Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताभर के के भए बैंकिङ गतिविधि ?

२०७८ चैत्र १८ गते

बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डटकमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए ।

बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिएको छ ।

हिमालयन बैंकमाथि कारबाहीको सिफारिस

नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमाथि कारबाहीको सिफारिस गरेको छ। इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडेको भन्दै हिमालयन बैंकलाई कडा कारबाहीको सिफारिस गरेको हो । केन्द्रीय बैंकका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकलाई भने कम कारबाही गर्ने निर्णय गरिएको छ। बिहीबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन बैंकलाई कडा कारबाही गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकलाई सचेत गराउने निर्णय गरेको हो ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको सबै प्रक्रिया पुगिसकेको मर्जर भाँड्नमा हिमालयन बैंकको सञ्चालक समितिको हात रहेको भन्दै हिमालयन बैैंकका सञ्चालकहरुलाई कारबाही गर्ने निर्णय गरेको छ। मर्जरसम्बन्धी विशेष प्रस्ताव हिमालयन बैंकको साधारणसभाबाट अस्वीकृत गरेको थियो ।

सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन वेब पोर्टलबाटै पेश गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले अनलाईन पोर्टल बाहेकका माध्यमबाट सम्पत्ति शुद्धिकरण सम्बन्धित तथ्यांकहरु स्वीकार नगर्ने भएको छ ।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै इमेल, सिडि वा पत्रमार्फत् शंकास्पद कारोबार प्रतिवेदन तथा सीमा कारोबार विवरण पेश गर्दै आएका सबै संघसंस्थालाई आनिवार्यरुपमा गो एमएल पोर्टलबाट नै विवरण पेश गर्न निर्देशन जारी गरेको हो ।

इकाईले गो एमएलको पोर्टलमा दर्ता गरी म्याजे बोर्डमार्फत उक्त प्रतिवेदनहरु तथा विवरण पठाउन अनुरोध गरेको छ । सूचना अनुसार जेठ १ गतेदेखि सिडि, पत्र वा इमेलमार्फत कुनै पनि प्रतिवेदन स्वीकार गरिनेछैन ।

राष्ट्र बैंकले बढायो आरटीजीएस सञ्चालनको समयसीमा

 नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालनको समयसीमा बढाइएको छ। राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै आउँदो वैशाख २ गतेदेखि लागू हुने गरी आरटीजीएस प्रणाली सञ्चालनको समयसीमा बढाइएको जानकारी गराएको छ। राष्ट्र बैंकमा स्थापना भई सञ्चालनमा रहेको आरटीजीएस प्रणालीमार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने समयसीमा बढाइएको सूचनामा उल्लेख छ।

अब यो प्रणाली माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १६ गतेसम्म बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। प्रत्येक शुक्रबार भने आरटीजीएस प्रणाली बिहान ९ बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।

‘ग्लोबल मनि विक’ सम्पन्न

यो साता नेपाल राष्ट्र बैंकले निर्देशन ‘ग्लोबल मनि विक’को रुपमा बैंक वित्तले सम्पन्न गरेका छन् । विभिन्न बैंक वित्तले वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गरेका थिए ।

ठाडो आदेशबाटै राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्त !

आवेदन दिएका व्यक्तिलाई नै पन्छाएर ठाडो आदेशबाटै बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ । कम्पनीको सीईओमा अर्थ मन्त्रालयका उप–सचिव ज्ञानेन्द्र ओझालाई नियुक्त गरिएको हो । अर्थ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै ओझालाई सीईओ बनाउने निर्णय गरेको हो ।

कम्पनीका सीइओ डिल्लीराज अर्याल गत भदौमा कम्पनीबाट बाहिरिएका थिए । सरकारले उक्त पदमा कुनै पनि व्यक्ति नियुक्त नगरेपछि कम्पनीको पदपुर्ती उप–समितिमार्फत खुला प्रतिस्पर्धाबाट सीईओ छनौट प्रक्रिया अघि बढाइएको थियो ।

खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्ने प्रक्रिया अघि बढे पनि पुनः अर्थले नै ओझाको नाम सिफारिस गरेको हो । अर्यालपछि कम्पनीले सुभाष कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको थियो ।

कम्पनीले खुल्ला प्रतिष्पर्धाबाट सीईओ नियुक्तिको लागि विज्ञापन आह्वान गरेको थियो । कम्पनीको पदपूर्ति समितिले मंसिर १२ गते सार्वजनिक सूचना आह्वान गर्दै सीईओ पदका लागि आवेदन माग गरेको थियो । कम्पनीको सीईओ बन्न ११ जनाले आवेदन दिएका थिए । तीमध्ये शैक्षिक योग्यता, कार्याअनुभव र व्यवसायीक कार्ययोजना मूल्याङन योजनाबाट प्राप्त गरेको कुल योगफलको आधारमा उच्च अंक प्राप्त गरेकाको नाम सार्वजनिक गरेको थियो । आवेदकमध्येबाट सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम छनोट  गरेकाे थियो ।

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिको चैत १६ गते बसेको बैठकले सर्वसम्मत रुपमा अमात्यलाई अध्यक्ष चयन गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष डा. आत्मराम घिमिरेले दिएको राजीनामा स्वीकृत गरी अमात्यलाई जिम्मेवारी दिएको हो । डा. घिमिरेले बुधबार गतेदेखि नै लागू हुने गरी अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिनुभएको थियो ।

बजेटबारे बैंकरसँग अर्थमन्त्रीको छलफल

सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणको लागि बैंकरसँग छलफल गरेको छ । अर्थमन्त्रालयले बैंक वित्तीय तथा बीमा क्षेत्रका बारेमा छलफल गरी सुझाव लिएको छ । आगामी आर्थिक वर्षको बजेटका लागि बैंकर्स संघले पनि सुझाव दिएको छ ।

 

Ad