
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको कडाइसँगै बैंकहरुले ऋण दिन छाडेका छन् । गएको माघ महिनादेखि नै राष्ट्र बैंकले ऋण प्रवाहमा कडाइको नीति लिएको थियो । आयात गर्ने वस्तुहरुमा नगद मार्जिन राख्ने व्यवस्था कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षामा ऋण कडाइ गर्ने नीति लिएको थियो ।
बैकर्स संघले राष्ट्र बैंकमा पठाएको तथ्यांकलाई हेर्दा सबैभन्दा कम कर्जा माघ महिनामा १२ अर्ब ९२ करोड रुपैयाँ कर्जा गएको छ । अघिल्लो महिना पुसमा ५९ अर्ब तथा मंसिर महिनामा ५० अर्ब ऋण गएको थियो । कात्तिकमा ३६ अर्ब,असोज महिनामा १ खर्ब २६ अर्ब, भदौमा १ खर्ब ८ अर्ब र साउन महिनामा ४३ अर्ब ऋण गएको थियो ।
माघ महिनामा बैंकहरुको निक्षेप १३ अर्बले घटेको छ । साउनदेखि माघसम्मको तथ्यांक हेर्दा पुस महिनामा मात्र असोज महिनामा ९८ अर्ब, पुस महिनामा ८७ अर्ब, भदौमा ४८ अर्बले निक्षेप बढेको थियो ।
मंसिर महिनामा ४ अर्बले बढेको थियो । यस्तै साउनमा ७८ अर्ब,कात्तिकमा ३६ अर्ब तथा माघमा १३ अर्बले निक्षेप घटेको थियो । ७ महिना तथ्यांकमा वाणिज्य बैंकहरुले १ खर्ब १० अर्बले निक्षेप बढाएर ४ खर्ब ३४ अर्ब रुपैयाँ ऋण दिएका छन् ।
बैंकहरुले निक्षेप नहेरेर ऋण दिएको कारण केही बैंकको कर्जा निक्षेप अनुपात ९९ प्रतिशतसम्म पुगेको छ । राष्ट्र बैंकले दिएको ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाउने सुविधाले मात्र १०० प्रतिशतभन्दा कम देखिएपनि केही बैंकले निक्षेपभन्दा बढी कर्जा दिएका छन् ।
राष्ट्र बैंकले माघदेखि कर्जामा गरेको कडाइको कारण ऋण प्रवाह ठप्प जस्तो स्थिती देखिएको छ । बैंकरहरुका अनुसार अहिलेपनि बैंकमा २ खर्बभन्दा बढीको ऋणको माग बढी छ ।