Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

के हो बैंकिङ पहुँच ? किन छ यसको आवश्यकता ?

२०७९ बैशाख ५ गते

बैंकिङ खबर/ हरेक देशको समृद्धि अर्थतन्त्रसँग जोडिएको हुन्छ र हरेक नागरिकको उन्नत भविष्य पनि अर्थतन्त्रसँगै जोडिएको हुन्छ । समग्र अर्थतन्त्र मुलतः पैसाको माध्यमबाट सुचारु भएको हुन्छ । कुनै समय पैसाबिनै पनि विनिमय हुन्थ्यो होला, तर अब त्यो संसारमै सम्भव छैन । आज संसारमा पैसालाई परिचालन गर्न सक्नेहरु थोरै पैसाले पनि धेरै काम गर्न सक्षम भएका छन् । यस अर्थ अर्थतन्त्रको विकासमा पैसाको परिचालन महत्वपूर्ण हुन आउँछ ।

नेपालमा अहिले पनि विभिन्न ग्रामिण क्षेत्रमा पैसालाई सिरानीमुनी, सन्दुसमा वा कुनै दराजमा राख्ने प्रचलन छ । सुन र चाँदी मानिसले घरमै थन्क्याएको अवस्था छ । हामीसँग भएको पुँजी परिचालन गर्न नसक्दा विकासका काममा आवश्यक पर्ने पुँजी सञ्चय हुन सकेको छैन । घरमा राखेको पैसा सुरक्षित हुन सक्दैन र घरभित्रको पैसाले अरु पैसा आर्जन गर्न पनि सक्दैन । त्यसका अतिरिक्त आज बैंक तथा वित्तीय संस्थाहरुले जे जति टेक्नोजोलीको प्रयोग गरेका छन् त्यसको भरपुर प्रयोग गर्न प्रयोगकर्ताहरुले नसकेको अवस्था छ । ई-बैंकिङ, मोवाइल बैंकिङ तथा विभिन्न कार्ड मार्फतको वित्तीय कारोबार प्रशस्त हुन सकेको छैन । सँगसँगै बीमाको महत्व र आवश्यकताबारे आम नागरिकलाई जानकारी गराउन नसक्दा सम्पत्तिको सुरक्षा हुन सकेको छैन । 

बैंक/वित्तीय क्षेत्रमा पहुँच नहुँदा बैंकमा खाता खोलिएका छैनन् । खोलिएका खाताहरु पनि निष्क्रिय छन् । र ऋण लिने काम व्यक्तिबाट भइरहेको अवस्था छ । यी सबै कुरालाई बैंकिङ च्यानलमा ल्याएर बैंकसँग कारोबार गर्ने, बैंकमा पैसा जम्मा गर्ने, बैंकबाटै ऋण लिएर उद्यमशीलता हासिल गर्ने लगायतका कामहरु आवश्यक छन् । हरेक नागरिकले बैंकबारे जान्नैपर्ने हुन्छ ।

बैंकबारे नजान्दा कर्जा लिन नपाएको अवस्था र उद्यमी बन्ने रहर हुँदा हुँदै पनि विदेश पलायन हुनुपरेको अवस्था एकातिर छ भने अर्कातिर विदेशमा जानेहरुले आधिकारिक रेमिट्यान्स माध्यमबाट पैसा नपठाई हुण्डीबाट पैसा पठाउँदा पैसा हराउने र राज्यमाथि ठगी गर्ने कार्यहरु पनि भएका छन् । यी र यस्ता काम नहोस् भन्नका लागि बैंकिङ पहुँच हुनु जरुरी छ ।

आम नागरिकलाई बैंकिङ पहुँच बढाउनका लागि नेपाल राष्ट्र बैंकले ‘बैंकसँगको नाता हरेक नेपालीको बैंक खाता’ अभियान ल्याएको छ । पैसा बचत गर्नुपर्छ, बैंकबाट कारोबार गर्नुपर्छ, बैंकबाटै कर्जा लिएर उद्यमी बन्नुपर्दछ । बैंकहरु पैसाको आधिकारिक कारोबार गर्ने निकाय हुन् भन्ने कुरा बुझ्ने र बुझाउने कार्य सबैतिरबाट हुनु जरुरी छ ।

बढ्यो बैंकिङ पहुँच, ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार

वाणिज्य बैंकहरुले देशका ७५० स्थानीय तहमा शाखा विस्तार गरेका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार फागुन मसान्तसम्म देशका ७५३ वटा स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका हुन्। अब ३ वटामात्रै स्थानीय तहमा वाणिज्य बैंक शाखा विस्तार गर्न बाँकी रहेको तथ्यांकले देखाएको छ।

फागुन मसान्तसम्म नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १२८ रहेको छ । जसमा २७ वाणिज्य बैंक र १७ विकास बैंक विकास बैंक छन्। त्यस्तै १७ वित्त कम्पनी, ६६ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या गत असार मसान्तमा १० हजार ६८३ रहेकोमा फागुन मसान्तमा बढेर ११ हजार ३४९ पुगेको छ।

 

Ad