Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

समता घरेलु लघुवित्तद्वारा वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

२०७८ फाल्गुन २७ गते


बैंकिङ खबर/ समता घरेलु लघुवित्तले तीन दिने वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । लघुवित्तले लक्षित वर्गलाई वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले आफ्नो इलाका प्रमुख लगायत शाखा प्रमुखहरुलाई धुलिखेलमा तालिमको आयोजना गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकद्धारा जारी वित्तीय साक्षरता मार्गदर्शन २०७८ को अधिनमा रहि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको हो ।

वित्तीय सचेतना अभिवृद्धि सम्बन्धी क्रियाकलापहरुलाई आगामी दिनमा अभियानको रुपमा अघि बढाउन वित्तीय संस्था भित्रै दक्ष प्रशिक्षकहरु तयार गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको लघुवित्तका प्रवन्धक÷कम्पनी सचिव विश्वराज श्रेष्ठले जानकारी दिए ।

तालिममा पैसाको व्यवस्थापन कसरी गर्ने, वित्तीय लक्ष्य मार्फत अल्पकालिन, मध्यकालिन र दिर्घकालिन आवश्यकताहरु कसरी पुरा गर्दै जाने, बचत तथा कर्जालाई कसरी व्यवस्थित गर्ने, पारिवारिक बजेटको उद्देश्य र यस्को उपयोगिता कसरी गर्ने, जोखिम व्यवस्थापन साथै सुरक्षित बैदेशिक रोजगारको सुनिश्चिता कसरी गर्ने, आवश्यकता तथा चाहनाको पहिचान आदि विषयवस्तुहरुमा तालिम अवधिमा प्रशिक्षण दिइएको थियो ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले तालिम पश्चात् सम्बन्धीत शाखा प्रमुखहरुले निर्धारित कार्ययोजना अनुरुप आगामी असार मसान्तभित्र १२ हजार भन्दा बढी लक्षित वर्गहरुलाई वित्तीय रुपमा साक्षर गराउने लक्ष्य रहेको बताए । साथै आगामी दिनमा ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्दै जाने योजना रहेको उनको भनाई छ ।