Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुले बढाउन थाले पुनः स्प्रेड दर, कुनको कति ?

२०७९ बैशाख १२ गते

बैंकिङ खबर/ औषतमा ३ प्रतिशतभन्दा तल रहेको वाणिज्य बैंकहरुको औषत स्प्रेडदर उकालो लाग्न थालेको छ । लामो समयसम्म तरलता अभावका कारण बैंकहरुको कर्जा लगानी सुस्ताउँदा नाफा बढाउन उनीहरुले विभिन्न दरहरु बढाउन थालेका छन् । दोस्रो त्रैमासमा औसतमा २.९९ प्रतिशतमा झरेको थियो । सो पश्चात वाणिज्य बैंकहरुको निक्षेप र कर्जाबीचको अन्तर स्प्रेड दर बढ्दै गएको देखिन्छ । बैंकहरुले प्रकाशित गरेको स्प्रेड दर तेस्रो त्रैमासमा सबै बैंकले स्प्रेड दर बढाएका छन् ।

अहिले केन्द्रीय बैंकले ४.४ प्रतिशतभन्दा कम स्प्रेड दर कायम गर्नुपर्ने व्यवस्था गरेको भएपनि दोस्रो त्रैमाससम्म्मा १६ वटा बैंकले स्प्रेड दर ३ प्रतिशतभन्दा तल झारेका थिए । तर तेस्रो त्रैमाससम्ममा आइपुग्दा स्ट्यान्डर्ड चाटर्ड बैंकबाहेक सबै बैंकको स्प्रेड दर ३ प्रतिशत माथि उक्लिएको छ । ५ बैंकको स्प्रेड दर भने ४ प्रतिशतभन्दा माथि पुगेको छ ।

चैत्र मसान्तको तथ्यांक अनुसार एनआइसी एशिया बैंकको स्प्रेड दर सबैभन्दा धेरै ४.४ प्रतिशत छ भने कृषि विकास बैंकको ४.३३ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.१९ प्रतिशत, प्राइम कमर्शियल बैंकको ४.१ प्रतिशत र नेपाल एसविआई बैंकको स्पैड दर ४.०६ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले स्प्रेड दरमा सीमा नतोक्दासम्म बैंकहरुले ५÷६ प्रतिशतसम्म स्प्रेड दर कायम गर्ने गरेका थिए । अहिले लगानीयोग्य रकम अभावका कारण व्यवसाय विस्तार गर्न नसक्ने भएपछि बैंकहरुले नाफा कमाउन पुनः स्प्रेड दर बढाउन थालेको देखिएको छ ।

स्प्रेड दर के हो ? कसरी हुन्छ गणना ?

बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा दिने व्याज र कर्जा प्रवाह गर्दा लिने व्याजबीचको अन्तर नै स्प्रेड रेट हो । उदाहरणका लागि, कुनै एउटा बैंकले निक्षेपबाट औसतमा तीन प्रतिशत व्याज दियो र लगानीबाट औसतमा पाँच प्रतिशत व्याज उठायो भने उक्त बैंकको स्प्रेड रेट दुई प्रतिशत हुन्छ ।

वास्तवमा स्प्रेड रेट बैंकहरुको कमाईसँग जोडिएको हुन्छ । सर्वसाधारणबाट लिएको निक्षेपलाई लगानी गरेर उक्त लगानीबाट आएको व्याजदरबाट निक्षेपकर्ताको व्याज भुक्तानी गरेर बचेको रकम नै बैंकको आम्दानी हो । उक्त आम्दानीबाट संचालन खर्च छुट्याएर बचेको रकम बैंकको मुनाफा हो । त्यसैले, नियामक निकायले स्प्रेड दर निर्धारण गर्दा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ ।

स्प्रेड दर निर्धारण गर्नु बैंकहरुका लागि मात्र नभएर बैंकका ग्राहकहरुका लागि पनि जरुरी हुन्छ । व्याजदरको निश्चित मापदण्ड तोकिँदा निक्षेपकर्ता र ऋणीहरु दुवैलाई सहज हुन्छ भने बैंकहरुले मनपरी रुपमा आफ्नै ढंगले व्याजदर निर्धारण गर्ने अवस्था रहँदैन । यस हिसाबले हेर्दा, स्प्रेड दरले निक्षेपकर्ताको सुविधा, ऋणीको सहजता र बैंक तथा वित्तीय संस्थाको संचालन सबैलाई सन्तुलित र स्वस्थ बनाउने काम गर्दछ ।

Ad