
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले निष्काशन गरेको २९ अर्ब ५० करोड रुपैयाँ बराबरका विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्काशन गरेका यी ऋणपत्रहरु दुईदेखि चार वर्ष परिपक्व अवधिका छन् । जसमा दुई वर्ष अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८० ’ङ’, चार वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ’ङ’ र दुई वर्ष अवधिकै ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र २०८० ’च’ रहेका छन् । यिनै ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन् ।
ऋणपत्रका लगानीकर्तालाई सरकारले ५.६५ देखि ५.७४ प्रतिशत ब्याज भुक्तानी गर्नेछ । दुई वर्ष अवधिको विकास ऋणपत्र २०८० ’ङ’ का लागि ५.७४ प्रतिशत, चार वर्षे अवधिको विकास ऋणपत्र २०८२ ’ङ’ का लागि ५.७२ प्रतिशत र दुई वर्ष अवधिको विकास ऋणपत्र २०८० ’च’ मा ५.६५ प्रतिशत व्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।