
बैंकिङ खबर/ पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बैंक तथा वित्तीय संस्थाले मुलुकको अर्थतन्त्रबारे धेरै चिन्ता लिन नपर्ने भन्दै आफ्नो दायित्व गम्भीर भएर पूरा गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आइतबार नेपाल बैंकर्स संघका प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो । छलफलमा संघका सल्लाहकारहरु अनिल केसरी शाह र अशोक राणा, उपाध्यक्ष सुनिल केसी, सदस्य अनुपमा खुन्जेली र सीईओ अनिल शर्मा सहभागी हुनुहुन्थ्यो । छलफलमार्फत आगामी आर्थिक वर्ष २०७९/८० का लागि संघका तर्फबाट सुझाव मागिएको थियो ।
मुख्यगरी बाह्य क्षेत्र बिग्रँदा अर्थतन्त्र संकटको बाटोमा गएको गुनासो नेपाल बैंकर्स संघले समितिमा गरेको थियो । सो क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले नेपालको अर्थतन्त्र गम्भीर दुर्घटनाको संघारमै पुगिनसकेकाले धेरै चिन्ता गर्नु नपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ’अर्थतन्त्र केही समस्यामा त पक्कै छ । बैंकिङ क्षेत्रले धेरै चिन्ता गर्न पर्दैन । तपाईंहरु आफ्नो दायित्व पूरा गर्न बढी केन्द्रित हुनुहोस्,’ भट्टराईले संघका पदाधिकारीलाई भन्नुभयो, ’हाम्रो अनौपचारिक अर्थतन्त्र ठूलो छ । कुनै एक क्षेत्रमा मात्रै समस्या देखिँदा मुलुक नै डुब्छ भन्ने धारणा बनाउनु अनुपयुक्त हुन्छ ।’