
बैंकिङ खबर/ काभ्रेपलाञ्चोकको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले रुपन्देहीको लुम्बीनी सांस्कृतिक नगरपालिकामा रहेको बुद्धज्योती लघुवित्त वित्तीय संस्था लि.लाई प्राप्ती गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा दुबै संस्थाबीचमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाकातर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाकातर्फबाट अध्यक्ष गोविन्द पाण्डेयले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.का संचालकहरु सन्तोष फयल, सञ्जय श्रेष्ठ, प्रविण भट्टराई र प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी एवं बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका संचालकहरु देब बहादुर कुँवर, कुमारी शान्ता आचार्य र प्रमुख कार्यकारी अधिकृत भक्तबहादुर खड्काको उपस्थिती रहेको थियो ।
संस्था प्राप्ती पश्चात संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने र संचालक समिति अध्यक्ष टेकबहादुर बोहरा एवं प्रमुख कार्यकारी अधिकृतमा पुष्करराज जोशी रहने गरी सम्झौता भएको छ भने २०७९ जेठ मसान्त सम्ममाएकिकृत कारोवार गरिसक्ने संस्थाले जनाएको छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.को माघ मसान्त सम्ममा नेपालभर ६३ वटा जिल्लामा १४८ वटा शाखा कार्यालयबाट १ लाख ३० हजार सदस्यहरुमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । संस्थाले माघ मसान्त सम्ममा २ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब रुपैयाँ कर्जा लगानी गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी दिए ।
सातै प्रदेशमा प्रादेशिक कार्यालय तथा उपप्रादेशिक कार्यालयहरुको संरचनासहित कार्य संचालन गरिरहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त र नागबेली लघुवित्तलाई प्राप्ती गरिसकेको छ ।



