
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. तिलक रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताउनुभएको छ । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वगर्भनर रावलले विश्व अर्थतन्त्रमा नै समस्या आएकाले नेपालको अर्थतन्त्रमा समस्या आउनु कुनै व्यक्तिको कारण नभएको बताउनुभयो ।
पछिल्लो समय बढ्दो आयातले भुक्तानी सन्तुलन बिगारेकाले मुलुकको अर्थतन्त्र दुर्घटना उन्मुख बनेको उनको भनाइ छ । उहाँले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले विश्व व्यापारमा केही नकारात्मक असर परेको हुँदा यसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको उहाँको भनाइ छ । पूर्वगर्भनर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बेला सरकारले गर्नुपर्ने काम गर्न भने नसकेको आरोप लगाउनुभयो । उहाँले अर्थतन्त्रका सूचकहरू हेर्दा सचेत रहने बेला आएको उल्लेख गर्नुभयो ।
‘एक वर्षको बजेटभन्दा बढी व्यापार घाटा हुने बेला आयो । भुक्तानी सन्तुलनको अवस्था र चालु खाताको अवस्था खस्किँदो छ, कुनै पनि सूचक सन्तोषजनक छैन । अर्थतन्त्र समस्या त छ, तर कुनै एक प्रधानमन्त्री, अर्थमन्त्री, पार्टीका नेताका समस्यामा परेको होइन’ उहाँले भन्नुभयो,‘राष्ट्र बैंकले केही गर्न सकेन भन्ने कुरा पनि गलत हो, अर्थतन्त्र कुनै व्यक्तिका कारण समस्यामा परेको होइन ।’ पूर्वगर्भनर रावलले नेपालमा स्थानीय उत्पादनमा प्राथमिकता दिँदा नेपालमा अर्थतन्त्रमा टेवा पुग्ने भन्दै उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।




