
बैंकिङ खबर/ नेपालमा यो साता पनि बैंक वित्त क्षेत्रमा विभिन्न गतिविधिहरु भएका छन् । समग्रमा, साताको सुरुवातदेखि बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु तल प्रस्तुत गरिएको छ ।
राष्ट्र बैंकद्वारा विदेशी बैंक नेपाल भित्र्याउन चुक्ता पुँजीमा पुनरावलोकन

नेपाल राष्ट्र बैंकले विदेशी बैंकहरुलाई नेपाल ल्याउनका लागि चुक्ता पुँजीमा पुनरावलोकन गरेको छ। राष्ट्र बैंकले बुधबार ‘फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२’ जारी गर्दै चुक्ता पुँजी पुनरावलोकन गरेको हो।
राष्ट्र बैंकले यसअघि नेपाली वाणिज्य बैंक तथा वित्तीय संस्थााहरुको चुक्ता पुँजी वृद्धि गर्दा त्यही अनुसार विदेशी बैंकका लागि पनि पुँजी निर्धारण गरेको थियो। नेपाली बैंकको ८ अर्ब रुपैयाँ पुर्याइएको छ। त्यही अनुसार ८ अर्ब हुने खालको नीति लिइएको थियो।
त्यो नीतिलाई खारेज गर्दै राष्ट्र बैंकले दुई करोड डलर चुक्ता पुँजी हुने ब्यवस्था गरिएको हो। नेपालमा विदेशी बैंकले प्रतिनिधि कार्यालय राख्नका लागि अवलम्बन गरिने प्रकृयाका बारेमा पनि नीतिमा उल्लेख गरिएको छ।
चैतमा वाणिज्य बैंकहरुको ब्याजदर नबढ्ने

चैत महिनामा बैंकहरुको ब्याजदर नबढ्ने भएको छ । बैंकर्स संघको कार्यसमितिको बैठकले यसअघि फागुनका लागि तोकेको ब्याज दरलाई निरन्तरता दिने निर्णय गरेको हो ।
चौतर्फी रुपमा ब्याज वृद्धिको विरोधपछि बैंकर्स संघले पुरानै ब्याजलाई निरन्तरता दिने निर्णय गरेको हो । यसअघि फागुनमा साधारण मुद्दतीको अधिकतम ब्याज ११.०३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपकर्ताले १०.०३ प्रतिशत ब्याज तोकिएको थियो । रेमिटेन्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याज पाउनेछन् । चैतका लागि पनि सोही ब्यजादर कायम हुने संघको भनाइ छ ।
बैंकहरुले चैत १ गतेबाट लागू हुने ब्याज फागुन मसान्तमा प्रकाशित गर्ने छन् । फागुनमा १०.०५ प्रतिशत रहेको मुद्दतीको ब्याज ११.०३ प्रतिशत पुर्याइएकाले लागत वृद्धि भइसकेको छ । नयाँ ऋणीको ब्याज माथि पुग्न थालिसकेको छ ।
राष्ट्र बैंकद्वारा विदेशी बैंक नेपाल भित्र्याउन चुक्ता पुँजीमा पुनरावलोकन

नेपाल राष्ट्र बैंकले विदेशी बैंकहरुलाई नेपाल ल्याउनका लागि चुक्ता पुँजीमा पुनरावलोकन गरेको छ। राष्ट्र बैंकले बुधबार ‘फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२’ जारी गर्दै चुक्ता पुँजी पुनरावलोकन गरेको हो।
राष्ट्र बैंकले यसअघि नेपाली वाणिज्य बैंक तथा वित्तीय संस्थााहरुको चुक्ता पुँजी वृद्धि गर्दा त्यही अनुसार विदेशी बैंकका लागि पनि पुँजी निर्धारण गरेको थियो। नेपाली बैंकको ८ अर्ब रुपैयाँ पुर्याइएको छ। त्यही अनुसार ८ अर्ब हुने खालको नीति लिइएको थियो।
त्यो नीतिलाई खारेज गर्दै राष्ट्र बैंकले दुई करोड डलर चुक्ता पुँजी हुने ब्यवस्था गरिएको हो। नेपालमा विदेशी बैंकले प्रतिनिधि कार्यालय राख्नका लागि अवलम्बन गरिने प्रकृयाका बारेमा पनि नीतिमा उल्लेख गरिएको छ।
नियम विपरीत काम गर्ने १४ बैंक राष्ट्र बैंकको कारबाहीमा

राष्ट्र बैंकले नियम विपरीत काम गर्ने १४ वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले पुस मसान्तसम्ममा १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। कारबाहीमा पर्नेमा नेपाल बैंक, बाणिज्य बैंक, प्रभु बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई र नेपाल बंगलादेश बैंक रहेका छन् ।
यसैगरी, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबी बैंक पनि कारबाहीमा परेका छन् । कारबाहीमा परेकामध्ये प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात वैधानिक तरलता अनुपात कायम नगरेका कारण १ लाख ८० हजार ३४० रुपैयाँ जरिवाना गरेको छ ।
नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीइओ) लाई केन्द्रीय बैंकले सचेत गराएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यी बैंकहरुले बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन गरेका छन् । नेपाल बैंकले भने एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको खाता रोक्का राख्न दिइएको निर्देशन पालना गरेको थिएन ।
स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबी बैंकले कूल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५५ विन्दुभन्दा बढीले फरक गर्न नपाइने व्यवस्था उल्लघंन गरेपछि यी बैंकका सीइओहरुलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ ।
नबिल बैंकद्वारा नेपाल बंगलादेश बैंकलाई एक्विजिसन गर्न सहमति

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न आज सैद्धान्तिक सहमति प्रदान गरेको छ। नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंकको चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ । हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ।
पौष मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्बभन्दा बढी र एनबी बैंकसँग १४ अर्ब भन्दा बढी प्राथमिक पुँजी रहेकोमा एक्विजिसन पश्चात् बैंकको प्राथमिक पुँजी ४४ अर्बभन्दा बढी हुन आउनेछ ।
रुसी केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्दै

रुसी केन्द्रीय बैंक (बैंक अफ रसिया) ले बैंकिङ प्रणालीमा तरलता अभाव हुन नदिन रिपो मार्फत तरलता प्रवाह गर्ने भएको छ । रुसले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गरे लगत्तै अमेरिका, बेलायत लगायतका युरोपेली देशहरुले रुसको बैंकिङ प्रणालीमा आक्रामक प्रतिबन्धहरु लगाएका छन् ।
उक्त प्रतिबन्धहरुका कारण बैंकिङ प्रणालीमा तरलता अभाव नहोस् भन्ने उद्देश्यले रुसी केन्द्रीय बैंकले २.४४ ट्रिलियन रुबल अर्थात २१.९८ बिलियन डलर रिपो मार्फत प्रवाह गर्ने भएको छ ।
एक दिने रिपो अक्सनमा सो देशको केन्द्रीय बैंकले ३ ट्रिलियन रुबल रिलिज गर्ने भनिएको थियो । तर रुसी केन्द्रीय बैंकले फाइन–टिउनिङ नीति अवलम्बन गर्दै रिपो अक्सनको सीमा घटाएर रिपो अक्सन र डिपोजिट अक्सन १ ट्रिलियन रुबल बनाएको हो ।
सिभिल सहकारीमा तीन अभिनेत्रीको फस्यो ३ करोड !

सभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा नेपालका ३ वरिष्ठ अभिनेत्रीको झण्डै ३ करोड रुपैयाँ फसेको पाइएको छ । उक्त सहकारीबाट कलाकारहरु पीडित भएको भन्दै कलाकार संघले सरकार गुहारेको छ ।
संघले विज्ञप्ति जारी गर्दै वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अञ्जु कारञ्जित लगायतले वचत गरेको रकम उक्त सहकारीमा फसेको र उनीहरुले उक्त संस्थाका सञ्चालक इच्छाराज तामाङ लगायतबाट असुलउपर गराउन माग गर्दै कानुनी उपचारमा गएको उल्लेख गरेको छ ।
सरकारले चासो दिएर पीडितहरुलाई न्याय दिलाउन र दोषीमाथि कानुनी कारबाही गर्न पनि संघले माग गरेको छ । सोही सहकारी संस्थामा भुवन चैत्य बसुन्धरा फाउन्डेसनको अक्षयकोषको रकम पनि राखिएको जनाइएको छ ।
उक्त संस्थाबाट बर्सेनि डेढ लाख रुपैयाँ राशीको पुरस्कार वितरण हुँदै आएकोमा सो पुरस्कार वितरणलाई पनि असर परेको उल्लेख छ । संघका अनुसार तीन अभिनेत्री र फाउण्डेसनको गरी करिब तीन करोड रुपैयाँ उक्त सहकारीमा फसेको छ ।
‘मुलुकका नागरिक एवं चलचित्रकर्मीमाथि परेको आर्थिक पीडालाई समाधान गरी न्याय दिलाउन सम्बन्धित निकायका सबै पक्षसँग हामी जोडदार अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
आगामी आवकाे बजेट निर्माणको गृहकार्य शुरु

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणको गृहकार्य शुरु गरेको छ । मन्त्रालयले मंगलबार दिउँसो कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो ।
अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणको काम शुरु भएको सन्देश दिन छलफल गरिएको जानकारी दिए । अर्थ सचिव मरासिनीले प्रत्येक नीति कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेपनि उत्पादन वृद्धि हुन नसकेको र आयात बढेकोमा सबैले चिन्तित भएर आगामी आवको बजेटमा कृषिमैत्री नीति र बजेट तर्जुमा लागि सहयोग गर्नुपर्ने बताए ।
अर्थमन्त्री जनार्दन शर्माले कृषिलाई पहिलो प्राथमिकतामा राखेकाले सुझाव संकलनको शुरुवात कृषिबाट गरिएको बताए । कृषिमा प्रर्याप्त बजेट बिनियोजन हुने भएपनि किसान तहसम्म पुगेर कार्यान्वयन नहुँदा समस्या आएको उनको भनाई थियो ।
डेभलपमेण्ट बैंकर्स एशोसिएसनको लोगो परिवर्तन

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको १६ औं वार्षिक साधारण सभा समितिका अध्यक्ष प्रद्युमन पोखरेलको अध्यक्षतामा हालै सम्पन्न भएको छ ।
उक्त साधारण सभाले एशोसियसनको वार्षिक प्रतिवेदन, आ.व. ०७७-७८ को लेखापरीक्षण प्रतिवेदन, आ.व. ०७८-७९ को अनुमानित आय व्यय विवरण र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताब स्वीकृत गरेको छ ।
त्यस्तैगरी, एशोसियसनको छापलाई स्तरिकृत गर्नका लागि नयाँं छाप तयार गरी परिवर्तन गर्नका लागि गरेको प्रस्ताव पनि उक्त साधारण सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।
नेसनल लाइफमा नयाँ अध्यक्ष

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्।अध्यक्ष सिंहले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी हुन्। गत फागुन २९ गते सम्पन्न ३३ औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनः निर्वाचित भएकी हुन्।
सपथ ग्रहण समारोहमा बीमा समितिका अध्यक्ष सिलवालले अध्यक्ष सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष सिंहले पनि सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा बीमा समितिका अध्यक्ष सिलवाललाई सञ्चालक समितिका तर्फबाट आभार व्यक्त गरेकी छन्।
क्रिप्टोकरेन्सी, हाइपर लगायतका एप्स/वेभसाइड बन्द गराउन निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइन तथा अनलाइन जुवा लगायतका एप्स नेपाल भित्र बन्द गराउन सबै इन्टरनेट सेवाप्रदायकलाई निर्देशन दिएको छ ।
नेपालका सबै इन्टरनेट सेवाप्रदायकलाई पत्र पठाउँदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । सञ्चार मन्त्रालयले फागुन १ गते प्राधिकरणलाई पठाएको पत्र मार्फत अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी,विटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट, एप, अनलाइन सञ्जाल लगायत भर्चूअल माध्यमहरु नेपाल भित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राखिदिने व्यवस्थाका लागि अर्थ मन्त्रालयले निर्णय अनुसार त्यस्ता कन्टेन्ट सञ्चालन गर्न नपाउने गरी निषेध तथा बन्द गर्ने व्यवस्था गर्न निर्देशानुसार अनुरोध छ’ इन्टरनेट सेवाप्रदायकलाई पठाएको प्राधिकरणको पत्रमा भनिएको छ ।
रोजगारीको अवसर

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । लघुवित्तले सहायक प्रमुख कार्यकारी अधिकृत १ जना, सहायक महाप्रबन्धक १ जना र बरिष्ठ प्रबन्ध १ जना गरी जम्मा ३ जना कर्मचारीको माग गरेको हो ।
उक्त तीन ओटै पदका लागि स्नातकोत्तर तह उर्तीर्ण गरी बैँक तथा वित्तीय संस्थाको व्यवस्थापकीय तहमा कार्यअनुभव भएको हुनुपर्नेछ ।योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको १५ दिन भित्रमा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता , आफुलाई राम्रोसँग चिन्ने दुई जना व्यक्तिको नाम,सम्पर्क नम्बर लगायतका विवरणहरु उल्लेख गरिएको बायो डाटा संलग्न गरी आवेदन दिन आह्वान गरिएको छ ।
आवेदन गर्दा https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन भर्न सकिने संस्थाले जनाएको छ । इच्छुक आवेदकहरुको उमेरको हद ३० वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । रितपुर्वक प्राप्त दरखास्तहरु मध्येबाट छनोट सूचीमा परेका उम्मेरदवारहरुलाई मात्र अन्र्तवार्ताको लागि सम्पर्क गरिनेछ । सहायक प्रमुख कार्यकारी अधिकृतको हकमा अन्र्तवार्ताको साथै व्यवसायिक योजना प्रस्तुतिको माध्यमबाट छनोट गरिने लघुवित्तले जनाएकाे छ ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा धेरै संख्यामा विभिन्न पदका लागि रोजगारी खुलेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा २ जना, सब ब्रान्च इन्चार्जका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना र ट्रेनी असिस्टेन्टका लागि १५ जना गरी ५७ जना कर्मचारीको माग गरेको छ ।
कम्पनीले आफ्नो उपत्यका बाहिर तथा उपत्यकाभित्रका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।