Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

धमाधम मर्जरको बाटो रोज्दै इन्स्योरेन्स कम्पनी

२०७९ बैशाख २४ गते

बैंकिङ खबर/ बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै इन्स्योरेन्स कम्पनीहरुले मर्जरको बाटो अवलम्बन गर्न थालेका छन् ।
बिहीबारमात्रै हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भएको छ । दुई कम्पनीबीच समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको हो ।

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ । यस्तै एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । १ः१ को अनुपातमा गभिएपछि चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । चुक्ता पुँजी बढाउनु पर्ने बाध्यता भएपछि ती दुई इन्स्योरेन्स कम्पनी मर्जरमा जाने सहमतिमा पुगेका हुन् ।

यूनियन लाइफको साधारणसभा, मर्जमा जाने प्रस्ताव पारित

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभाले मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ती गर्ने एक्विजिशन गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ । सभाले बीमा समितिले तोकेको समय भित्र ५ अर्ब चुक्ता पूँजी पुर्‍याउन अन्य जीवन बीमा कम्पनीबच एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने, प्राप्ती गर्ने एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ ।
बीमा समितिले २०७९ चैत्र मसान्त भित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पु¥याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि बिस्तृत लेखा परीक्षण (डिडिए) गर्नका लागि मुल्यांककर्ता नियुक्त गर्ने प्रयोजनको लागि पनि सभाले संचालक समितिलाई अख्तियारी दिएको हो।

मर्जरमा जान आईएमई लाइफको सञ्चालक समितिले पायो अख्तियारी

आईएमई ग्रुपअन्तर्गतको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभाबाट मर्जरमा जान अख्तियारी पाएको छ ।

कम्पनीमा सर्वसाधारणलाई छुट्याइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरी आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न–गाभिन वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरिएको छ।

मर्जरमा पनि जान सक्ने बाटो खुला

बीमा समितिले बेलैमा चुक्ता पुँजी बढाउन बीमा कम्पनीहरुलाई ताकेता दिएको छ । हालै पुँजी वृद्धिको योजना पनि मागेको समितिले नसक्नेले विकल्प दिनुपर्ने जनाएको छ ।

विकल्पमा कम्पनीहरु मर्जरमा पनि जान सक्ने बाटो खुला गरिएको छ । जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउनैपर्ने व्यवस्था समितिले गरेको छ । पुँजी वृद्धि अनिवार्य गरिएपछि कम्पनीहरु कसरी पुर्याउने भन्नेमा लागेका छन् । केहीले सजिलै उक्त अंक पार गर्ने अवस्था छ भने केही कम्पनीलाई निकै गाह्रो पर्ने अनुमान बीमा बजारमा भइरहेको छ ।

मुलुकको अर्थतन्त्र र बीमकको हितमा पुँजी वृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउनै समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो । समितिद्वारा शुक्रबार काठमाडौंमा आयोजित पुँजी वृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले बीमा बजारको अध्ययन एवं विश्लेषण गरेर नै पुँजी वृद्धिको निर्णय लिइएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो । बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी बढाउनै पर्छ। त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ ।’ आफैं पुँजी जुटाउन नसकिने भए मर्जरमा जान चाहनेलाई समितिले बाटो खोलिदिएको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समितिले जारी गरेको जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका २०८१ देखि पूर्णरुपमा लागू हुन्छ र त्यसका लागि पनि थप पुँजी आवश्यक पर्न सक्छु ।’

देशका ग्रामीण भेगका जनतासम्म बीमाको पहुँच पुग्नु पर्ने उहाँको भनाइ छ । स्थानीय तहमा बीमाका लागि पर्याप्त स्रोत र सम्भावना रहेकाले कम्पनीहरुले पहुँच बिस्तार गर्नुपर्ने समितिले जनाएको छ ।

बीमा कम्पनीको संख्या धेरै भए पनि बीमाप्रतिको विश्वसनीयता बढ्न नसकेको र दाबी भुक्तानीमा समस्या देखिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउनुभयो ।

यी २४ बीमा कम्पनीले मात्र बुझाए पुँजी वृद्धिको योजना

२४ बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको योजना बुझाएका छन् । बीमा समितिका अनुसार बैशाख ११ गते अन्तिम दिनसम्ममा १२/१२ वटा जीवन र निर्जीवन बीमा कम्पनीले पुँजी वृद्धिको योजना बुझाएका हुन् ।

बीमा समितिले गत चैत १० गते सबै बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको योजना पेश गर्न निर्देशन दियो । समितिले बैशाख ११ गते सम्मको लागि अल्टिमेटम दिँदै निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना पेश गर्न भनेको थियो । यो निर्देशन आगामी एक वर्ष भित्र कार्यान्वयन गर्न समेत समितिले भनेको छ । समितिले तोकेको उक्त समय आइतबार सकिएको छ ।

पुँजी वृद्धिको योजना बीमा समितिमा पुर्याउने १२ जीवन बीमा कम्पनीहरुमा लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुराँस, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । जीवन बीमा कम्पनीहरुले हालको चुक्ता पुँजी बढाएर न्यूनतम ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने समितिको निर्देशन छ ।

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । समितिले तोकेको चुक्ता पुँजी भन्दा बढी नेपाल लाइफको मात्रै रहेको छ जसको चुक्ता जुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । तर यो कम्पनी बाहेक अन्य जिवन बीमा कम्पनीहरुले हाल तोकेको चुक्ता पुँजी पुर्याउन धेरै नै थप्नुपर्ने देखिन्छ ।

समितिले पुँजी वृद्धि गर्न नसके मर्जरको योजना पेश गर्न भनेको थियो । १२ वटा जीवन बीमा कम्पनीले पुँजी वृद्धिको योजना पेश गरेपनि बाँकी सात कम्पनीले भने न पुँजी वृद्धिको योजना पेश गरेका छन् भने न मर्जरको नै ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुँजी वृद्धिको योजना पेश नगर्ने बीमा कम्पनीहरुलाई कारवाही बताउनुभएको छ ।

नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीहरुको पनि समितिले तोकेको जति चुक्ता पुँजी छैन । सबै निर्जीवन बीमा कम्पनीहरुले चुक्ता पुँजी वृद्धिको योजना समितिमा पेश गर्नुपर्ने थियो ।

पुँजी वृद्धिको योजना बुझाएका निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सगरमाथा, एभरेष्ट, सानिमा जनरल, आईएमई जनरल, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, अजोड, जनरल र यूनाईटेड इन्स्योरेन्स रहेका छन् ।