
बैंकिङ खबर/ यस वर्ष बैंकहरुको निक्षेप वृद्धिदर घटेको पाइएको छ । चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको निक्षेप संकलन निकै कम देखिएको हो । गत डेढ वर्षमा कर्जा लगानी ४४ प्रतिशतले बढेको भए पनि निक्षेप संकलन भने न्यून छ ।
नेपाल बैंकर्स एशोशियसनको तथ्यांक अनुसार बैंकहरुको निक्षेप संकलन विगत ६ वर्ष यताकै न्यून देखिएको हो । चालु आर्थिक वर्षको माघसम्ममा बैकहरुले १ खर्ब १० अर्ब रुपैयाँ मात्रै निक्षेप सँकलन गरेका छन् । बैंकर्स संघले उपलब्ध गराएको गत ६ वर्षको तथ्यांकमा यस वर्ष निक्षेपको वृद्धिदर सबैभन्दा कम छ ।
गत आर्थिक वर्षको यही ७ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन २ खर्ब ९९ अर्ब रुपैयाँले बढेको थियो । चालु आर्थिक वर्षमा बैंकहरुले निक्षेपको ब्याजदर बढाए पनि निक्षेपकर्ता भने आकर्षित हुन सकेका छैनन् । वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशत माथि पुर्याइसकेका छन् ।
आर्थिक वर्ष २०७६-७७ को यसै अवधिमा बैंकहरुको निक्षेप १ खर्ब ८८ अर्ब रुपैयाँले बढेको थियो भने २०७५-७६ मा २ खर्ब १ अर्ब, २०७४-७५ मा १ खर्ब २१ अर्ब, २०७३-७४ मा १ खर्ब ८९ अर्ब र आर्थिक वर्ष २०७२-७३ मा पनि निक्षेप संकलन १ खर्ब ३६ अर्ब रुपैयाँले बढेको थियो ।
यस वर्ष भदौ, असोज, पुस र मंसिरमा निक्षेप संकलन केही बढेको भए पनि आर्थिक वर्षको सुरुवाती महिना असारमा नै निक्षेप संकलन ७८ अर्ब रुपैयाँले घटेको थियो । यस्तै गत कार्तिक महिनामा पनि निक्षेप संकलन ३६ अर्ब रुपैयाँले घटेको छ भने माघमा १३ अर्ब रुपैयाँले घटेको छ ।
माघ अन्तिमसम्ममा बैंकहरुको निक्षेप संकलन ४३ खर्ब ११ अर्ब रुपैयाँ छ । बैंकर्स एशोशियसनको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा बैंकहरुका ४ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
गत साउनमा ४३ अर्ब कर्जा दिएका बैंकहरुले भदौमा १ खर्ब ८ अर्ब, असोजमा १ खर्ब २६ अर्ब, कार्तिकमा ३६ अर्ब, मंसिरमा ५० अर्ब, पुसमा ५९ अर्ब र माघमा १२ अर्ब रुपैयाँ रुपैयाँ कर्जा लगानी गरेका छन् । गत आर्थिक वर्षको यही ७ महिनामा बैंकहरुले ४ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।