
बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा सोमबार वीरगञ्जमा सम्पन्न भएको छ। साधारण सभाले सेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रति सेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५४४ रुपैयाँ हुने कम्पनीले जनाएको छ।
अध्यक्ष संघईले २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरुबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दिनहरुमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
सभाबाट आ.व.२०७६-०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरू एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ।
सभाले संस्थापक शेयरधनीका तर्फबाट २०७८ चैत ७ गते प्रकाशित निर्वाचन कार्यक्रम अनुसार २०७८ चैत १३ गते संस्थापक संचालकमा उम्मेद्वारी मनोनयन गरी २०७८ चैत १४ गते अन्तिम नामावली प्रकाशित भए अनुसार निर्विरोध निर्वाचित भएका चार जना सञ्चालकहरुको नाम घोषणा गरिएको छ।
सो अनुसार निर्विरोध निर्वाचित हुने संस्थापक सञ्चालकहरुमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान रहेका छन्। साधारण सभा सम्पन्न पश्चात् बसेको सञ्चालक समितिको ३३६औं बैठकले नव निर्वाचित सञ्चालक गोविन्द लाल संघईलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ।
हाल सो कम्पनीको लगानी रु. १३३.८६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १२४ अर्ब ८४ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ। कम्पनीमा २ लाख भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन्।
हाल कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर २ सय २ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि ३० लाख भन्दा बढी बीमितहरु रहेका छन्।




