
डा. विश्वास गौचन, अर्थशास्त्री
बैंकहरुले ट्रेड तथा घरजग्गामा उच्च रुपमा कर्जा प्रवाह गर्दा तरलतामा समस्या देखिएको हो । बैंकहरुको उच्च कर्जा ट्रेड र घरजग्गामा कर्जा गएको देखिएको छ । जुन हिसाबले कर्जा बढेको छ । त्यही हिसावमा जग्गाको मूल्य बढेको हो, तरलताको समस्या आउनुमा पनि यसको केही भूमिका छ ।
३० वर्षको अवधिमा निजि क्षेत्रको कर्जा वृद्धि २०.३ प्रतिशत भएपनि आर्थिक वृद्धि ४.३६ प्रतिशत, मुद्रास्फिति ७.७ प्रतिशत र आयात १५.७ प्रतिशत रहेको छ ।
आयातको वृद्धिले बाह्य क्षेत्रमा दवाव पारेको र अनौपचारिक क्षेत्रमा कर्जाको धेरै माग रहेको छ । बैंकिङ क्षेत्रको आकार अर्थतन्त्र (जीडीपी) को आकार बराबर भइसकेको र यो प्रवृत्ति कायम रहे अबको केही वर्षमा कर्जा विस्तार दोब्बर हुनेछ ।
राष्ट्र बैंकले पनि यसको गम्भिरता महसुस गरेकाले कर्जा विस्तारको दर १९ प्रतिशतमा हुने अनुमान गरेपनि धेरै भयो । विद्युतिय सवारी साधन आयात गरेर वाह्य क्षेत्रको समस्या समाधान हुँदैन ।
निजी प्रयोजनका लागि हल्का सवारी साधन आयातमा दिइएको भन्सार छुट तथा अन्य सुविधाले प्रचार गरिएजस्तो जलवायु परिवर्तन कम गर्न योगदान हुने, प्रदूषणमा उल्लेख्य कमी आउने, भुक्तानी सन्तुलनमा योगदान हुने, स्वदेशमै उत्पादित बिजुलीको खपतमा उल्लेख्य वृद्धि हुने देखिएको छैन ।
(काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा डा. गौचनले राखेको मन्तव्यको सम्पादित अंश ।)




