
बैंकिङ खबर/ कर्णाली वित्तीय सम्मेलनमार्फत युवा स्वरोजगार कोषले असल व्यवसायीलाई ६० प्रतिशत ब्जाय अनुदान दिएको छ । मिडिया इन्टरनेशनलले बिहीबार र शुक्रबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको दुई दिने ‘कर्णाली प्रदेशमा वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी’ मार्फत कोषले उक्त व्याज अनुदान फिर्ता गरेको हो ।

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले सुर्खेत जिल्लाका दुई वटा सहकारी संस्था पौरखी बचत तथा ऋण सहकारी संस्था एवं वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाका असल व्यवसायीहरुलाई युवा स्वरोजगार कोषबाट ६० प्रतिशत ब्याज अनुदान दिइएको बताए । सुर्खेत प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा युवा स्वरोजगार कोषको कार्यकारी निर्देशक अधिकारी, वित्तीय जन जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोष, बीमा समिति निर्देशक दिनेश कुमार लाल लगायतको उपस्थिति थियो ।

युवाहरुको श्रम र सीपलाई सदुपयोग गरी देशको विद्यमान वेरोजगारी समस्याको समाधानाका लागि वेरोजगार युवाहरुलाई स्वरोजगारका अवसरहरु सृजना गर्ने उद्देश्यले नेपाल सरकारले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०६३ को दफा २ अनुसार २०६५ सालमा कोष स्थापना गरिको हो । आर्थिक रुपले विपन्न १८ देखि ६० वर्ष भित्रका वेरोजगार युवाहरुलाई स्वदेशमा नै कृषि, कृषिजन्य तथा सेवा व्यवसाय जस्ता स्वरोजगार मूलक कार्यक्रम संचालन गर्न सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराई आर्य आर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउनु कोषको मुख्य उद्देश्य छ ।
युवा स्वरोजगार कोषको कार्यकारी निर्देशक अधिकारीले भने ‘हामीले कोअपरेटिभ संस्थामार्फत व्यवसायीहरुलाई स्वरोजगार सिर्जना गर्छौ । त्यो लगानी गरेर राम्रोसँग काम गरेर कोषलाई रकम फिर्ता गर्छन् । त्यो फिर्ता गरेको रकममध्येबाट ६० प्रतिशत रकम हामीले फेरि उहाँहरुलाई फिर्ता गर्छौं । उहाँहरुले तिरेको व्याजबाट ६० प्रतिशत व्याज फिर्ता गर्ने हो । उदाहरणका रुपमा १० रुपैया तिर्नुभएको छ भने ६ रुपैयाँ व्याज हामीले उहाँहरुलाई भुक्तानी दिन्छौं ।’ कोषले विगतदेखि नै व्याज अनुदान वितरण गर्दै आएको छ ।

कर्णाली प्रदेश सरकार मुख्य साझेदारीमा रहेर संचालन भएको कर्णाली वित्तीय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गर्दै आएको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, बीमा समिति, युवा स्वरोजगार कोष, बैंकर्स संघ, लघुवित्त बैंकर्स संघ लगायतका संघसंस्थाको सहभागिता रहेको थियो ।
दुईदिनसम्म सुर्खेतमा संचालन भएको उक्त सम्मेलमा कर्णालीको विकास, उद्यमशीलता, बैंकिङ तथा वित्तीय लगानी, कर्णाली प्रदेशको वित्तीय पहुँच, फाइनान्सीयल डिजिटलाइजेशन, कर्णाली प्रदेशको बीमा पहुँच, स्वरोजगार र उद्यमशीलता तथा लघु उद्यमशीलता जस्ता विषयहरुमा अन्तक्र्रियात्मक कार्यक्रमहरु संचालन गरिएको थियो ।