Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्त ग्रामीण विकासको मुख्य आधार भएको छः कामु गभर्नर डा.ढुङ्गाना

२०७८ चैत्र ३० गते

नेपाल राष्ट्र बैंक
कामु गभर्नर डा.निलम ढुङ्गाना (तिम्सिना)

बैंकिङ प्रणालीमा यतिबेला तरलताको चाप छ । यसका लागि केही समय धैर्य गर्नुपर्ने देखिन्छ । लघुवित्त तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गरौं । बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको छ । तरलता तथा ब्याजदरमा आएको उतार चढावका कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको छ ।  व्यापार चक्रको पनि साइकल हुने भएकाले बिस्तारै सबै कुरामा सुधार आउँदै जानेछ ।

अर्कोतर्फ मुलुकको गरिबी निवारण तथा वित्तीय पहुँचभन्दा बाहिर रहेका जनसख्याको २० प्रतिशत समुदायलाई लघुवित्त संस्थाहरू प्रभावकारी साधन भएको छ । लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैंगिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गर्दै आएको छ । लघुवित्तले वित्तीय सेवाबाट वञ्चित रहेका समूहलाई प्रदानलाई गर्ने वित्तीय सेवालाई जनाउँछ । जसले उनीहरूलाई स्वरोजगारका अवसर विकास गर्न, विभिन्न आय आर्जन गर्ने गतिविधि विकास गर्न मद्दत पुर्‍याउँछ ।

नेपालमा लघुवित्तको अभ्यास सुरु भएको साढे चार दशकमा गरिबी निवारणका धेरै पहल सुरु गरिए तापनि लघुवित्त कार्यक्रम ग्रामीण विकासको मुख्य आधार भएको छ । गरिब समूहको आर्थिक स्थिति उकास्नु, लैंगिक अन्तर कम गर्नु र महिला सशक्तिकरणलाई प्रवद्र्धन गर्नु लघुवित्तका मुख्य उद्देश्य भएको कुरा हामी सबैलाई सर्वविदित नै छ । समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासहरूका बाबजुद मुलुकको कुल जनसङ्ख्याको करिब १८ प्रतिशत हिस्सा अझै गरिबीको रेखा मुनि रहेका छन् ।

अझै पनि जनसङ्ख्याको २० प्रतिशत हिस्सा औपचारिक वित्तीय पहुँच भन्दा बाहिर छ । यस्तो स्थितिमा लघुवित्त वित्तीय संस्थालाई गरिबी निवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासका लागि निश्चय नै प्रभावकारी साधन मानिएको छ ।

(तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा कामु गभर्नर ढुङ्गानाले राखेको मन्तव्यको सम्पादित अंश)