Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंक र वाणिज्य बैंकको परीक्षा अनिश्चित !

२०७८ फाल्गुन १८ गते

बैंकिङ खबर/ राष्ट्र बैंक र वाणिज्य बैंकको परीक्षा अनिश्चित भएको छ । निजामती सेवासँगै सुरक्षा निकाय र संगठित संस्थामा थारू समुदायलाई छुट्टै समावेशी कोटा कायम गरिनुपर्ने मागसहित सर्वाेच्च अदालतमा धमाधम मुद्दा पर्न थालेपछि परीक्षा अनिश्चित बनेको हो । अहिले लोकसेवाका २८ सय ९१ पदका परीक्षा अनिश्चित बनेको छ ।

थारूलाई ६.६ प्रतिशत क्लस्टरको माग गर्दै दायर रिटका कारण संघतर्फका प्राविधिक शाखा अधिकृत, नायव सुब्बा, स्वास्थ्य सातौँ र आठौँ, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, नेपाल प्रहरी तथा नेपाल टेलिकमसँगै बागमती र कर्णाली प्रदेश लोकसेवाका परीक्षा प्रभावित भएका हुन् । एकै प्रकृतिका यी रिटको टुंगो नलागेसम्म शिक्षक सेवा आयोग, नेपाली सेना र बीमा कम्पनीको परीक्षा पनि धकेलिने सम्भावना बढेको छ ।

यी निकायमा आह्वान भएका खुला तथा समावेशीतर्फको स्थायी पदपूर्ति विज्ञापनमा ‘थारू क्लस्टर’ नरहेको र विज्ञापन बदरको मागसहित दायर छुट्टाछुट्टै रिटमा सर्वाेच्च अदालतले धेरैजसोमा अन्तरिम आदेश र केहीलाई लगाउमा राख्न भनेपछि अनिश्चितता बढको हो । थारू कल्याणकारिणी सभाले थारूलाई ६.६ प्रतिशत आरक्षणको माग गर्दै हरेक सरकारी विज्ञापनविरुद्ध रिट दायरको क्रम बढाएको छ ।

सोमबार मात्र शाखा अधिकृत, स्वास्थ्य सेवा चौथो र पाँचौँ तथा त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक, उपप्राध्यापक पदको विज्ञापनविरुद्ध पनि रिट दायर भएको छ । यससँगै रिट संख्या १४ पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले नवौँ तह वरिष्ठ प्रबन्धकसहित आठ सय ३६ पदका लागि १४ कात्तिकमा दरखास्त आह्वान गरेको थियो । जसमा एक लाख २५ हजार आवेदन परेका छन् । यसमध्ये सहायक चौथोमा मात्र ९१ हजार आवेदन परेको छ । कार्यतालिकाअनुसार चैतमा तोकिएको परीक्षाका लागि परीक्षार्थीहरूले कक्षा लिइरहेका छन् । तर, अदालतको अन्तरिम आदेशपछि उनीहरू अन्योलमा छन् ।
नेपाल राष्ट्र बैंकले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्म ८३ पदका लागि ४ मंसिरमा विज्ञापन आह्वान गरेको थियो । जसमा करिब ३० हजारको आवेदन परेको छ । तर, मुद्दाकै कारण परीक्षा अनिश्चित बनेको छ ।