२०७८ माघ २२ गते

मिर्मिरे लघुवित्तका कर्मचारीहरुको क्षमता अभिबृद्धि अभियान निरन्तर

बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता तथा सीप बृद्धिको लागि तेश्रो त्रैमासको शुरुवातबाट तालिम कार्यक्रमहरुको आयोजना गरिरहेको छ । यसैक्रममा शनिवार इटहरीको होटल चिन्तन चौतारीमा प्रदेश नं. १ अन्तर्गत इटहरी–सुनसरी क्षेत्रका १६ वटा शाखा कार्यालयका ३० जना कर्मचारीहरुलाई संस्थाले तालिम दिएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी र कर्जा विभाग प्रमुख राजेश श्रेष्ठले कार्य संचालन, सीप अभिबृद्धि, गुणस्तर व्यवस्थापन तथा बीमा लगायत संस्थागतरुपमा भए गरेका सुधार लगायतका कार्यहरु तथा परिष्कृत कार्य सम्पादनको विषयमा सहजिकरण गर्नुभएको थियो ।

आर्थिक वर्षको शुरुबाट नै कर्मचारीहरुको क्षमता र दक्षता अभिबृद्धिको लागि विभिन्न तालिमहरुको आयोजना गर्दै आएको संस्थाले बुधबार मधेश प्रदेशको कलैयामा र शुक्रबार बर्दिवासमा कर्मचारीहरुलाई तालिम गरेको तथा आगामी दिनमा बाँकी प्रदेशहरुमा पनि कार्यक्रम गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी दिनुभयो ।

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लि.को सहकार्यमा भएको कार्यक्रम प्रदेश नं. १ प्रमुख सुरेशबहादुर खड्काको संयोजकत्वमा सम्पन्न भएको हो।

संस्थाको दोश्रो त्रैमाससम्ममा ८ अर्ब ८६ करोड लगानी गरेको छ भने सदस्यहरुबाट २ अर्ब ६२ करोड बचत संकलन गरेको छ। दोश्रो त्रैमासमा संस्थाले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार १२ करोड १६ लाख रुपैंयाँ नाफा गरेको छ भने प्रति शेयर आम्दानी ५५.९१ रुपैंया रहेको छ।