
बैंकिङ खबर/ बीमा समितिले बेलैमा चुक्ता पुँजी बढाउन बीमा कम्पनीहरुलाई ताकेता दिएको छ । हालै पुँजी वृद्धिको योजना पनि मागेको समितिले नसक्नेले विकल्प दिनुपर्ने जनाएको छ ।
विकल्पमा कम्पनीहरु मर्जरमा पनि जान सक्ने बाटो खुला गरिएको छ । जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउनैपर्ने व्यवस्था समितिले गरेको छ । पुँजी वृद्धि अनिवार्य गरिएपछि कम्पनीहरु कसरी पुर्याउने भन्नेमा लागेका छन् । केहीले सजिलै उक्त अंक पार गर्ने अवस्था छ भने केही कम्पनीलाई निकै गाह्रो पर्ने अनुमान बीमा बजारमा भइरहेको छ ।
मुलुकको अर्थतन्त्र र बीमकको हितमा पुँजी वृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउनै समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो । समितिद्वारा शुक्रबार काठमाडौंमा आयोजित पुँजी वृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले बीमा बजारको अध्ययन एवं विश्लेषण गरेर नै पुँजी वृद्धिको निर्णय लिइएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो । बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी बढाउनै पर्छ। त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ ।’ आफैं पुँजी जुटाउन नसकिने भए मर्जरमा जान चाहनेलाई समितिले बाटो खोलिदिएको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समितिले जारी गरेको जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका २०८१ देखि पूर्णरुपमा लागू हुन्छ र त्यसका लागि पनि थप पुँजी आवश्यक पर्न सक्छु ।’
देशका ग्रामीण भेगका जनतासम्म बीमाको पहुँच पुग्नु पर्ने उहाँको भनाइ छ । स्थानीय तहमा बीमाका लागि पर्याप्त स्रोत र सम्भावना रहेकाले कम्पनीहरुले पहुँच बिस्तार गर्नुपर्ने समितिले जनाएको छ ।
बीमा कम्पनीको संख्या धेरै भए पनि बीमाप्रतिको विश्वसनीयता बढ्न नसकेको र दाबी भुक्तानीमा समस्या देखिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउनुभयो ।




