Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

तेश्रो त्रैमासमा मिर्मिरे लघुवित्तका सातसय कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

२०७८ फाल्गुन २९ गते

बैंकिङ खबर/  काभ्रेपलाञ्चोकको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बागमती प्रदेशको मातहतमा रहेका १३ वटा शाखाका शाखा कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तथा जोखिम व्यवस्थापन तालिम धुलिखेल स्थित हिमालय हाउस एण्ड रिसोर्टमा प्रदान गरेको छ।

कर्मचारीहरुको दक्षता अभिबृद्धिको लागि तेश्रो त्रैमासमा सातै प्रदेशका विभिन्न स्थानहरुमा तालिम कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाले शनिवार धुलिखेलमा कार्यक्रम गरेको हो ।

नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक भुवन बस्नेतले सहजिकरण गरेका उक्त कार्यक्रममा ६० जना कर्मचारीहरुलाई संस्थागत सुशासन, व्यवसाय प्रवद्र्धन, जोखिम नियन्त्रण एवं नीति निर्देशनहरुको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी, सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहरा, जनशक्ति विभाग प्रमुख लोमश भट्टराई, व्यवसाय प्रवद्र्धन विभाग प्रमुख वेदप्रकाश आचार्य, कर्जा विभाग प्रमुख राजेश श्रेष्ठ, आन्तरिक लेखा परीक्षण विभाग प्रमुख रविन रावत, बागमती प्रदेश प्रमुख तुल्सीराम पाठक लगायतको उपस्थिती रहेको थियो ।

तेश्रो त्रैमासमा संस्थामा कार्यरत सात सयको हाराहारीमा कर्मचारीहरुलाई तालिम दिइएको र बाँकी रहेको केही कर्मचारीहरुलाई पनि तालिम दिने योजना रहेको मानव संशाधन विभाग प्रमुख लोमश भट्टराईले जानकारी दिए ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गत ताप्लेजुङको हाङपाङमा केन्द्र प्रमुख गोष्ठी एवं वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । शाखा कार्यालय हाङपाङका प्रमुख अम्बरबहादुर अधिकारीले संचालन गरेको कार्यक्रममा केन्द्र अन्तर्गतका उत्कृष्ट केन्द्रहरुलाई पुरष्कृतसमेत गरिएको छ । केन्द्र नं. ११ का सदस्य गंगादेवी विष्ट चुडालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. १ प्रमुख सुरेशबहादुर खड्का, फिदिम क्लष्टर प्रमुख तिलक साउद लगायतले वित्तीय साक्षरता कार्यक्रममा सहजिकरण गरेका थिए ।

कार्यक्रममा यस आर्थिक वर्षमा लघुवित्त कारोवार गरेका केन्द्रहरुमा प्रथम रमाइलो मिर्मिरे समूह, द्वितीय लुङसुङबाङ्ग मिर्मिरे महिला समूह र तृतीय सप्तमी मिर्मिरे महिला समूहलाई प्रमाण पत्र तथा नगदसहित पुरस्कृत गरेको थियो । त्यसैगरी कार्यक्रममा उत्कृष्ट बचतकर्ता डोमा शेर्पा र उत्कृष्ट उद्यमी कल्पना कार्की चुहानलाई पनि पुरस्कृत गरिएको थियो ।

संस्थाले यसैसाता २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अछामको चौरपाटीमा र सुनसरीको इनरुवामा पनि वित्तीय साक्षरता एवं केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

मिर्मिरे लघुवित्तले भर्खरै रुपन्देही स्थित बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने समझदारी पत्रमा समेत हस्ताक्षर गरेको छ । संस्थाले १४८ वटा शाखा कार्यालय बाट १ लाख ३० हजार सदस्यहरुमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । माघ मसान्त सम्ममा २ अर्ब ५० करोड रुपैंयाँ निक्षेप संकलन गरि ९ अर्ब रुपैंयाँ कर्जा लगानीमा गरिरहेको संस्थाले जनाएको छ ।