
बैंकिङ खबर/ काठमाडौं जोरपाटीस्थित सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङको नयाँ हाउजिङ कम्पनी फेला परेको छ । अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उक्त कम्पनी फेला पारेको हो ।
तामाङका नातागोता र अन्य पीडितहरूसँग बयानका क्रममा उक्त कम्पनीबारे रहस्य खुलेको हो । २० रोपनी क्षेत्रफल रहेको उक्त कम्पनी ‘बौद्ध हाउजिङ प्रालि’ का नामका कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छ ।
इच्छाराज तामाङ र सिभिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठका नाममा दर्ता रहेको उक्त कम्पनीको चुक्ता पुँजी ५ करोड मात्र राखिएको छ । जसमा तामाङका नाममा साढे चार करोड र श्रेष्ठका नाममा ५० लाख रुपैयाँ मात्र पुँजी लगानी देखाइएको छ । उक्त कम्पनी धितो राखेर एक वाणिज्य बैंकबाट ४० करोड रुपैयाँ कर्जा लिएको पनि भेटिएको छ ।
सम्पत्ति शुद्धीकरणले दुई वर्ष (२०७६ साल) देखि नै तामाङ आबद्ध कम्पनीका गतिविधि अनुसन्धान गरिरहेको छ । सोही क्रममा तामाङ, उनकी श्रीमती र छोरीहरूका बैंक खाता र चलअचल सम्पत्तिको कारोबार पनि रोक्का गरेको छ ।
यसअनुसार २१ वटा कम्पनीमा तामाङ र परिवारका सदस्यका नाममा मात्र करिब ७३ करोड रुपैयाँ लगानी रहेको भेटाएको छ । नयाँ कम्पनी भेटिएपछि उनको लगानी रहेका कम्पनी संख्या २२ पुगेको छ ।
केहि दिन अघि तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो । संगठित ठगीको आरोपमा पक्राउ परेका तामाङलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश दिएको थियो । उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश जारी भएको थियो ।
न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो। उनीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वलिक कार्यालयले संगठित ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम नतिरेपछि इच्छाराजविरुद्ध पीडितले सीआईबीमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा सुरुमा सीआईबीले इच्छाराजसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो ।