
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले करिब ३ सय वटा वस्तुको आयातमा कडाइ गरेको छ। राष्ट्र बैंकले गाडी, सुन मात्र नभइ दैनिक उपभोग हुने वस्तुको आयात रोक्न बैंकहरुलाई प्रतितपत्र नखोल्न निर्देशन दिइ सकेको छ । राष्ट्र बैंकका अनुसार आयातको प्रमुख २० सूचीमा पर्ने अधिकांश वस्तुको आयातमा कडाइ गर्न भनेको छ । यसमा गाडीदेखि सुनचाँदीसम्म पर्छ।
यसबाहेक राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग केही समय करिब ३०० वस्तुको प्रतितपत्र नखोल्न भनेको छ। अब बैंकहरुले चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सूर्तिजन्य वस्तु, परफ्यूम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामान आयातका लागि पनि प्रतितपत्र खोल्ने छैनन्।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले राष्ट्र बैंकले हचुवाको भरमा आयत रोकेको बताउनुभएको छ । मिडिया इन्टरनेशनलले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘राज्यले जनतालाई अपिल गर्नुपर्यो । सरकारले ठूलो सार्वजनिक गाडिको व्यवस्था गर्नुपर्यो । महंगो सामान प्रयोग नगर भन्नुपर्यो । यसरी सामानको आयत नै बन्द गर्ने निर्णयले के इफेक्ट गर्छ भनेर सरकारले सोच्नुपर्छ ।’ उहाँले सरकारले कुन–कुन बस्तु निर्यात गर्ने, कुन आयत गर्ने भनेर निर्कोल गर्नुपर्ने बताउनुभयो । व्यवसायीले चाहिने भन्दा बढी सामान मगाएको छ भने त्यसलाई रोक्नुपर्ने भन्दै उहाँले अत्यावश्यक वस्तु के के हुन् भनेर आपूर्ति मन्त्रालयले छुट्याउनुपर्ने बताउनुभयो ।
लगानी योग्य पुँजीको अभाव र राष्ट्र बैंकले पुनर्कर्जाको व्याजदर बढाउँदा समस्या उत्पन्न भएको पनि उहाँले बताउनुयो । श्रेष्ठले पुनर्कर्जाको व्याजदर ७ प्रतिशत हुँदा उद्योगी व्यवसायीको लागत खर्च बढ्ने गरेको बताउनुभयो । महासंघले लागत खर्च कम गर्न, उत्पादकत्व बढाउन सरकारलाई पटक–पटक आग्रह गरेपनि त्यो सुनुवाई हुन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अहिले व्याजदर बढेर १३ प्रतिशत पुगेको छ । निक्षेपमा व्याज बढी दिँदैमा निक्षेप पनि बढेको छैन ।’
नीजि क्षेत्रले सरकारलाई ३५ प्रतिशतसम्म कर तिर्नुपर्ने अवस्था आएको भन्दै उहाँले आगामी बजेटमा करको दर कम हुनुपर्ने बताउनुभयो । पछिल्लो समय बैंकमा देखिएको तरलताको समस्यालाई हल गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘बैंकहरुसँग प्रयाप्त जनतालाई ऋण दिन सक्ने अवस्था छैन । अहिलेको समस्या यही हो ।’ हालै राष्ट्र बैंकले आयतमा गरेको कडाइका बारेमा उहाँले भन्नुभयो, ‘कडाई गर्दैमा र१ सय १० प्रतिशत धितो राखेर आयत गर्दैमा आयातको दर भने कम हुँदैन ।’
यस्तै उपाध्यक्ष श्रेष्ठले बैंकहरुमा निक्षेप नबढ्नु अहिलेको सबैभन्दा ठूलो समस्या भएको पनि बताउनुभयो । हाम्रो अर्थतन्त्र मानवको शरिर जसरी नै समस्यामा परेको भन्दै यसमा विज्ञहरुको सुझावको खाँचो रहेको बताउनुभयो । तर विज्ञका फरक–फरक विचारका कारण थपसन्त्रास फैलिएको पनि उहाँको भनाइ छ । सरकारले उत्पादनको लागतलाई कम गर्न र सामानलाई बजार विस्तारका लागि विशेष पहल गर्नुपर्ने उहाँको भनाइ छ । उपाध्यक्ष श्रेष्ठले सरकारले पछिल्लो देशको अवस्था के छ भनेर राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय, राष्ट्र बैंकसँग सँगसँगै बसेर निक्र्यौल गरेर जनतामा देशको अवस्था के छ भनेर स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय बैंकमा पैसा राख्नुहुँदैन भन्ने जनतामा त्रास देखिएको छ ।देशश्रीलंकको जस्तो आर्थिक संकटतर्फ जान्छ कि भन्ने जनतामा भय उत्पन्न भएको छ । जसले घरमै पैसा राख्न थालेका छन् । यसरीघरमै पैसा राख्दा पनि तरलतामा समस्या देखिएको हो ।’ विदेशबाट रकम पठाउनेले पनि घरखर्च चलाउने जति मात्र पठाउने गरेको र विदेशमै लगानी गर्दा थप समस्या भएको उहाँको भनाइ छ ।