
बैंकिङ खबर/ सरकारले सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको छ । तर नागरिकले भने अझै पनि सहज रुपमा खोप नपाएको गुनासो गर्न थालेका छन् ।
काठमाडौंमै पनि पहुँचवाला व्यक्तिले मात्र खोप पाउने, सर्वसाधरण व्यक्तिले नपाएको गुनासो आउन थालेको हो ।गोरखा घर भई हाल काठमाडौंमा मजदुरी गर्दै आएका सिताराम कार्कीले पहिले खोप लगाएनन् । तर अहिले सरकारले खोप कार्ड अनिवार्य गरेसँगै उनले खोप लगाउन अस्पताल गए । तर उनले खोप पाएनन् ।
खोप नपाउँदा उनी अहिले बैंक जान समेत पाएका छैनन् । विदेशबाट छोराले पठाएको रेमिट्यान्स समेत झिक्न नपाएको उनले गुनासो गरे । उनले भने, ‘खोपका लागि अस्पतालमा गएर बुझे तर पाइन् । बैंक लगायत अन्य सार्वजनिक स्थानमा जान खोप कार्ड अनिवार्य गरेको छ भन्ने सुनेको छु तर खोप लगाउन पाइन् ।’
पाल्पा घर भई हाल काठमाडौं बस्दै आएकी संगिता विष्टले पनि खोप लगाउन जाँदा नपाएको गुनासो गरिन् । खोप कार्ड नहुँदा उनी आफ्नो खाता रहेको बैंकमा समेत जान पाएकी छैनन् ।
उनी भन्छिन्, ‘अहिले मेरो खाता रहेको बैंकले खोप कार्ड अनिवार्य गरेको रहेछ । तर खोप लगाउन जाँदा खोप पाइन् । अब बैंक कसरी जाने समस्या भएको छ । ’ यी त केहि उदाहरण मात्र हुन् । तर देशको राजधानी काठमाडौंमै समेत सहजै खोप नपाएको अवस्था छ । सर्वसाधरणका लागि पाउने खोप सहजै नपाउँदा अहिले धेरै नागरिकहरु खोप लगाउन बञ्चित भएका छन् ।
सरकारले सरकारी कार्यालयहरू, सार्वजनिक स्थल र भिडभाड हुने ठाउँमा कोभिड–१९ विरुद्ध खोप लगाएको प्रणाण देखाउन खोप कार्ड अनिवार्य गरिसकेको छ । तर कतिपयले खोप नै लगाउन पाएका छैनन् भने केहिले खोप कार्ड नै नपाएको र कतिले खोप कार्ड हराएको अवस्था छ ।
खोप कार्ड नहुँदा कति नागरिकहरु बैंक वित्तका सेवा लिन समेत पाएका छैनन् । सरकारले सार्वजनिक निकायमा सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेसँगै बैंक तथा वित्तीय संस्थामा सेवा लिन जाँदा पनि खोप कार्ड अनिवार्य गरिएको छ । अधिकांश बैंकहरुले आफ्ना ग्राहकहरुलाई सेवाको खोप कार्ड अनिवार्य भएको जानकारी दिइरहेका छन् । खोप कार्ड नभएकाहरुले सार्वजनिक निकायमा सेवा समेत प्राप्त गर्न सकेका छैनन् भने सरकारले खोप सर्वसुलव गर्न सकेको छैन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकले कोभिड विरुद्धको खोप कार्ड भएकालाई मात्र सेवा दिने बताइसकेको छ । बैंकले अति आवश्यक परेर बैंकमा जाने ग्राहकलाई पनि खोप कार्ड बिना प्रवेश गर्न नदिने जनाइ सकेको छ । बैंकले माघ ७ गते एक सूचना जारी गर्दै आवश्यक परेर बैंकको कुनै पनि शाखा वा कार्यालयमा जाने ग्राहकलाई अनिवार्य खोप कार्ड ल्याउन आग्रह गरेको हो । साथै, सो ग्राहकको खोप कार्डको फोटो मोबाइलमा भए पनि प्रवेश गराउने बैंकले जानकारी गराइसकेको छ ।
अहिले वाणिज्य बैंकमा कोरोनाको सन्त्रास बढ्दै गएको छ । बैंकका कर्मचारहरु समेत कोरोना संक्रमित भएका छन् । जसका कारण कति बैंकका शाखा बन्द भएका छन् भने कतिमा थोरै कर्मचारीले सेवा दिइरहेको अवस्था छ ।
यसरी बैंक वित्तमा कोरोना संक्रमण बढ्दै जाँदा र खोप अनिवार्य गरिएको अवस्थामा सरकारले खोपलाई सर्वसुलव बनाउनुपर्ने देखिन्छ । जसबाट सर्वसाधारणले सहजै रुपमा खोप पाउन ।