
बैंकिङ खबर/आजभोली दैनिक जसो बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीहरु पक्राउ परेका समाचारहरु मिडियामा आउने गरेका छन् । नेपाल प्रहरीको तथ्यांकले पनि पछिल्लो समय बैंकिङ कुसरका घटना बढ्दै गएको देखाउँछ ।
चैत महिनाको आज(चैत २८) गतेसम्म आइपुग्दा मात्रै बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषि ठहर भइ कैद र जरीवाना तिर्न बाँकी रहेका ११ जना पक्राउ परिसकेका छन् । नेपाल प्रहरीका अनुसार पछिल्लो समय बैंकिङ कसुरका घटना बढ्दै गएको छ भने दोषी ठहर भएका व्यक्तिहरुलाई पनि पक्राउ पर्ने क्रम पनि बढ्दो छ ।
चैत महिनामा को, को पक्राउ परे ?
चैत महिनामा बैंकिङ कसुरका ११ जना फरार व्यक्ति पक्राउ परिसकेका छन् ।
चैत १
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१२ घर भएका ५६ वर्षीय डल्ले कामी यहि चैत १ गते पक्राउ परे चेक बाउन्सले बढायो बैंकिङ कसूरका घटना । उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा नगद १८ लाख रुपैयाँ जरिवान, ५ दिन कैद र विगो रकम १८ लाख रुपैयाँ ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका जम्बुडाँडाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको छ ।
चैत ४
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–१ भत्केकोपुल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मा चैत ४ गते पक्राउ परे ।
उच्च अदालत पाटनको २०७८ फागुन १० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं टोखाबाट पक्राउ गरेको हो ।
राजेन्द्रले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको मेघा बैंक लिमिटेड गोंगबु शाखाको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उनलाई अदालतले उक्त फैसला गरेको थियो ।
चैत ६
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनहरा नगरपालिका–२ गोकर्णेश्वर बस्ने ३६ वर्षीय नवराज धिमाल चैत ६ गते प्रहरीले पक्राउ गर्यो ।
उच्च अदालत पाटनको २०७८ असोज १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा नगद २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णश्वरबाट पक्राउ गरेको हो । धिमालले प्राइम बैंक लिमिटेड बागबजारको आफ्नो नामको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएकोमा चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
चैत ७
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सुनसरी हरिनगर गाउँपालिका–१ बस्ने ३६ वर्षीय सम्शेर आलमलाई चैत ७ गते प्रहरीले ३ वर्षपछि पक्राउ गर्यो ।
उच्च अदालत विराटनगरको २०७५ फागुन २७ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद र ७१ लाख ९० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले झुम्का कारागार कार्यालय पठाइएको छ ।
चैत ९
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हटौंडा ठेगाना भएका ३८ वर्षीय रगुन खड्केलाई चैत ९ गते प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ फागुन ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद ठहर भएका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो ।
खड्केले महालक्ष्मी विकास बैंक लिमिटेड न्यूरोडको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
चैत १०
चैत १० गते नै बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ ठेगाना भएका ६८ वर्षीय कृष्ण बहादुर थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको गत फागुन २० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा बारा जितपुर सिमरा उपमहानगरपालिका–४ बाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनबाट २०७७ मंसिर २२ गतेको फैसलाले सोही मुद्दामा थापालाई १ करोड २५ लाख रुपैयाँ विगो वापतको रकम जरिवाना र सो को कानुन बमोजिम हुने व्याज समेतको विगो दाखिला गर्नु पर्नेमा सो नगरी फरार रहेको घटनामा जिल्ला अदालत काठमाडौंले उक्त फैसला गरेको थियो ।
चैत १४
चैत १४ गते बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने स्याङ्जा आधींखोला गाउँपालिका–४ घर भएका ५२ वर्षीय काजी गुरुङलाई चैत १४ गते प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको गत फागुन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो । गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी एभरेष्ट बैंक लिमिटेड गोंगबु काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो ।
चैत २०
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका–५ बस्ने ईलाम सन्दकपुर ठेगाना भएका ४२ वर्षीय डाकमान गुरूङलाई चैत २० गते प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।
डाकमानले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक लिमिटेड सिनामंगल काठमाडौंमा रहेको निजको खाताबाट रकम भुक्तानी हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
चैत २२
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–५ लाटेबोटडाँडा ठेगाना भएका ३३ वर्षीय बज्र सिंह लामालाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ चैत १ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी एनएमबी बैंक लिमिटेड बौद्धमा रहेको आफ्नो खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।
चैत २४
बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–८ बाँनियाटार बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–३ ठेगाना भएका ३१ वर्षीय राजु भण्डारी र काठमाडौं महानगरपालिका–४ धुम्बाराही बस्ने झापा गौरादह नगरपालिका–५ ठेगाना भएका ५० वर्षीय उपेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।
उनीहरूमध्ये राजु भण्डारीलाई उच्च अदालत पाटन ललितपुरको २०७८ बैशाख २९ गतेको फैसलाले ७ लाख २ हजार ५ सय रूपैयाँ जरिवाना ठहर भएको तथा उपेन्द्र प्रसाद ढुंगानालाई उच्च अदालत विराटनगर, ईलाम ईजालसबाट बैंकिङ कसूर मुद्दामा २०७८ पुस २२ गते पक्राउ अनुमति जारी भएको थियो ।
राजुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ भने उपेन्द्र प्रसादलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दमक पठाइएको छ ।
चैत २५
बैंकिङ कसूरका फरार प्रतिवादी काभ्रेपलाञ्चोक पनौती नगरपालिका–८ बस्ने ४० वर्षीया लक्ष्मी कार्कीलाई चैत २५ गते प्रहरीले पक्राउ गरेको छ । कार्कीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी पीडितलाई ८० लाख रूपैयाँको चेक काटी दिई फरार भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–८ बाट पक्राउ गरेको हो । उनी उपर उच्च अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ ।
चेक बाउन्सले बढायो बैंकिङ कसुरका घटना

सीआईबिका प्रवक्ता एवं सूचना अधिकारी श्याम कुमार महतो चेक बाउन्सका घटनाले नै पछिल्लो समय बैंकिङ कसुरका घटना बढ्दै गएको बताउनुहुन्छ । बैंकिङ खबरसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘पछिल्लो समय समग्रमा फाइनान्सियल क्राइमहरु बढेको देखिन्छ । बैंकिङ कसूरको घटना बढेको छ, चेक बाउन्सको केशले अझ बढाएको छ ।’ बैंकिङ कसूरको घटना ३ वर्ष पहिलाको र अहिलेको संख्या हेर्ने हो भने दोव्वर बढेको उहाँ बताउहुन्छ । १० वर्ष पहिला बैंकिङ कसूरको घटना १० प्रतिशत मात्र हुन्थ्यो भने अहिले ठ्याक्कै उल्टो छ ।
अब फाइनान्सियल क्राइमको घटना बढ्छ त्यहाँ चेक बाउन्स घटना बढी छ । उहाँ भन्नुहुन्छ, ‘हामीले चेक बाउन्सको फैसला कार्यान्वयन मात्र हेर्ने हो । सीआईबीमा भएको आठ ओटा पिल्लरमध्ये एउटा डेडीकेटेड पिलर छ । त्यस पिल्लरको काम भनेको फरार भएका अपराधीहरुलाई अदालतमा लगेर बुझाउने काम हो ।’
के हो चेक बाउन्स ?
भुक्तानीका निम्ति दिएको चेक बैङ्कबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । पटकपटक एउटै चेक बाउन्स भएमा त्यसलाई बैङ्किङ कसुरका रूपमा लिइन्छ । एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैङ्कमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्छ । साथै, चेक बाउन्स भएको खातावालालाई जेलको सजाय पनि हुने व्यवस्था छ ।
यसरी बाउन्स हुन्छ चेक
कम्पनी वा संस्थासँग सम्बन्धित व्यक्ति हो भने चेक लिँदा सकेसम्म कम्पनीको नामको चेक लिनु पर्छ । चेक लिएर बैँक पुग्दा पर्याप्त मौज्दात नभएमा बैँकलाई सम्बन्धित खातावाललाई जानकारी गराइदिन जानकारी गराउनु पर्दछ । लगातार तेस्रो पटकसम्म पर्याप्त मौज्दात नभएको अवस्था आए चेक बाउन्सको उजुरी गर्न सकिन्छ । बैँकलाई नै चेक बाउन्स गरिदिन अनुरोध गर्दा सम्बन्धित बैँकले नै चेक बाउन्स भएको पुर्जी उपलब्ध गराएपछि चेक पहिलो पटक बाउन्स हुन्छ । पहिलो बाउन्स भएको एक सातासम्म पनि पैसा हातमा नपरे फेरी बैँकलाई दोस्रो पटक चेक बाउन्स गरिदिन अनुरोध गर्नु पर्दछ ।
कहिलेकाँही बैँकले व्यापारिक फाइदा हेरेर चेक बाउन्सको उजुरी अस्विकार गर्न सक्छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैँकको जनसंपर्क महाशाखामा गएर उजुरी गर्न सकिन्छ । लगातार दोस्रो पटक चेक बाउन्स भएपछि बैँकलाई उक्त खातावाललाई कालो सुचीमा राखिदिनको लागि निवेदन दिन सकिन्छ । सोही निवेदनसँगै खातावाल व्यक्ति वा संस्था कालो सुचीमा पर्दछ । पैसा अशुलका लागि सम्पुर्ण प्रमाण लिएर प्रहरीमा उजुरी दिन सकिन्छ । कुनै संस्था वा कम्पनीको नामको चेक बाउन्स भयो र कालो सुचीको लागि निबेदन दिनु अघि नै संस्था कालो सुचीमा पर्ने डरले पैसा भुक्तानी चाँडो हुन सक्छ । कालो सुचीमा परेका मान्छेले कुनै पनि व्यवसाय गर्न नपाउने प्रावधान छ । आफ्नो पैसा अशुल गर्नको लागि भने प्रहरीमा सप्रमाण उजुरी गरेपछि पक्राउ गरि पैसा असुल गर्न सकिन्छ ।
चेक बाउन्स भए के गर्ने त ?
बैङ्क तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउनुपर्छ । यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैङ्कमा भुक्तानीका लागि आयो र त्यतिखेर पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपर्यो भने कर्जा सूचना केन्द्रमा कारबाहीका लागि बैङ्क तथा वित्तीय संस्थाले उजुरी गर्नुपर्छ । हरेकपटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट माग्नुपर्छ । चेक बाउन्स हुँदा बैङ्कले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्दछन् । यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैङ्क आफैले जानकारी दिने गर्दछ । तीनपटक पनि चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले नै सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी गर्न सक्छ ।
कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैङ्किङ कारोबार गर्न पाउने छैन । खातावालाले आफूले जारी गरेको चेकको रकम भुक्तानी नहुँदै खाता बन्द गरेका कारण कुनै चेकको भुक्तानी हुन नसकेको पनि जानकारी प्राप्त हुनासाथ सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले कुनै माध्यमबाट सम्बन्धित खातावालालाई प्रचलित कानूनी व्यवस्थाअनुसार जानकारी गराउनुपर्नेछ । यसरी जानकारी गराएको अवस्थामा समेत उक्त चेकको भुक्तानी हुने व्यवस्था नगरेको खण्डमा त्यस्तो चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनीलाई कालोसूचीमा राख्न सिफारिश गरी पठाउनुपर्नेछ ।



