
बैंकिङ खबर/ विकास बैंकहरुको नाफा १२.३५ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत विकास बैंकहरुमध्ये १५ विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
विवरण अनुसार यी १५ विकास बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३५ प्रतिशत बढेको हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ९६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएका यी बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । १५ विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले पुस मसान्तसम्ममा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा पनि विकास बैंकहरुमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले नै कमाएको थियो । यद्यपि, बैंकको नाफा भने समीक्षा अवधिमा २.१४ प्रतिशत घटेको छ ।
नाफा कमाउनेमध्ये सबैभन्दा कम नाफा भने ग्रीन डेभलपमेन्ट बैंक रहेको छ। यस बैंकले १८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २९ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
१५ विकास बैंकमध्ये २ विकास बैंकको खुद नाफा भने ऋणात्मक रहेको छ । अर्थात दुई विकास बैंक घाटामा रहेको छ । पुस मसान्तसम्ममा नारायणी डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंक ऋणात्मक रहेको छ । पुस मसान्तसम्ममा नारायणी डेभलपमेन्ट बैंकको नाफा ५९ लाख ९८ हजार रुपैयाँ र कर्णाली डेभलपमेन्ट बैंक १ करोड ६३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
वृद्धिदरका आधारमा सांग्रीला डेभलपमेन्ट बैंक अगाडि रहेको छ । उक्त बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.८७ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तै नाफामा रहेका १३ विकास बैंकमध्ये ६ विकास बैंकको नाफा भने घटेको छ । जसमध्ये सबैभन्दा कम नाफा घट्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ भने सबैभन्दा बढी नाफा घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ। मुक्तिनाथ विकास बैंकको नाफा समीक्षा अवधिमा २.१४ प्रतिशत घटेको छ भने कर्पोरेटको ७५.७८ प्रतिशत घटेको सार्वजनिक विवरणमा उल्लेख छ ।