Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘क्यूआर कोड’ मा क्रान्ति: तरकारी पसलदेखि सरकारी सेवासम्म भुक्तानी

२०७८ फाल्गुन २४ गते

बैंकिङ खबर/ नेपालको हकमा भुक्तानी प्रणालीमा आएको क्रान्तिका पछाडि एफवान सफ्टको नेतृत्वदायी भूमिका रहेको छ। भुक्तानी प्रणालीमा ‘क्यूआर कोड’ क्रान्ति नै भएको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माको भनाइ छ। नेपालमा डिजिटल पेमेन्टको सुरुआत ई–सेवाले गर्यो । ई–सेवाले डिजिटल पेमेन्टको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको छ। ई–सेवाको यो सुविधा यति व्यापक भयो कि डिजिटल पेमेन्ट भनेकै ई–सेवा हो भन्ने मान्यता विकास भएको छ।

मोबाइलमा रिचार्ज गर्दा होस् वा प्लेनको टिकट काट्न, बिजुलीको बिल तिर्न, स्कुलको फि तिर्न तथा इन्स्योरेन्सको प्रिमियम बुझाउनेलगायतका सेवाका लागि ई–सेवा सबैभन्दा सहज माध्यम बनेको छ। सुरुआती दिनमा बैंक तथा वित्तीय संस्थालाई पनि विद्युतीय प्रणालीमा जोड्न ठूलै मेहेनत गर्नुपरेको स्मरण गर्छन् प्रमुख कार्यकारी अधिकृत शर्मा । सुरुमा एसएमएसमार्फत जानकारी दिने प्रणालीको विकास भयो । मोबाइल फोनमा भएको क्रान्ति तथा इन्टरनेटको सहज उपलब्धतासँगै विद्युतीय कारोबारको दायरा र सीमामा आकाश–जमिनको फरक देखिन थालेको हो ।

ठूला सपिङ मलदेखि, कफीसप र रेष्टुराँ हुँदै साना पान पसलले पनि यतिबेला क्यूआर कोड स्क्यान गरेर बिल भुक्तानी गर्न सकिन्छ। बैंक तथा वित्तीय संस्थाहरु फाेनपे, ई–सेवा, खल्तीजस्ता भुक्तानी प्रणालीमा जोडिएका छन् । यसबाट समयको बचत भयो भने भुक्तानी प्रणाली मोबाइलको एक क्लिकका भरमा हुने भयो । एफवान सफ्टका सिइओ शर्माका अनुसार फोन पेबाट मात्रै हाल दुई अर्ब ५० करोड बराबरको भुक्तानी हुन्छ । ई–सेवाको झण्डै ५० लाख पटक एप डाउनलोड भएको छ। समयक्रम अनुसार सेवामा विविधिकरण गरिरहेको र नगदरहित कारोबारका अलावा, विद्युतीय प्रणालीबाटै ऋण लिने तथा अन्य दैनिक जीवनसँग जोडिएका क्षेत्रमा पुग्ने लक्ष्य राखिएको उनको भनाइ छ।

तपाईँको बैंक खातामा पैसा छ भने कहीँ कतै जाँदा पनि वा कुनै काम गर्दा पनि रोकिने अवस्था छैन। हरेक क्षेत्रमा सहजरूपमा भुक्तानी गर्न सकिने अवस्था सिर्जना भएको छ। नगद छैन, के गर्ने होला भन्ने चिन्तासमेत आम मानिसमा हट्दै जानु नै आफूहरूको पनि सफलता भएको उनको भनाइ छ। तरकारी किन्न जाँदासमेत नगद नभए पनि चल्ने भएको छ। नगदको सट्टामा मोबाइलमा भएको एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्न पाउँदा सहज भएको छ।

गोजीभरि नगद राख्न पनि नपर्ने, एटिएमको बुथ खोज्दै दौडनु पनि नपर्ने र चेक बोकेर सटहीका लागि लामो लाइनमा लाग्नुपर्ने झन्झट हट्नु पनि अर्को सफलता भएको प्रमुख कार्यकारी अधिकृत शर्माको भनाइ छ। समयको बचतमात्रै होइन, भुक्तानी गरेको रकमको १० प्रतिशत रकम खातामा तुरुन्तै फिर्ता आउने भएकाले पनि मानिसलाई थप आकर्षित गरेको छ।

नेपालको भुक्तानी प्रणालीमा नयाँ मार्गदर्शन गर्ने एफवान सफ्टले स्थापनाको १७ वर्ष पूरा गरेको छ। यसबीचमा कम्पनीले सबै बैंक तथा वित्तीय संस्थालाई यस प्रणालीमा जोडेको छ। ती सबैको मोबाइल एप एफवान सफ्टले बनाएको छ। एफवान सफ्टको सिस्टममा सबै बैंक तथा वित्तीय संस्था जोडिएको छ। त्यसबाट बैंक तथा वित्तीय संस्थालाई पनि निक्षेप प्राप्त हुने, उपभोक्तालाई नगद बोक्नुपर्ने झन्झटको अन्त्य गरिदिएको छ भने मर्चेन्टहरुलाई सुरक्षितरूपमा बैंकमा पैसा जम्मा भइराख्ने अवस्था बनेको छ।

पसलमा पनि क्यूआर कोडमार्फत भुक्तानी गर्दा एउटा स्ट्यान्ड मात्रै राख्दा हुने भएको छ। त्यसबाट जुनसुकै बैंकको एप वा ई–सेवा, फोन पे, खल्तीजस्ता एपबाट भुक्तानी गर्न सकिने भयो। भुक्तानी प्रणालीको नयाँ विकास वास्तवमै प्रभावकारी बनेको जानकारी दिँदै शर्माले समग्र बैंकिङ प्रणालीलाई यसैमा जोडिएकाले बैंक तथा वित्तीय संस्थाका ग्राहकले यसैमार्फत सहजरूपमा कारोबार गर्न पाएको र सबैभन्दा सुरक्षित रहेको बताए।

अन्य प्रविधि विदेशबाट आयात भए पनि सूचना प्रविधिको क्षेत्रमा भएका विकासको श्रेय भने नेपाली व्यवसायीलाई नै जान्छ। भारतलाई केन्द्र बनाएर काम गरिरहेका फोन पे, गुगल पे, पेटिएमजस्ता सेवाप्रदायक पनि नेपालमा आउने तयारी गरिरहेका छन् । कत्तिको चुनौती देख्नुहुन्छ भन्ने प्रश्नमा एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत शर्मा भन्छन्, “हामी हाम्रो प्रविधि र हाम्रो सेवामा विश्वास गर्छौँ। यही आउने हो उनीहरु पनि त्यसकारण हामीलाई कुनै चुनौती हुँदैन।” जसरी प्रविधिको प्रयोगमार्फत मानिसको दैनिक जीवन सजिलो बनेको छ त्यसमा थप सुविधा थप्दै जानुपर्ने आवश्यकता पनि बढेर गएको छ।

कुनै पनि कामका लागि पनि बैंक तथा वित्तीय संस्थामा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्यका लागि के–कस्ता काम गर्न सकिन्छ भनेर सुरु गर्दै जाँदा डिजिटल लेण्डिङ पनि अगाडि बढेको जानकारी दिँदै कार्यकारी निर्देशक शर्माले नेपाल सरकार र राष्ट्र बैंकको भूमिका पनि प्रसंशनीय रहेको बताए । डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औँ वर्षमा प्रवेश गरेको छ। सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरु गरेको थियो। कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ।

क्युआर कोड : के हो ? कहाँ कहाँ प्रयोग गर्ने ? कसरी प्रयोग गर्ने ?

क्यूआर कोडको पुरा रुप क्विक रेस्पोन्स कोड हो । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ ।

जापानको अटोमोबाइल उद्योगमा पहिलोपटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रुपमा विश्वभर विस्तार भइरहेको छ । जुन नेपालमा पनि भित्रिएको छ ।

सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ ।

क्यूआरकोड एप्लिकेसमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरु पर्दछन् । अझ स्मार्टफोनमै क्यूआर कोड स्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ ।

तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्नुहुन्छ । साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ । प्रयोगकर्ताहरुले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रडक्ट सम्बन्धि सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन् ।

कहाँ, कहाँ प्रयोग गर्न सकिन्छ ?

रेस्टुरेन्टदेखि हस्पिटालिटी, सरकारदेखि सुरक्षा सम्बन्धि सूचना, जानकारी तथा सामग्री सबैमा सजिलै एक्सेस पाउन क्यूआरकोड सजिलो माध्यम बनेको छ । एसिया प्यासेफिक क्षेत्रमा सबै किसिमका कस्टमर ब्राण्डका लागि क्यूआरकोड एउटा सर्वोपरी प्रबन्ध बनिसकेको छ । क्यूआर कोड प्रविधि सेवा तथा वस्तुको सजिलो र विश्वसनीय पहुँचको बाटो मात्र होइन, कम्पनीहरुका लागि आफ्नो ब्राण्ड स्टोरी सुनाउने माध्यम समेत बनेको छ ।

दैनिक अर्बौं मानिसहरु मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन् । उनीहरुले आफ्ना सबै किसिमका ईकमर्स, सोसल मिडिया तथा मोबिलिटी सर्भिसहरु एउटै सुपर एपभित्र समेटेर राखेका छन् ।

क्युआर कोडका फाइदा
क्युआर कोड प्रयोगका धेरै फाइदा छन् । यसमा विद्युतीय माध्यमबाट कारोबार हुन्छ । अहिले अर्बौं, खर्बौंसम्मको रकम क्युआर कोडबाटै हुन थालेको छ ।

कागजी नोटको प्रयोगमा राज्यको खर्च हुन्छ । हामीले हजार रुपैयाँको नोट छाप्दा झन्डै साढे तीन रुपैयाँ लाग्छ । एक रुपैयाँको सिक्का छाप्न दुई रुपैयाँ खर्च गर्नुपर्छ । क्युआर कोडको प्रयोगले यो खर्च बचत हुन्छ । त्यसैगरी, यसले नोट धुलो–मैलो हुने समस्याबाट पनि बचाउँछ ।

यसले उपभोक्ता र सेवाप्रदायक दुवैको समय बचत गर्छ । यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसा लेनदेन हुन्छ, जसले समय बचाउँछ । यो प्रणलीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ । यसमा लुकीछिपी कोही–कसैले दुई नम्बरी काम गर्ने सम्भावनै हुँदैन । यसमा तपाईंले गरेको कारोबार रेकर्डमै देखिन्छ ।

कोभिडका कारण हामीले जुन समस्या भोग्नुप¥यो, त्यसको हल यही प्रविधिको प्रयोगमा छ । यसमा त्यस्ता समस्या आउँदैनन् । कार्डको प्रयोगमा छुनसम्म पथ्र्यो, तर यो परैबाट देखाएर कारोबार गर्न सकिन्छ । नगदमा हुने कारोबार धेरै खालका विकृतिको जड हो, चाहे भ्रष्टाचार होस्, चाहे अन्य आपराधिक घटना वा काम । यी सबैमा नगद जोडिएका हुन्छन् । ९९ प्रतिशत आपराधिक घटना वा विकृति नगदका कारणले निम्तिएका हुन्छन् । नगदलाई छोडिदिनुभयो भने यी विकृति पनि घट्छन् । नगदरहित कारोबारले नै सुशासित समाजको विकास हुन सक्छ । हामीले संसारका मुलुकहरु हे¥यौँ भने अत्यन्तै सुशासित भनिएका मुलुकमा नगदसहित कारोबार हुने गरेको पाउँछौँ । त्यसैले सभ्य र आधुनिक समाज निर्माणका साथै व्यक्ति स्वयम् आधुनिक, सभ्य र सुशासित हुन पनि आधुनिक प्रविधिको प्रयोग जरुरी छ ।

Ad