
बैंकिङ खबर/नेपालको सात प्रदेशमध्ये एक पछाडि परेको प्रदेशको रुपमा सकिन्छ कर्णाली प्रदेशलाई । तर पनि कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कारोबार पछिल्लो समय भने उच्च नै देख्न सकिन्छ । प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेको देखिन्छ । तर पनि यस प्रदेशमा वित्तीय साक्षरताको अभाव भने अझै कायमै छ ।
वित्तीय सम्मेलनले पलाएका आशाहरु
कर्णाली प्रदेशको सुर्खेतमा पहिलो पटक कर्णाली प्रदेशस्तरीय वित्तीय सम्मेलन सम्पन्न भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा यहि फागुन २६ र २७ गते सञ्चालित दुई दिने सम्मेलनमा वित्तीय साक्षरताको र्याली र सूचनामूलक स्टलको प्रदर्शनी गरिएको थियो । सम्मेलनमा वित्तीय ज्ञानका लागि महिला, पुरुष, युवायुवती लगायतका बैंकवित्तसम्बन्धी चासो राख्ने व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
मिडिया इन्टरनेशनलको आयोजनामा भएको सम्मेलनमा कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका, युवा स्वरोजगार कोष, बीमा समिति लगायतको सक्रिय सहभागिता रहेको थियो । सम्मेलनमा शेयर बजार, बीमा, बैंक र लुघवित्तका बारेमा सूचनामूलक स्टलहरु अवलोकन गरिएको थियो ।
सम्मेलनका कार्यक्रम संयोजक माधव निर्दोषले कर्णाली प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्यसहित सम्मेलनको आयोजना गरिएको जानकारी गराए । उनका अनुसार प्रदेशको विकास, उद्यमशीलता वित्तीय अवस्था तथा डिजिटल तथा सूचना प्रदर्शनीहरु राखिएको छ ।
विगतमा देशका विभिन्न ठाउँमा संचालन हुँदै आएको उक्त कार्यक्रमलाई विशेषगरी वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिएको छ । मूलतः एउटै छानामुनिबाट कर्णाली प्रदेशको विकास र उद्यमशीलताका लागि कर्णाली प्रदेशका उद्यमी, व्यवसायी, स्थानीय जनप्रतिनिधिहरु, बैंकर, तथा उद्यमशीलतामा लाग्न चाहने आमव्यक्तिलाई एकै ठाउँमा सहभागि गराई दुईदिनसम्म संचालन हुनेगरी विशेष कार्यक्रम आयोजना गर्नु आवश्यक ठानी यो कार्यक्रम तर्जुमा गरिएको हो ।
विशेषगरी यस कार्यक्रममार्फत वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिएको थियो । बैंकिङ सूचना अभावमा बैंकिङ क्षेत्रले गर्ने कामबारे समेत कतिपय नेपालीलाई जानकारी छैन ।
बैंकिङ क्षेत्रबाट हुने लगानीका विधि वा बैंकिङ क्षेत्रले दिने कर्जा र ब्याजबारे समेत थाहा नहुँदा बैंकबारे नागरिक अनभिज्ञ छन् । यसर्थ, बैंकिङ सूचनाप्रवाह गर्नु तथा आमनागरिकको बैंकिङमा पहुँच बढाउनु र उनीहरूलाई बैंकबाटै कर्जा लिएर उद्यमशीलताको विकास गर्न योग्य तुल्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको संयोजक निर्दोषले बताए ।

बीमा क्षेत्रको विस्तार हुन नसक्दा भइपरि आउने जोखिमबाट समेत नागरिक पीडित छन् । जीवन बीमा होस् या सम्पत्तिको बीमा, बीमाको समग्र आयामबारे जनचेतना बढाउनु पर्ने टड्कारो आवश्यकता देखिएको छ । यसर्थ, बीमाको विकास, विस्तार तथा यसको आवश्यकता र महत्वबारे आमनागरिकलाई जानकारी गराउनु तथा बीमा गर्नुका बहुआयामिक फाइदा बुझाएर बीमा क्षेत्रलाई फराकिलो बनाउनु यस कार्यक्रमको अर्को लक्ष्य राखिएको थियो । उक्त लक्ष्य भने पूरा भएको उनले बताए ।
आमनागरिक पुँजीबजारमा प्रवेश गर्न चाहन्छन्, त्यसबारे जान्न चाहन्छन् । यस कार्यक्रमले आमनागरिकसमक्ष पुँजीबजारसम्बन्धी सूचना पुर्याई पुँजीबजार शिक्षालाई गाउँ–गाउँसम्म फैलाउने र पुँजीबजारको विस्तार गर्ने लक्ष्य लिएको छ ।
हुन्डीजस्ता अनधिकृत कारोबारबाट देशलाई राजस्वमा भएको नोक्सान न्यूनीकरण गर्नु, हुन्डी सञ्चालन अवैधानिक भएकाले त्यसबाट पैसा पठाउँदाका हानी–नोक्सानीबारे चेतना अभिवृद्धि गर्नु, आधिकारिक रेमिट्यान्सबाट मात्र पैसा पठाउने बानीको विकास गराउनु यस कार्यक्रमको अर्को उद्देश्य रहेको उनले बताए ।
युवा विद्यार्थीलाई कार्यक्रममा सहभागी गराई उनीहरूलाई वित्तीयरूपमा साक्षर बनाउनु, नेपालमै उद्यमी बन्न प्रेरित गर्ने तथा बैंकिङ टेक्नोलोजीसम्बन्धी जानकारी गराउनु, उद्यमशीलताको विकासमा पुँजी परिचालनजस्ता विषयमा नागरिकलाई जागरुक बनाउनु कार्यक्रमको लक्ष्य रहेको छ ।
पछिल्लो समय विकास भएको फाइनान्सियल डिजिटलाइजेसनको प्रयोगात्मक अभिवृद्धि गर्न पनि आमनागरिकलाई बैंकवित्तको विद्युतीय कारोबार एवं बीमा र सेयरबजारमा भित्रिएका नयाँ टेक्नोजोलीबारे जानकारी गराउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।
विगत ७ वर्षदेखि देशव्यापीरुपमा संचालित ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ ले कर्णाली प्रदेशमा पहिलोपटक कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्धन गर्दै आएको छ ।
‘कर्णालीको अर्थतन्त्रको ढोका खुलेको छ’

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशमा सम्पन्न वित्तीय सम्मेलनले कर्णालीको अर्थतन्त्रको ढोका खुलेको बताएका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा पहिलो पटक यहि फागुन २६ र २७ गते संचालित कर्णाली प्रदेशस्तरीय वित्तीय सम्मेलनको समापन गर्दै उनले सो कुरा बताएका हुन् ।
कर्णाली सबै कुरामा पछि परेको भन्दै उनले भने, ‘कहिले काहीँ मलाई लाग्छ, किन यस्तो हुँदैछ ? यहाँ उत्पादन भएका कृषि उत्पादन काठमाडौंमा सयौं गुणा बढी महँगो पर्छ । हामी कर्णालीमा हुँदा यहि वस्तुको बेवास्ता गर्छौं तर काठमाडौंमा महँगोमा किनेर खाँदा गर्व महसुस गर्छौं । कर्णालीमा के छैन, यहाँ सबै रोगका लागि उपचार गराउन सकिने जडिबुटी छन् तर सदुपयोग गर्न सकेका छैनौं ।’ उनले अझै पनि कयौँ व्यक्तिमा बैंकमा खाता खोलेर पैसा राख्ने बानीको विकास नभएको बताए ।
उनले भने, ‘अन्यथा अर्थ नलागोस् , नेपालमा भएका माडबारी समुदायले एक रुपैयाँ पनि खल्तीमा राख्दैनन् । उनीहरुले एक रुपैयाँ भएपनि बैंकमा राख्दा ब्याज आउँछ भन्ने सोच राख्छन् । तर हामी यस्तो प्रदेशमा छौं, जहाँ एक लाख रुपैयाँ भएपनि सिरानी मुनी राखेर सुत्छौं । हामीलाई खल्तीमा पैसा नभए खानै पाउँदैनौं भन्ने सोच राख्छौं ।’
यस्तै उनले नेपालमा वित्तीय अनुशासनको कमि भएको बताए । उनले भने, ‘एटिएम कार्ड, भिसा कार्ड त हामीले वास्तै गर्दैनौं । यसको प्रयोग खैँ जानेको हामीले ? खैँ वित्तीय अनुशासन ? अहिले हामी विदेश जाँदा डलर, पाउण्डमा खर्च गर्छौं । जेनतेन कतै कतै आइसि नोट चल्छ तर नेपाली नोट त चल्दै चल्दैन । जहाँ गए पनि काम नगरि हुँदैन । आज हामी सुनको थाल बोकेर भीख मागिरहेका छौं । कर्णाली आफैंमा सुनको भण्डार हो । तर हामीले खै कुरा बुझेको ?’
उनले अहिलेको अवस्था ठिक उल्टो भएको भन्दै पछिल्लो अवस्थाले किसानहरु चाहिँ गरिब हुने र व्यापारी धनी हुने परिपाटिको विकास भएको बताए । कृषि उत्पादनको हिस्सा किसानलाई जानुपर्ने हो तर आज त्यहि किसान भोकभोकै बस्नु पर्ने अवस्था आएको उनले बताए । उनले भने, ‘हिजोआज फापरको रोटी काठमाडौंको तारे होटलमा एकपिसको ५ सयसम्म पर्छ तर त्यही फापर कर्णालीमा कति फल्छ कति, यहाँ एकमुरीको ५ सय पनि आउँदैन । यो अवस्थाले कर्णाली पछि पर्नु परेको हो ।’
उनले कर्णालीमा अब वित्तीय साक्षरता आवश्यक रहेको बताए । उनले भने, ‘गाउँ–गाउँमा मात्र नभएर घर घरमा पुगेर जनचेतना जगाउनुपर्छ । वित्तीय अनुशासनबारे सिकाउनुपर्छ । यहाँ कमाएको पैसालाई बैंकमा राख्न सिकाउनुपर्छ । बैंक र किसानको सम्बन्ध बुझाउनुपर्छ । किसानलाई बैंकको महत्व र फाइदाबारे चेतना जगाउन सकिएमात्र कर्णालीलाई आर्थिक रुपमा माथि उकास्न सकिन्छ । हुन त अहिले यहाँ वित्तीय साक्षरता शुरु भएको छ ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कर्णाली प्रदेश प्रमुख विनय सिग्देलले वित्तीय शिक्षा लिन आम नागरिकलाई आग्रह गर्दै यस्तो कार्यक्रमको महत्व रहेको बताए । बीमा समितिका निर्देशक दिनेशलाल कर्णले वित्तीय साक्षरताले बीमा क्षेत्रलाई पनि सहयोग गरेको बताउँदै यस्ता कार्यक्रम अन्य ठाउँमा पनि निरन्तर संचालन गरिनुपर्ने बताए ।

‘वित्तीय सम्मेलनले सकारात्मक प्रभाव पारेको छ’

प्रकाशराज शर्मा
अध्यक्ष, लघुवित्त बैंकर्स संघ
निश्चिय नै वित्तीय सम्मेलनले सकारात्मक प्रभाव पारेका छ । मानिसहरुलाई अहिले पनि वित्तीय क्षेत्रहरुले के गरिरहेका छन्, कसरी काम गरिरहेका छन् भन्ने जानकारी छैन । यसको जानकारी दिन सफल भएकाले पनि सम्मेलनको महत्व छ । यस्ता कार्यक्रमले जनमानसमा जनचेतना जगाउने काम पनि गर्छ । अझ कर्णाली जस्तो विकट क्षेत्रमा त यसले झन महत्व राख्यो ।
यहाँका सम्भावनाहरुका बारेमा र आर्थिक आयआर्जनका लागि के गर्न सकिन्छ भन्ने जानकारी दिन पनि यो सम्मेलनको ठूलो महत्व छ । यसले वित्तीय साक्षरता दिने काम गरेको छ ।
सम्मेलनले अर्थतन्त्र चलायमान कसरी भइरहेको छ भन्ने ज्ञान दिने हुँदा कसरी वित्तीय श्रोतहरु परिचालन भइरहेको भन्ने सम्मको जानकारी एकै थलोमा दिइयो । यो पक्कै पनि ठूलो सम्मेलन हो । कर्णालीका आर्थिक संस्थाहरुका लागि त यो सम्मेलन कोशेढुंगा नै साबित भएको छ । यसले वित्तीय पहुँचको अभिवृद्धि गरेको छ ।
कर्णाली समग्ररुपमा पछि परेको प्रदेश हो । यहाँ भर्खरै मात्र वित्तीय संस्थाहरु विकसित हुँदैछन् । यहाँको भौगोलिक अवस्थाले गर्दा पनि काम गर्न सहज थिएन । यहाँ अन्य प्रदेशको तुलनामा धेरै काम गर्न बाँकी छ ।
यहाँ लघुवित्तको आकार सानो छ । यहाँबाट बैदेशिक रोजगारीमा जानेहरु बढेकाले स्वरोजगार बन्नेतिर ध्यान दिने मानिसहरु कम छन् । चेतना जगाउन बाँकी छ । लघुवित्त मात्र होइन कर्णालीमासमग्र बैंकिङ पहुँच कम नै छ । त्यही समस्या समाधान गर्न सकियोस् भनेर नै हामीले वित्तीय सम्मेलन गरेका हौं । सफल भएको छ ।
व्यवसायीलाई ६० प्रतिशत ब्याज अनुदान

कर्णाली वित्तीय सम्मेलनमार्फत युवा स्वरोजगार कोषले असल व्यवसायीलाई ६० प्रतिशत ब्जाय अनुदान दिएको छ । दुई दिने ‘कर्णाली प्रदेशमा वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी’ मार्फत कोषले उक्त व्याज अनुदान फिर्ता गरेको हो ।
युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले सुर्खेत जिल्लाका दुई वटा सहकारी संस्था पौरखी बचत तथा ऋण सहकारी संस्था एवं वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाका असल व्यवसायीहरुलाई युवा स्वरोजगार कोषबाट ६० प्रतिशत ब्याज अनुदान दिइएको बताए । सुर्खेत प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा युवा स्वरोजगार कोषको कार्यकारी निर्देशक अधिकारी, वित्तीय जन जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोष, बीमा समिति निर्देशक दिनेश कुमार लाल लगायतको उपस्थिति थियो ।
युवाहरुको श्रम र सीपलाई सदुपयोग गरी देशको विद्यमान वेरोजगारी समस्याको समाधानाका लागि वेरोजगार युवाहरुलाई स्वरोजगारका अवसरहरु सृजना गर्ने उद्देश्यले नेपाल सरकारले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०६३ को दफा २ अनुसार २०६५ सालमा कोष स्थापना गरिको हो ।
आर्थिक रुपले विपन्न १८ देखि ६० वर्ष भित्रका वेरोजगार युवाहरुलाई स्वदेशमा नै कृषि, कृषिजन्य तथा सेवा व्यवसाय जस्ता स्वरोजगार मूलक कार्यक्रम संचालन गर्न सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराई आर्य आर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउनु कोषको मुख्य उद्देश्य छ ।
विषयगत सेमिना गोष्ठी

वित्तीय सेम्मेलनमा विभिन्न विधाबाट सेमिनार गोष्ठी, फाइनान्ससियल टेक्नोलोजिका बारेमा अन्तक्र्रिया गरिएको थियो । गोष्ठीमा प्रभु डिजिटलका केशवराज आचार्यले मोवाइल वालेट तथा इ–कमर्सका बारेमा प्रस्तुती दिएका थिए । उनले युवा पुस्तालाई अनलाइन, तथा वालेटका माध्यमबाट सक्रिय हुन आह्वान समेत गरे । अबको भविष्य डिजिटल नै भएको उल्लेख गर्दै उनले रोचक ढंगले विद्यार्थीको विज्ञासाहरुलाई सम्बोधन गरेका थिए ।
सेसनका वक्ता फाइनान्सियल डिजिटल विज्ञ तथा फिनसपका सिइओ युवाराज थापाले समग्र डिजिटलाईजनेशका बारेमा प्रस्तुति दिएका थिए । उनले घरायसी कामदेखि कृषिको विकाससम्म डिजिटलाईजेशनले धेरै सहयोग पुर्याउने बताए । यसैगरी बीमा क्षेत्रको महत्वका र आवश्यकताका बारेमा बीमा समितिका निर्देशक दिनेश लाल कर्णले प्रकाश पारेका थिए । बीमा विषयमा प्रस्तुती दिँदै प्रभु इन्सुरेन्सका सिइओ संचित व्रज्राचार्यले मानिसमा बीमा शिक्षा अभावका कारण बीमा जागरण बढ्न नसकेको बताए ।
कार्यक्रममा आइएमई लाइफ इन्सुरेन्सका कर्णाली प्रदेश प्रमुख प्रेम तिमिल्सिनाले जीवन बीमाको अवधारणा बारे प्रकाश पारेका थिए भने सेयर बजारका बारेकाे सेसनमा इन्पिरियल सेक्रुटीका उदयराज अधिकारीले शेयर बजारको बारेमा जानकारी गराएका थिए । घरमै बसिबसि लगानी गर्न सकिने भन्दै मोबाइलबाटै धेरै कुरा थाहा पाइने बताएका थिए । सेयर बजारमा आग्रसर हुन पनि आह्वान गरेका थिए ।
आइएमई ग्रुपको प्रदेश इन्चार्ज डेकेन्द्र थापाले डिजिटलाईजनेशन र डिजिटलमा युवाहरुको सम्भाव्यताका विषयमा प्रस्तुती दिएका थिए ।प्रभु टेक्नोलोजीका कार्यकारी अध्यक्ष कुशम लामाले सम्पुर्ण सहकारी तथा लुघुवित्त क्षेत्रका व्यक्तिलाई डिजिटल पद्धति भित्र्याउन आग्रह गरिन् । उनले डिजिटबाट हुने सहजिकरणका बारे प्रकाश पारेकी थिइन् ।
समापन समारोहका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, आइएमई लाईफ इन्सुरेन्सका सिइओ कवि फुँयाल, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सहकारीका अगुवा, स्कुल कलेजका विद्यार्थी, प्रिन्सिपल, अध्यक्षहरुको समेतसहभागिता रहेको थियो ।
४ दर्जन भन्दा बढी लघुवित्त सहभागी

सम्मेलनमा विभिन्न जिल्लाबाट करिब २ हजार भन्दा बढी लघुउद्यमीहरु र ४ दर्जनभन्दा बढी लघुवित्तको सक्रिय सहभागीता रहेको थियो ।



