२०७३ भाद्र २५ गते

चुक्ता पुँजी वृद्धिमा राष्ट्र बैंक कडा हुने

nrb 1 (1)राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा सबै वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याउने घोषणा गत वर्षको मौद्रिक नीतिमा गरेको थियो । सोहीअनुसार स्टान्डर्ड चार्टर्ड बैंकबाहेक सबै वाणिज्य बैंकहरुले पुँजीवृद्धिको योजना नेपाल राष्ट्र बैंकलाई बुझाइसकेका छन् । तर, राष्ट्र बैंकलाई बुझाएको योजनाअनुरुप बैंकहरुले काम नगरेको पाइएको छ । हकप्रद सेयर जारी गर्दा अपनाउनुपर्ने क्रेडिट रेटिङका कारण राष्ट्र बैंकलाई बुझाएको योजना कार्यान्वयन हुन नसकेको बैंकरहरु बताउँछन् । धितोपत्र बोर्डले राष्ट्र बैंकको नीति कार्यान्वयनमा ल्याउन बैंकहरुलाई सहज होओस् भन्ने उद्देश्यले क्रेडिट रेटिङको व्यवस्थामा सहजीकरण गरेपछि बैंकहरुले हकप्रद सेयर निष्काशनलाई नै प्राथमिकतामा राखेका छन् । 

नगद लाभांश वितरणमा रोक
अहिले सञ्चालनमा रहेका २८ वाणिज्य बैंकको चुक्ता पुँजी १ खर्ब २१ अर्ब छ । आगामी असार मसान्तसम्ममा २८ वटा वाणिज्य बैंक सञ्चालनमा रहेमा १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी थप्नुपर्ने हुन्छ । राष्ट्र बैंकले गत वर्ष नै तोेकेको पुँजी नपुग्दासम्मका लागि वाणिज्य बैंकहरूलाई नगद लाभांश बाड्न रोक लगाएको छ । बैंकहरुले बोनस सेयरसँगै गत वर्षको मुनाफाबाट नगद लाभांश पनि बाँडिरहेका छन् । 

कडाइ गर्ने योजनामा राष्ट्र बैंक
बैंकहरुले राष्ट्र बैंकलाई बुझाएको पुँजी वृद्धिको योजनाअनुरुपको काम नगरेपनि ०७४ असार मसान्तसम्ममा आठ अर्ब पुँजी पुर्याउने होडमा सबै बैंकहरु छन् । राष्ट्र बैंकले पनि पुँजी वृद्धि योजनाअनुसार काम नगर्ने बैंकलाई कडाइ गर्ने मनस्थिती बनाएको छ । वित्तीय विवरण स्वीकृत गर्ने समयमा लक्ष्यअनुसारको पुँजी वृद्धि योजना नभए यसमा कडाइ गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले जनाएको छ । लक्ष्यअनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा पुँजी वृद्धि नभएमा केही सहुलियत दिन्छ भन्ने आशमा समय तालिका अनुसार पुँजी वृद्धिको योजना कार्यान्वयनमा नआएको हुन सक्ने भन्दै राष्ट्र बैंकले कडाइ गर्ने योजना बनाएको हो । राष्ट्र बैंकले कुनै पनि प्रकारको सहुलियत नहुने र ०७४ असार मसान्तसम्ममा निर्धारित चुक्तापुँजी पुर्याउनैपर्ने अडान लिएको छ ।   

चुक्तापुँजी नजिक पुगेका बैंकहरु
चुक्ता पुँजी वृद्धिका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको समयावधि अब १० महिना मात्रै बाँकी छ । राष्ट्र बैंकको निर्देशनअनुसार क वर्गका बैंकहरुले ०७४ असार मसान्तसम्ममा चुक्तापुँजी ८ अर्ब पुर्याउनुपर्ने हुन्छ । सोही निर्देशनअनुसार क्षेत्रीयस्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुलाई गाभ्ने, हकप्रद शेयर जारी गर्ने, वोनश शेयर दिने लगायतका उपकरणहरुबाट बैंकहरुले चुक्ता पुँजी बढाइरहेका छन् । राष्ट्र बैंकको नीति आउनुभन्दा पहिले नै सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको चुक्ता पुँजी ८ अर्बभन्दा बढी थियो । हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने कृषि विकास बैंकको चुक्तापुँजी १० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ रहेको छ । सरकारी स्वामित्वमै रहेको नेपाल बैंकको भने हालसम्म चुक्तापुँजी ८ अर्ब पुगेको छैन । निजी बैंकहरुमध्ये हालसम्म कुनैले पनि आठ अर्ब चुक्ता पुँजी पुर्याएका छैनन् । तर, प्रायः बैंकहरुले पुँजी पुर्याउने योजना सार्वजनिक गरी प्रक्रिया समेत अघि बढाइसकेका छन् ।  

नेपाल बैंक  : कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकबाहेक हाल सबैभन्दा धेरै पुँजी नेपाल बैंकको छ । यो बैंकलाई चुक्तापुँजी पुर्याउन गाह्रो छैन । बैंकको हाल ६ अर्व ४६ करोड ५० लाख रुपैयाँ रहेको छ भने हकप्रद शेयर वितरण गरेर यसै वर्ष चुक्ता पुँजी ८ अर्ब पुर्याउने भएको छ । बैँकले सय कित्ता बराबर २३.७४ कित्ता सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ । जसबाट १ अर्ब ५७ करोड रुपैयाँ पुँजी जुटाउने जनाएको छ । यसबाट नपुगेको पुँजी बैँकले मर्जर, एक्वीजीशन, टेकओभर तथा रणनीतिक साझेदार थपेर बढाउने योजना बनाएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक : नेपाल इन्भेष्टमेन्ट बैंकको पनि चुक्तापुँजी ८ अर्ब नाघ्ने टुंगो लागिसकेको छ । यसका लागि बैंकले आफ्ना शेयरधनीलाई ४१ प्रतिशत लाभांस दिने भएको छ । बैंकले गत आर्थिक बर्षको दुई अर्ब ५५ करोड रुपैयाँ नाफाबाट वोनस सेयरसहित नगद लाभांस दिने घोषणा गरेको हो । जसअनुसार बैंकका शेयरधनीले २१ प्रतिशत नगद लाभांस र २० प्रतिशत वोनस सेयर पाउनेछन् । हाल बैंकको अहिले कुल चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत वोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी ८ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ । यससँगै इन्भेष्टमेन्ट बैंक राष्ट्र बैंकले पुँजी बृद्धि योजना ल्याएपछि आठ अर्ब पुर्याउने निजीस्तरको पहिलो बाणिज्य बैंक बन्नेछ ।

ग्लोबल आईएमई बैंक : निजीस्तरको बैंक ग्लोबल आईएमई बैंकलाई पनि चुक्तापुँजी ८ अर्ब पुर्याउन गाह्रो देखिँदैन । हाल बैंकको चुक्तापुँजी ६ अर्ब १६ करोड रुपैयाँरहेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ । यो बैंकले बोनस शेयरबाटै चुक्तापुँजी ८ अर्ब पुर्याउन सक्ने देखिन्छ । 

नेपाल बंगलादेश बैंक : नेपाल बंगलादेश बैंकले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । बैंकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ताका दरले हकप्रद शेयर जारी गरी पूँजी बढाउने निर्णय गरेको हो । नेपाल बंगलादेश बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ४ करोड रहेकोमा हकप्रद जारीपछि ५ अर्ब ४७ करोड नाघ्ने छ । गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको यो बैंकले पनि वानेस शेयर वितरणबाटै चुक्तापुँजी ८ अर्ब पुर्याउन सक्ने देखिन्छ ।

प्रभु बैैंक : हाल प्रभु बैंकको चुक्तापुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकले तोकेको न्युनतम पुँजी पुर्याउन यो बैंकलाई २ अर्बभन्दा बढी पुँजीको आवश्यकता छ । गत आर्थिक वर्षमा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको प्रभु बैंकलाई पनि पुँजी पुर्याउन गाह्रो देखिँदैन । त्यसमाथि बैंकले ६४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरिसकेको छ । त्यसैले प्रभु बैंकले सजिलै ८ अर्ब पुँजी पुर्याउनेछ । 

सिटिजन्स बैंक : गत आर्थिक वर्षको खुद नाफाबाट २० प्रतिशत बोनस शेयर बितरण गरिसकेको सिटिजन्स बैंकले हकप्रद निष्काशन गरेर चुक्ता पूँजी ४ अर्ब ७७ करोड रुपैंया पुर्याएको छ । गत आर्थिक वर्षमा १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको बैंकले बोनस शेयर बाँडेर पुँजी थप गर्न सक्छ । यो बैंकलाई पनि अबको १० महिनामा ८ अर्ब पुँजी पुर्याउन समस्या छैन । 

नविल बैंक : हाल नविल बैंकको चुक्तापुँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा २ अर्ब ८२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले भारी मात्रामा वोनस शेयर वितरण गर्ने सम्भावना छ । त्यसैले यो बैंकलाई पनि चुक्तापुँजी ८ अर्ब पुर्याउन सहज छ । 

सानिमा बैंक : ५० प्रतिशत हकप्रद जारी गरेर बैंकले चुक्तापुँजी ४ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षमा १ अर्ब ५ करोड नाफा कमाएको बैंकले यो वर्ष पनि बोनस शेयर वितरण गर्ने सम्भावना छ । त्यस्तै, सानिमा बैंक १ अर्ब ५३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रक्रियामा छ । त्यसैले यो बैंकले ८ अर्ब चुक्तापुँजी सजिलै पुर्याउन सक्ने देखिन्छ ।

एनआईसी एसिया बैंक : एनआईसी एसिया बैंकको हालको चुक्तापुँजी ४ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । गत बर्ष ३९ प्रतिशत बोनस शेयर र २५ प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी बढाएको बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष खुद नाफामा ५७ प्रतिशत बृद्धि गरी १ अर्ब ७ करोड नघाएको छ । जसबाट बैंकले आफ्ना सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.३७ प्रतिशत गरी जम्मा २७.३७ प्रतिशत लाभांस दिने घोषणा गरिसकेको छ । नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र एनआइसी बैंकको आगामी साधारणसभाले पारित गरेपछि सो बोनस वितरण गरिने छ । त्यस्तै, बैंकले १५ प्रतिशत हकप्रद सेयर दिने निर्णयसमेत गरेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५६ करोड रुपैयाँ छ बोनस सेयर र हकप्रद सेयर वितरणपश्चात चुक्ता पुँजी ६ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । बाँकी १ अर्ब ३८ करोड पुँजीका लागि यो बैंकलाई पनि अबको १० महिनाको अवधि पर्याप्त हुने देखिन्छ ।

बैंक अफ काठमाण्डू लुम्बिनी : बैंक अफ काठमाडू र लुम्बिनी बैंक एक आपसमा गाभिएर बनेको बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको कुल चुक्ता पुँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । २ अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने तयारीमा रहेको बैंकको पुँजीले पनि सजिलै ८ अर्ब नाघ्ने देखिन्छ । 

यीबाहेक, हिमालयन बैंक र एनएमबी बैंकको चुक्तापुँजी झन्डै साढे ४ अर्ब रुपैयाँ छ । यी बैंकहरुलाई पनि चुक्तापुँजी ८ अर्ब पुर्याउन १० महिनाको अवधि पर्याप्त हुने देखिन्छ । त्यस्तै, सनराइज बैंकको पुँजी ३ अर्ब ९७ करोड रुपैयाँ छ । नेपाल एसबीआई बैंकको चुक्तापुँजी हाल ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ रहेको छ भने माछापूछ्रे बैंकको पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । प्राइम कमर्सिल बैंकको चुक्तापुँजी ३ अर्ब ७० करोड ५२ लाख रुपैयाँ रहेको छ भने सिभिल बैंकको पुँजी ३ अर्ब ८ करोड रुपैयाँ छ । सिद्धार्थ बैंकको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । लक्ष्मी बैंकको पुँजी पनि ३ अर्ब रहेको छ । 

हाल २ अर्ब ८४ करोड रुपैयाँ चुक्तापुँजी रहेको सेञ्चुरी कमर्सियल बैंकले ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरिरहेको छ । जसपश्चात् बैंकको चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । त्यस्तै हाल २ अर्ब ८७ करोड रुपैयाँ पुँजी भएको मेगा बैंक मेगा बैंकले पनि साउन २७ गतेदेखि १ सय रुपैयाँ अङ्कित दरका ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद शेयर भदौ २९ गतेसम्मका लागि निष्काशन गरेको छ । जसपश्चात् बैंकको पुँजी ३ अर्ब ७० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । २ अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी भएको जनता बैंक जनता बैंक नेपालले ५० प्रतिशत हकप्रद शेयर निष्काशन जारी गर्ने निर्णय छैठौं बार्षिक साधारणसभाबाट पारित गरिसकेको छ । बैंकको अहिले २ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद सेयर जारी गरेपछि पुँजी १ अर्ब ३ करोड रुपैयाँ बढी ३ अर्ब ९ करोड पुग्नेछ ।

त्यसैगरी, स्टान्डर्ड चार्टर्ड बैंकको चुक्तापुँजी २ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने एभरेष्ट बैंकको चुक्तापुँजी २ अर्ब ७४ करोड २६ रुपैयाँ, कुमारी बैंकको २ अर्ब ६९ करोड रुपैयाँ छ र एनसीसी बैंकको चुक्ता पूँजी २ अर्ब ३५ करोड ३१ लाख ७६ हजार रुपैंया रहेको छ ।