ महिनाभित्र काम हेरेर स्तरोन्नति हुने आश्वासन दिनुभएका थियो ।

वेविनारमार्फत भएको छलफलमा तत्कालिन सीईओ ढुंगानाले २७ औं नम्बरमा रहेको नेपाल बंगलादेश बैंक र एक नम्बरको बैंक नबिल बैंकबीच प्राप्ति सम्झौता हुन लागेकाले दुई तहसम्मको पद घटुवा सामान्य भएको धारणा व्यक्त गर्नुभएको जनाइएको छ । प्राप्ति अगाडी दुई तहसम्म घटाउने र ६ महिनाको काम हेरेर फेरि स्तरोन्नति गर्ने प्रस्ताव कर्मचारीहरुलाई ’भुलाउने’ खेल मात्र भएको भन्दै एनबि बैंकका कर्मचारीहरुले भने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल बंगलादेश बैंकका करिब एक हजार कर्मचारी रहेका छन् । जसमध्ये अधिकांश कर्मचारीहरु महिला कर्मचारी रहेका छन् भने अधिकांश महिला कर्मचारीहरुको कार्यअवधि अझैं १०–१५ वर्ष बाँकी रहेको अवस्था छ । अहिलेकै अवस्थामा बढीमा १५ महिना बराबरको आधारभुत तलब दिएर कर्मचारी पठाउने प्रस्तावपनि कर्मचारीहरुका लागि घातक हुने भएकाले धेरै कर्मचारी यो विकल्पमा नजाने बताइएको छ ।

मर्जर अन्तिम तयारी

नेपाल बंगलादेश (एनबी) बैंक र नबिल बैंकको मर्जर अन्तिम तयारीमा पुगेको जनाइएको छ । नबिल र एनबी बैंकबीच एक्विजिसनका लागि सम्झौता भएपछि चालु आर्थिक वर्षभित्रै प्रकृया सक्ने रणनीतिका साथ दुवै बैंकले काम अगाडि बढाएका छन् ।

बैंक एक्विजिसन प्रक्रियालाई छिटोभन्दा छिटो सक्ने रणनीतिका साथ अहिले दुवै बैंकले समिति नै बनाएर काम गरिरहेका छन् । एक्विजिसनको विषयको अख्तियारी पाउनका लागि नबिल बैंकले विशेष साधारणसभा पनि बोलाएको छ । जेठ ७ गते शनिबार बिहान ११ बजे बैंकले विशेष साधारण सभा बोलाएको हो ।

नबिल बैंकले उदयकृष्ण उपाध्याय र एनबि बैंकले इन्द्रबहादुर थापाको नेतृत्वमा मर्जर समिति बनाएको छ । समितिमा दुबै बैंकका २÷२जना सञ्चालकहरु पनि छन् । एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ । यता मर्जरको अन्तिम तयारीमा एनबीका कर्मचारीहरु आन्दोलित हुँदा मर्जर भाँडिने हो कि भन्ने पनि आशंका समेत गरिएको छ ।

Ad