
बैंकिङ खबर/ यतिबेला कोरोना महामारीले बैंक वित्तमा समेत नराम्रोसँग प्रभाव पारेको छ । बैंकिङ क्षेत्र दैनिकरूपमा भिडभाड हुने ठाउँमा अन्तर्गत पर्छ । सेवाग्राहीको भिडभाड हुने तथा नियमित सेवा दिनैपर्ने भएकाले यो क्षेत्रलाई संक्रमणको उच्च जोखिम क्षेत्रका रुपमा लिइँदै आइएको छ ।
कोरोना महामारीबीच पनि नेपाल राष्ट्र बैंकले बैंकिङ कारोवारमा सक्रियता बढाउँदै लगेको छ । बैंकका २ सय जना भन्दा बढी कर्मचारीहरु संक्रमित छन् । राष्ट्र बैंकमा कोरोना फैलिएसँगै राष्ट्र बैंकले ‘वर्क फ्रम होम’को नीति अवलम्बन गरेको गर्दै आएको छ । राष्ट्र बैंकले अत्यावश्यक बाहेक सबै सेवा तथा सुविधाहरु घरबाटै दिन निर्देशन दिएको छ ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोख्रेलले भने, ‘राष्ट्र बैंकमा २०, २२ जना भएको एउटा विभागमा ४, ५ जना मात्र स्टापहरु हुनुहुन्छ । अन्यलाई कारोना संक्रमण देखिएको छ । हामीले गत वर्ष नै वर्क फ्रम होमको नीति ल्याएका थियौं । अहिले पनि त्यहि नीति ल्याएका छौं ।’ बैंकहरुले पनि वर्क फ्रम होमकै सेवा शुरु गर्न सक्ने उनले बताए । उनले भने, ‘राष्ट्र बैंकले दिने सेवाहरु हामी कुनै पनि हालतमा रोक्दैनौं । राष्ट्र बैंकले गर्ने काम, सेवाहरु पूर्ण रुपमा दिइ रहेका छौं ।’
राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाका लागि सूचना जारी गर्दै सतर्कता अपनाउन निर्देशन दिइसकेको छ ।
राष्ट्र बैंकले दिएको ४ बुँदे निर्देशन :
१. नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरि सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने ।
२. सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने ।
३. बैंक तथा वित्तीय संस्थाद्वारा संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्ने ।
४. बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी निश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्ययमबाट गर्ने व्यवस्था मिलाउने ।
वाणिज्य बैंकका ५ हजार बढी कर्मचारी संक्रमित
वाणिज्य बैंकका करिब ३ प्रतिशत शाखा कार्यालय बन्द भएका छन् । हाल देशभर ४ हजार ८४७ वटा बैंकका शाखा कार्यालय सञ्चालनमा छन् । यसबीचमा वाणिज्य बैंकमा कार्यरत ५ हजार १ सय २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण हुन थालेपछि बैंकिङ सेवा प्रभावित बनेको छ ।
नेपाल बैंकर्स संघको सोमबार दिउँसोसम्मको तथ्यांक अनुसार मुलुकभरका १७० वटा शाखा कार्यालय कोरोना भाइरस संक्रमणको जोखिमसँगै बन्द भएका थिए । बैंकर्स संघको तथ्यांक अनुसार अनुसार सबैभन्दा बाग्मती प्रदेशमा विभिन्न वाणिज्य बैंकका ९४ वटा शाखा कार्यालय बन्द भएका छन् ।
बैंकमा जानू परेमा यी कुरामा ध्यान दिनुहोस्
सकभर डिजिटल कारोबारमा बढी जोड दिनुहोस् । जसले गर्दा तपाई घरमै बसेर बैंकिङ कारोवार गर्न सक्नुहुनेछ ।
यदि बैंकमै जानु परेमा बैंकको ढोका सकबर आफैँ नखोल्नु होस् । गार्ड दाईलाई भन्नुहोस् । खोल्नै परे ढोकाको नयाँ ठाउँमा (हेन्डल बाहेक अन्य ठाउँमा) समाएर पेल्नुहोस् वा तान्नुहोस् ।
बैंकमा राखिएको सेनिटाईजर हातका औँला, हत्केलामा मात्र होईन नाडीसम्म प्रयोग गर्नुहोस् ।
यदि बैंकमा भिड देख्नु भयो भने, फरक्क फर्कनुहोस् । खाली भएपछि बैंक भित्र छिर्नुहोस् ।
पालो छिट्टै आउँदैछ भने सकबर छुट्टै उभिनु होस्, बैंकको बेन्च प्रयोग नगर्नु होस् । गर्नै परेमा फराकिलो ग्यापमा बस्नुहोस् । बस्दै गर्दा हातले बेन्चको हेन्डल नछुनुहोस् । बैंकका हरेक कुरा छुनुभन्दा पहिला कोरोना हुन सक्छ भन्ने कुरा ध्यानमा राखी सावधान अपनाउनुहोस् ।
चेक साट्न जानु भएको छ भनेः
सकभर चेक घरमै भरेर लैजानुहोस् । बैंकको भौचर डेक्सको प्रयोग नगर्नु होस् । गर्नै परे सावधान अपनाउनु होस्। प्रयोगपछि आफ्नो पालो कुर्ने बेलासम्म खल्तीमा चेक राख्नुहोस् । हातले आँखा मिच्ने, जस्ता काम नगर्नुहोस् । हात बाहिरै राख्नुहोस् ।
क्यासियरलाई चेक दिनु भन्दा पहिला चेकको पछाडि क्यासियरले देख्ने गरी दुईवटा सहि र मोबाईल नम्बर लेखेर दिनुहोस् । सकबर लेख्दा आफ्नै कलमको प्रयोग गर्नुहोस् । काउन्टर डेक्सलाई नछोई उभिनुहोस् ।
क्यासियरले पैसा गनेको हेर्नुहोस्, सकभर उसैसँग मनमन गन्नुहोस् । मेसिनमा गनेको पैसाको संख्या डिस प्लेमा हेर्नुहोस् । पैसा नगनी लैजानुस् भन्दिन तर गन्दा सावधान अपनाउनुहोस् ।
बैंकबाट फर्कनु भन्दा पहिला फेरि सेनिजाईजर प्रयोग गर्नुहोस, ढोका आफै नखोल्नुहोस् । पैसा सँगै कोरोना आएको त छैन । सावधान रहि रहनुहोस् ।
बैंकमा क्यास डिपोजिट गर्न जानु भएको छ भने :
भौचर डेक्समा जानुहोस्, सकबर, आफ्नै कलमको प्रयोग गरि पूर्ण सावधानका साथ भर्नुहोस । तपाई दैनिक जसो बैंकमा जानुहुन्छ भने अलिकति भौचर मागेर लैजानुस् । घरमै वा अफिसमा भरेर ल्याउनुहोस । त्यसो गर्दा अर्को पटक सबैले प्रयोग गरिरहेको भौचर डेक्स प्रयोग गरिरहनु पर्दैन ।
सकबर बैंकबाट फिर्ता पैसा लिनु नपर्ने गरि पैसा जम्मा गर्नुहोस् । काउन्टर डेक्सलाई नछोई उभिनुहोस् । आफ्नै खातामा जम्मा गर्दै हुनुहुन्छ रकम थोरै छ भने पैसा जम्मा भएको म्यासेज मोबाईलमा चेक गर्नुहोस् । म्यासेज आयो र पैसा जम्मा भएको ठिक छ भने भौचर लगेर तपाईले फाल्नुहुने हो भने भौचर नलग्नुहोस् त भन्दिन तर विचार गर्नुस् । अरूको खातामा, संस्थाको खातामा जम्मा गर्नु भएको छ भने सावधानका साथ भौचर सुरक्षित राख्नुहोस् ।
बैंकबाट जानु भन्दा पहिला फेरि सेनिजाईजर प्रयोग गर्नुहोस्, ढोका आफै नखोल्नु होस् । भौचर सँगै कोरोना आएको त छैन । सावधान रहिरहनुहोस् ।




