२०७३ भाद्र २५ गते

सिन्जो आबेको नीति लक्ष्य असफल हुँदै : सुस्तायो जापानी अर्थतन्त्र

shinzo-abeजापानी अर्थतन्त्र अप्रिलदेखि जुनसम्मको त्रैमासिक अवधिमा मुस्किलले वृद्धि भएको समीक्षात्मक तथ्यांकले देखाएको छ । यसले प्रधानमन्त्री सिन्जो आबेको नीति लक्ष्य असफल भएको देखाएको छ । उक्त अवधिमा विश्वकै तेस्रो ठूलो अर्थतन्त्र ०.२ प्रतिशतले मात्रै वृद्धि भएको छ । यद्यपि यो गत महिनाको प्रारम्भिक अनुमान शून्य प्रतिशतको दाँजोमा सुधारसहितको राम्रो हो । कमजोर निर्यातका कारण जापानी अर्थतन्त्रमा मुस्किलको वृद्धि हासिल भएको हो । वार्षिक आधारमा हेर्ने हो भने अर्थतन्त्र ०.७ प्रतिशतले वृद्धि भएको छ । यो प्रारम्भिक तथ्यांकले देखाएको ०.२ प्रतिशतको वृद्धिको दाँजोमा राम्रो हो । यो पहिलो त्रैमासमा भएको २.१ प्रतिशतको वार्षिक वृद्धिको दाँजोमा अझै पनि कम हो ।

प्रभाव : सेयर बजार र मुद्रामा
अबेनोमिक्से सुधारलाई सहयोग गर्ने अपेक्षा गरेका अर्थशास्त्री वृद्धिको यो अवस्थाबाट दबाबमा परेका छन् । समीक्षात्मक तथ्यांक घोषणापछि टोकियोको सेयर बजार ओरालो लागेर खुलेको छ । कारोबारको सुरुको अवस्थामा निकी ०.१८ प्रतिशतले घटेको छ । डलर सुरुको कारोबारमा १०१.८० येनमा कारोबार भएको छ । बुधबार डलरसँगको न्युयोर्कमा भएको कारोबारमा येन १०१.७३ थियो । बृहत् मौद्रिक सहजीकरण, सरकारी खर्च र विद्यमान अवरोध कम गर्नेलगायत मिश्रित रूपमा आएको आबेको योजनाले सुरुमा येनको कीर्तिमानी न्यून बिन्दुमा अवमूल्यन भएको थियो र धितोपत्र बजार पनि उकालो लागेको थियो ।

दबाबमा केन्द्रीय बैंक
बैंक अफ जापानलाई कमजोर अवस्थाको वृद्धि तथ्यांकले दबाब सिर्जना गर्ने अनुमान गरिएको छ । टोकियोले हालै मात्र वृद्धि उकास्नका लागि २७५ अर्ब डलरको प्याकेजको घोषणा गरेको थियो । “जापानी अर्थतन्त्रले यो कमजोर र धरमरको अवस्थाको वृद्धिलाई व्यवस्थापन मात्रै गरिरहेको छ,” मिझुहो सेक्युरिटिजका प्रमुख बजार अर्थशास्त्री यासुनारी एनोले भने, “निर्यात सुधारको माध्यम हुने देखिँदैन । कर्पोरेट नाफा पनि यो वर्ष ओरालो लाग्ने देखिन्छ । ज्यालावृद्धिले उपभोक्ता खर्च बढाउने तथा फर्महरूले आफ्नो लगानी बढाउने अवस्था देखिँदैन ।” 

खतरामा अर्थतन्त्र
येनमा हुने थप अधिमूल्यनले जापानी अर्थतन्त्रलाई मन्दीतर्फ लैजान सक्छ । अधिमूल्यनको अवस्थातर्फ लम्केको येनले कर्पोरेट जापानको आधारभूत लाइनलाई चुनौती दिँदै आएको छ । यसले वृद्धिप्रतिको चासो बढाएको छ । लगानीकर्ताले जापानी मुद्रालाई अस्थिरता र अनिश्चितताको समयमा सुरक्षित सम्पत्तिका रुरूपमा किन्ने गर्छन् । तर, यसले निर्यातलाई कम प्रतिस्पर्धी बनाउने र उनीहरूको नाफा पनि प्रभावित पार्छ । 

सोनी र टोयोटालगायत धेरैजसो परिचित फर्मले समीक्षा अवधिमा नाफा घटेको सार्वजनिक गरेका छन् । तर, अवरोध हटाउनेजस्ता कदम सुस्त गतिमा मात्रै अघि बढेको छ । यससँगै कुनै समयमा विस्फोटक अवस्थाबाट वृद्धि भएको जापानी अर्थतन्त्रलाई माथि उकास्ने आबेको योजना अवास्तविकजस्तो सावित भएको छ । वृद्धिका लागि गरिने खर्चको नीतिले जापानलाई अन्य समकक्षी मुलुकको तुलनामा पृथक् बनाएको जनाइएको छ । एजेन्सी