
बैंकिङ खबर/ अछामका पृथ्वीबहादुर शाहले नेपाल भित्र्याएको करिब ४० करोड रुपैयाँमध्ये ९ करोड रुपैयाँ अवैधानिक रकम भएको खुलेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयु) ले तयार पारेको विवरणपत्र अनुसार, उहाँले नेपाल भित्र्याएकोमध्ये ९ करोड रुपैयाँ ठगी, अपराध, राजस्व चुहावट र आपराधिक लाभबाट आर्जन गरी पठाएको देखिएको छ ।
विवरणपत्रमा पृथ्वीबहादुर शाह, उहाँका भाइ र अरु केही व्यक्तिका नाममा आएको र भुक्तानी भएको रकम आपराधिक क्रियाकलापबाट आर्जन भएको विवरणमा उल्लेख छ ।
१९ चैत २०७७ मा एफआईयुले तयार पारेको प्रतिवेदनमा पृथ्वीबहादुरले त्यतिबेला करिब ३५ करोड रुपैयाँ नेपाल भित्र्याइसकेको उल्लेख छ । केही रकम उनी र सेरोफेरोका व्यक्तिले भुक्तानी लिए भने केही राष्ट्र बैंकको पत्रबाट रोक्का छ ।
३५ करोड रुपैया नेपाल ल्याएकाले त्यसपछि ल्याइएको अन्य रकम जोड्दा ४० करोड हुने राष्ट्र बैंकले जनाएको छ । विवरणमा नेपाल भित्रिएको ३५ मध्ये करिव ९ करोड रुपैयाँ आपराधिक क्रियाकलापबाट आर्जन भएको भन्ने उल्लेख छ ।
इकाइले तयार पारेको ५ पेजको प्रतिवेदन त्यतिबेला राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा पठाइएको थियो । त्यही पत्रका आधारमा पृथ्वीबहादुर लगायत उहाँका दर्जनभन्दा बढी कम्पनीको खाता अहिले रोक्का छ ।
सर्वोच्चले दिएन रकम खुलाउन अन्तरिम आदेश

सर्वोच्चले पृथ्वीबहादुर शाहको नाममा विदेशबाट आएको रकम खुलाउने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार अदालतमा भएको सुनुवाइपछि अदालतले उक्त मुद्दा पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ।
आफूले विदेशबाट ल्याएको रकम रोकिएको भन्दै उक्त रोक्का खारेजी गरेर रकम खुलाउने मागसहित शाहले दिएको रिटमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले अन्तरिम आदेश नदिएको हो।
शाहले साउन १२ मा दर्ता गराएको निवेदनमा अमेरिकाबाट प्राप्त रकम ९ महिनादेखि रोक्का राख्दा आफूमाथि अन्याय भएको दाबी गरेका छन् । तर, त्यसको चार महिना पहिला चैत १७ मा मात्र प्रभु बैंकमा रहेको वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालीको खातामा चार लाख अमेरिकी डलर आएको देखिन्छ । नेपाल भ्रमणका लागि टिकट, बिमा र यातायात खर्चको प्रयोजनबापत उक्त रकम आएको उल्लेख छ । तर त्यो पूरै वर्ष नेपालमा कोभिडका कारण पयर्टन व्यवसाय ठप्प थियो ।
कुमारी बैंकमा रहेको कम्पनीको खातामा चार करोड १६ लाख ५५ हजार ९५० आएको थियो । त्यस्तै वर्ल्ड ट्राभल एन्ड इन्भेस्टमेन्ट प्रालिको ग्लोबल आईएमआई बैंकमा रहेको खातामा २०७७ पुस ७ र ८ मा ७८ लाख १८ हजार ३०० रुपैयाँ आएको थियो ।
ग्लोबल आईएमई बैंकमा रहेको वर्ल्ड फर्स्ट होलिडे कम्पनीको खातामा आएको ९५ लाख २० हजार, ग्लोबल आईएमई बैंकमै वर्ल्डवाइड रेमिट कम्पनीको खातामा आएको ९४ लाख ७२ हजार चार सय पनि रोकिएको छ । वर्ल्ड ट्राभल एन्ड इन्भेस्टमेन्ट प्रालिले ग्लोबल आईएमआई बैंकमा खोलेको खातामा चार करोड ७६ लाख आएको थियो ।
अनुसन्धान प्रभावित हुने गरी खाता फुकुवा गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएपछि शाहले अर्थमन्त्री जनार्दन शर्मालाई प्रयोग गर्नुभएको थियो । शाहले दिनुभएको निवेदनमा तोक लगाउँदै तथा छुट्टै पत्रसमेत लेखेर अर्थमन्त्री शर्माले खाता फुकुवा गर्न ‘राष्ट्र बैंक’ लाई निर्देशन दिनुभयो । अर्थमन्त्री शर्माले निरन्तर निर्देशन र दबाब दिए पनि राष्ट्र बैंकले खाता फुकुवा गर्न अस्वीकार गरेपछि अर्थमन्त्री शर्माको प्रस्तावमा मन्त्रिपरिषद्ले राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुँझ समिति गठन गरेको छ । समिति गठनसँगै गभर्नर अधिकारी निलम्बनमा गर्नुभएको थियो । सरकारको यो हस्तक्षेपविरुद्ध अधिकारी सर्वोच्च पुग्नुभएको थियो । तर गभर्नर अधिकारीलाई नहटाउन सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
पृथ्वीबहादुरको रकम फिर्ता गरिदिन अर्थमन्त्रीबाटै दबाव आयो : अधिकारी

यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धिकरणको आरोपमा फाइलहरु छानबिन भइरहेको अवस्थामा अर्थमन्त्री जनार्दन शर्माले पटक–पटक बैंकखाता फुकुवा गरिदिन दबाव दिएको बताउँदै आउनुभएको छ ।
आफूलाई गैरकानूनी रुपमा निलम्बन गरिएको र आफूमाथि छानविन गर्न गठन भएको जाँचबुझ समिति समेत कानूनसम्मत नभएको दाबी गर्दै अधिकारीले सर्वोच्च अदालत जानुभएको थियो । उक्त रिटमा गभर्नर अधिकारीलाई नहटाउन सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिइसकेको छ ।
रिट निवेदनमा अधिकारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयको विवादमा परेको र छानबिनको क्रममा रहेको एक व्यक्ति (अछामका पृथ्वीबहादुर शाह) बैंक खाता फुकुवा गरिदिन मन्त्रीले पटकपटक दबाब दिएको दाबी गर्नुभएको छ ।
रिट निवेदनमा शाहको नाम उल्लेख नगरी अधिकारीले भन्नुभएको छ , ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी विवादमा परेको व्यक्ति को रोक्का भएको बैंक खाता फुकुवा हुन सक्दैन भन म निवेदकले पटकपटक अडान राख्दै आएको‘‘’ कानूनले नै अनुसन्धान गर्ने अधिकार दिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग एवं नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोबाट अनुसन्धान भइरहेको विवादित व्यक्तिको निवेदनमा तोक लगाएर अर्थमन्त्रीले जानकारी माग गर्नु गलत हुने छ ।’
तोक लगाएर खाता खोलाउन अनुरोध गरी पठाउने काम पनि गलत भएको दावी गर्नुभएको छ । अर्थमन्त्रीकै तोक सहितको पत्र राष्ट्रबैंकले पाएपछि लिखित रुपमा जवाफ दिएको र शंकास्पद कारोवारको खाता फुकुवा नगरेको अधिकारीले बताउनुभएको छ । खाता रोक्का भएपछि पृथ्वीबहादुरले करिव ६ बैंकको कारोवार खुलाइदिन माग गरी सर्वोच्च अदालतमा निवेदन दिएकोमा अन्तरिम आदेश हुन सकेको थिएन ।