
बैंकिङ खबर व्यूरो/ नेपालको बैंकिङ क्षेत्रमा अन्य वर्षहरुमा झै वि.सं २०७८ मा ठूला उतारचढावहरु आए । कोभिडको तेस्रो लहरको प्रभाव, गभर्नरको राजीनामा, धितोपत्र बोडमा उचार चढाप लगाएका विभिन्न उतारचढावहरु आए । यसैक्रममा बैंकिङ खबरले वि.सं २०७८ मा बैंकिङ क्षेत्रमा के कस्ता घटनाहरु भए भनेर मुख्य विषयवस्तुलाई समेटेर रिपोर्ट तयार गरेको छ । हेरौँ वि.सं २०७८ मा बैंकवित्तमा भएका मुख्य बैंकिङ गतिविधि :
निलम्बनमा गभर्नर महाप्रसाद अधिकारी

वि.सं. २०७८ मा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्यो । जुन विषय यस वर्षको बढी चर्चामा आयो । गभर्नर अधिकारीलाई निलम्बन गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको छ । मन्त्रिपरिषदको निर्णयले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । उनीमाथि देशको आर्थिक अवस्था ध्वस्त पारेको अभियोग छ । गोप्य सूचना चुहाएको, अर्थतन्त्र विगारेको र सरकारसँग समन्वयन गर्न नसकेको अभियोग उनीमाथि लगाइएको छ । सरकारले गर्भनर अधिकारीमाथि छानविन गर्न समिति समेत गठन गरेको छ ।
धितोपत्र बोर्डमा उतार चढाव

वि.सं. २०७८ मा सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्यो । सर्वोत्तम सिमेन्टको सेयर विवादमा मुछिएका उनलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो । न्यायिक छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो ।
सरकारले उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा अर्जुनकुमार खड्का र नारायणप्रसाद पौडेल सदस्य रहेको छानविन समिति गठन गरेको थियो । समितिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन बुझाएको आधारबाट ढुंगानाले गैरकानुनी रुपमा सेयर खरीद गरेको भन्दै मन्त्रीपरिषद् बैठकले बर्खास्त गरेको गर्यो । अमेरिका बस्ने छोरी रेविका ढुंगानाका नाममा सेयर लिएको सार्वजनिक भएपछि अर्थमन्त्रालयले स्पष्टीकरण सोधेको थियो । यद्यपी बोर्डमा रमेशकुमार हमाल अध्यक्षमा नियुक्त भएर आइसकेका छन् ।
तरलता संकटमा गुज्रिए बैंकवित्त

वि.स. २०७८ सालमा बैंकवित्तले सबैभन्दा बढी समस्या तरलता अभावमा झेल्न पुगे । चालु आर्थिक वर्ष (२०७८/०७९) लागेसँगै बैंक तथा वित्तीय संस्थामा देखिन थालेको तरलता (लगानीयोग्य पुँजी) अभावको संकट गहिरिँदै गयो । आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा पनि वित्तीय प्रणालीले खेप्दै आएको तरलता अभावको अवस्थामा सुधार आएको छैन ।
आर्थिक वर्षको चौथो त्रैमासमा सरकारी खर्च बढ्ने भएकाले तरलता अभावको समस्या समाधान हुने अपेक्षाविपरीत अवस्था झन् विकराल बन्दै गएको हो । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी) निर्देशित सीमा (९० प्रतिशतभन्दा माथि) भन्दा माथि पुगेको, अन्तरबैंक दर ७ प्रतिशत हाराहारीमा पुगेको, बैंकहरूले राष्ट्र बैंकबाट लिने सापटी सुविधा (स्थायी तरलता सुविधा–एसएलएफ र ओभर नाइट–रिपो) अचाक्ली बढेकोलगायत कारण तरलता अवस्थामा सुधार नआएको स्पष्ट हुन्छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासँग लामो समयदेखि अधिक तरलता छैन । अनिवार्य नगद मौज्दात कायम गर्नकै लागि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट दिनहुँ ठूलो परिमाणमा एसएलएफ सुविधा लिइरहेका छन् । बैंकहरूले लिँदै आएको एसएलएफ सुविधा र वित्तीय प्रणालीमा देखिँदै आएको अधिक तरलताको अन्तर धेरै ठूलो छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पुँजी, कर्जा र निक्षेप अनुपात (सिसिडी रेसियो) बाट कर्जा–निक्षेप (सिडी रेसियो) कायम गर्नुपर्ने व्यवस्था ग¥यो । बैंकले सिसिडी रेसियो ८५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयन हुँदै आएकोमा मौद्रिक नीतिको घोषणा अनुसार बैंकले सिडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने प्रावधान लागू ग¥यो।
सिसिडीबाट सिडी रेसियो कायम गर्नुपर्ने गरी नीतिगत परिवर्तत भएपछि बैंकले पुँजीबाट कर्जा दिन नपाउने भए । कर्जा विस्तार गर्न कै लागि बैंकले निक्षेप नै संकलन गर्नुपर्ने भएपछि बैंकहरुको कर्जा दिने क्षमता कमजोर भयो । लामो समय कोभिडको महामारीपछि विस्तार हुन लागेको आर्थिक क्षेत्रमा कर्जाको माग वृद्धि भएपछि बैंकहरुले निक्षेप नबढेको अवस्थामा पनि आक्रामक कर्जा लगानी गरे । जसको कारण बैंकहरुमा तरलता अभाव बढ्दै गएको देखिन्छ ।
करिब ३ सय वस्तुको आयातमा राष्ट्र बैंकको कडाइ

वि.स. २०७८ सालमा नेपाल राष्ट्र बैंकले करिब ३ सय वटा वस्तुको आयातमा कडाइ गरेको छ। राष्ट्र बैंकले गाडी, सुन मात्र होइन दैनिक उपभोग हुने वस्तुको आयात रोक्न बैंकहरुलाई प्रतितपत्र नखोल्न निर्देशन दिएको छ। राष्ट्र बैंकका अनुसार आयातको प्रमुख २० सूचीमा पर्ने अधिकांश वस्तुको आयातमा कडाइ गर्न भनेको छ । यसमा गाडीदेखि सुनचाँदीसम्म पर्छ।
यसबाहेक राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग केही समय करिब ३०० वस्तुको प्रतितपत्र नखोल्न भनेको छ। अब बैंकहरुले चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सूर्तिजन्य वस्तु, परफ्यूम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामान आयातका लागि पनि प्रतितपत्र खोल्ने छैनन्। बैंकहरुले राष्ट्र बैंकबाट फर्किएपछि मंगलबार आफ्ना सबै शाखाहरुमा सर्कुलर जारी गर्दै प्रतितपत्र नखोल्न भनेका छन्। बैंकहरुले के केको नखोल्ने भनेर खुलाएका छैनन्। उनीहरुले मार्जिन लागेका वस्तुको नखोल्न भनेका छन्। केही बैंकले अहिले कुनै पनि प्रतितपत्र नखोल्न पनि भनेका छन्।
बैंकहरुले परफ्यूम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्पु, काठ, काठको कोइला र फर्निचर, जुत्ताचप्पल र बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुष, छाता, टेक्ने लौरोदेखि फिदरसम्मको आयातका लागि बैंकले प्रतितपत्र खोल्ने छैनन्।
यसबाहेक ढुंगाका सजावट सामाग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामाग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुदका सामाग्रीका साथै सम्बन्धित वस्तुको पनि आयात अब नहुने भएको छ। यस्तै माछा, गँगटालगायत दुग्धजन्य पदार्थ, प्राकृतिक मह र अण्डा, बोटबिरुवा, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स्,छोकडा, मरिच, मासु, अप्टिकल, मेडिकल तथा सर्जिकल इक्विपमेन्टको पनि बैंकले एलसी खोल्ने छैनन् ।
बैंकले कफी, चिया, गाईवस्तुको दाना, शरीरमा दल्ने लोसन, लुगाधुने पाउडर, लिक्विडका साथै साबुन, प्लास्टिक र प्लास्टिकजन्य सामाग्री, छाला तथा छालाजन्य सामाग्री, कार्पेट र फ्लोरमा लगाउने अन्य सामग्री, कपडा, मोती, बहुमूल्य ढुंगा, बहुमूल्य धातु, चम्चा, घडी तथा भित्तेघडी, तन्ना, कुसन र एन्टिक सामानको पनि बैंकले एलसी खोल्दैनन्।
डिजाइन गाडी, मोपेड, साइकल र आवश्यक पर्ने मोटर आयात पनि बैंक गर्ने छैनन्। बैंकहरुले अब गाडी तथा यसमा लाग्ने इक्विपमेन्ट, मेसिनरी तथा पार्टपुर्जा, धान, चामल, सुन, रेडिमेड कपडा, विद्युतीय उपकरण, कपडाजन्य वस्तु, चाँदी, धागो लगायतको पनि आयातका लागि एलसी नखुल्ने भएको छ।
वहालवाला बैंकका अध्यक्ष जेल चलान

वि.स. २०७८ सालमै सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । संगठित ठगीको आरोपमा पक्राउ परेका तामाङलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश दिएको हो । उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश जारी भएको जिल्ला अदालत काठमाडौं जनाको छ ।
न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो । उनीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वकिल कार्यालयले संगठित ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम नतिरेपछि इच्छाराजविरुद्ध पीडितले सीआईबीमा उजुरी दिएका थिए । पीडितको उजुरीका आधारमा सुरुमा सीआईबीले इच्छाराजसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो ।
बीमा समितिमा विवाद

वि.स. २०७८ सालमै बीमा समिति विवादको चंगुलमा मुछियो । बीमा कम्पनीहरुले देशभित्रै पुनर्बिमा गर्नुपर्ने बीमा समितिको निर्णय विवादमा पर्यो । समितिको निर्देशन बीमाको सिद्धान्तविपरीत भएको भन्दै बिमकहरुले विरोध समेत गरे । समितिले कम्पनीहरुलाई आन्तरिक रुपमा पत्र पठाएर सम्पूर्ण पुनर्बीमा नेपालमै गर्न निर्देशन दिएको थियो । उक्त निर्देशन देशभित्र पुनर्बीमा गर्दा जोखिम एकै ठाउँमा केन्द्रित हुने र प्राकृतिक प्रकोपलगायतका कारण एकैपटक दावी भुक्तानी दिनुपर्ने अवस्था आएमा बीमा क्षेत्र नै समस्या पर्ने भन्दै बीमकहरुले विरोध गरे ।
लगानी कर्तामा सन्त्रास

नेपालको बैंकवित्तलाई वि.स. २०७८ सालमै पनि कोभिडले केहि असर गर्यो । कोरोनाभाइरस महामारीको दोस्रो लहरका साथै तेस्रो लहरले २०७८ सम्म चल्यो यस समयमा लगानी कर्तामा सन्त्रासै सन्त्रास आयो । तर, खोपको सर्वसुलभताले यसको नियन्त्रणमा आशाका किरणहरू उदाए । वर्षको अन्त्यमा आएको ओमिक्रोन भेरियन्टले फेरि एक पटक संसारलाई त्रसित बनायो । अहिले भने कोभिडको असर केहि कम भएको अवस्था छ ।
सिष्टम ह्याकिङ सन्त्रासमा बैंक वित्त

वि.स २०७८ मा बैंकवित्तमा सिष्टम ह्याकिङ सन्त्रास छायो । अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दियो । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको इमेल आएको बैंकले जनाएको छ। बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाका अनुसार ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गर्यो ।
ह्याकरले चेतावनी दिनासाथ सिष्टम बन्द गरिएको थियो । बैंकले आफ्नो फेसबुक पेजमा एक सूचना राख्दै केही समयका लागि बैंकका सबै सिष्टम बन्द रहेको जनाएको छ । धम्कीपछि बैंकले एटिएम कार्ड, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङलगायतका सेवा बन्द गरेको गरेको थियो ।
२०७८ साउनमा नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको थियो । राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण म्यासेजहरु आएको थियो ।
शेयर बजार समग्रमा राम्रै रह्यो

२०७८ साल शेयर बजार समग्रमा राम्रै भयो । २०७८ सालमा नेप्सेले नयाँ उचाइ चुम्दै ३२ सय विन्दुमा पुग्यो । जुन अहिलेसम्मकै उच्च विन्दु हो ।आजदेखि लागु भएको नयाँ वर्ष २०७९ साल गत वर्ष २०७८ भन्दा अझ राम्रो हुने अपेक्षा गरिएको छ । नयाँ वर्ष २०७९ सालमा नेप्सेले यसअघि चुमेको नयाँ उचाई ३२ सय अकंलाई पछि पार्दै अगाडि बढ्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।
नेप्से गत २०७८ भाद्र २ गते ३२ सय नजिक पुगेको थियो । त्यसबेला शेयर बिक्री गर्नेले राम्रै नाफा आर्जन गर्न पुगेका थिए । त्यसपछि शेयर बजार ओरालो लागेर २४१५.२४ अंकमा आएको छ । बजार घटेर तल्लो अंकमा आएको समयमा शेयर बिक्री गर्नेले यो वर्षमा खासै कमाउन सकेनन् ।
बीग मर्जरः होहल्ला धेरै, कार्यान्वयनमा जटिलता

२०७८ सालमै बीग मर्जरमा बीग प्रोब्लम पनि देखिए । हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया असफल भयो । यता यहि वर्ष नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न सैद्धान्तिक सहमति प्रदान भएको छ । मेगा बैंक लिमिटेड अर्को एक वाणिज्य बैंकलाई गाभेर बलियो बन्ने तयारीमा जुटेको छ । मेगा बैंक लिमिटेले कुमारी बैंक लिमिटेडलाई मर्ज गरेर ठूलो वित्तीय संस्था बन्ने तयारीमा जुटेको हो ।



