Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुको आधार दर बढ्यो

२०७८ माघ ११ गते


बैंकिङ खबर/ वाणिज्य बैंकहरुको आधार दर बढेको छ। बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरुको आधार दर गत वर्षको तुलनामा १.१६ प्रतिशत विन्दुले बढेको छ।

चालु आर्थिक वर्षमा बैंकहरुमा देखिएको तरलता अभावको कारण बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए। निक्षेपको ब्याजदर बढ्दा बैंकहरुको लागत बढेको छ जसले गर्दा बैंकहरुको आधार दर बढेको हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा औसतमा ७.२२ प्रतिशत रहेको आधार दर बढेर यस वर्ष ८.३८ प्रतिशत पुगेको हो। यो भनेको १.१६ प्रतिशत विन्दुले धेरै हो।

सिभिल बैंकको आधार दर सबैभन्दा धेरै रहेको छ। पुस मसान्तसम्ममा बैंकको आधार दर ९.७४ प्रतिशत कायम भएको छ। त्यस्तै एनआइसी एशिया बैंकको आधार दर ९.४४ प्रतिशत छ भने एनसीसी बैंकको ९.१५ प्रतिशत र सिटिजन्स बैंकको ९.०८ प्रतिशत रहेको छ। अन्य बैंकको भने ९ प्रतिशतभन्दा कम छ।

यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम छ। यस अवधिमा उसको आधार दर ६.६ प्रतिशत कायम भएको छ।

यस अवधिमा बैंकहरुको औसत आधार दर ८.३८ प्रतिशत छ। १८ बैंकको आधार दर औसतभन्दा धेरै छ भने बाँकी ९ बैंकको आधार दर औसतभन्दा कम छ। राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक र नेपाल बैंकको आधार दर ७ प्रतिशतभन्दा कम छ।

कम आधार दर हुने बैंकबाट कर्जा लिँदा कर्जाको ब्याजदर समेत तुलनात्मक रुपमा केहि कम हुन सक्छ। तर प्रिमियम दर बैंक आफैले तोक्न पाउने हुँदा कम आधार दर रहेका बैंकले पनि धेरै प्रिमियम दर तोकेर कर्जाको ब्याजदर महँगो बनाउन सक्छन्।

गत ३ महिनामा नै बैंकहरुको आधार दर औसतमा ०.८८ प्रतिशत विन्दुले बढेको छ। चालु आर्थिक वर्ष लागेपछि नै बैंकहरुले निक्षेपको ब्याजदर बढाउन थालेका कारण यस अवधिमा आधार दरमा धेरै बृद्धि देखिएको हो। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकहरुको आधार दर औसतमा ७.५० प्रतिशत कायम भएको थियो।

बेस रेट (आधार दर) के हो ?

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । आधार दर भन्दा बढी कुनै पनि बैंक तथा बित्तीय संस्था ले ब्याजदर लिन पाउंदैनन् । कर्जाको ब्याजदर आधार दर (बेस रेट) मा लिङ्क गरेको हुन्छ । आधार दर जहिले पनि तीन/तीन महिनामा घट,बढ हुने गर्दछ । यो अटोमेटिक घटबढ हुने हो । यो तल माथी हुनुमा बैंकहरुको हात हुदैन । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।

सामान्यतया कर्जाको विषयमा बेस रेट प्लस एक प्रतिशत भनिएको हुन्छ । मानौं कुनै बेला ८ प्रतिशत बेस रेट छ भने एक प्रतिशत जोड्दा ब्याज ९ प्रतिशत हुन्छ । बेसरेट घटेर ७ मा आयो भने फेरी एक जोडेर ८ प्रतिशत हुने हुन्छ । त्यसकारण बैंकहरुले निक्षेपमा ब्याजदर घटाउछन् तर कर्जामा चाही घटाउदैनन् भन्ने भ्रम झुठो हो ।

बेसरेट आजको आजै तल माथि हुदैन । जतिबेला बजारमा तरलताको अभाव हुन्छ त्यो बेला कर्जा र निक्षेप दुबै तर्फ को ब्याज दर बढ्छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय निक्षेपमा भर पर्छ । निक्षेप कति सहज हिसावले आउछ यदी ठुलो हिसावले आयो भने कर्जाको ब्याजदर पनि तल आउने हुन्छ ।

बेसरेट गणना गर्ने विषयमा चार वटा कम्पोनेन्टहरु छन् । त्यसमा सबैभन्दा ठुलो कम्पोनेन्ट Cost Of Fund  हो । Cost Of Fund भनेको निक्षेपकर्ताहरुको माझ दिइने ब्याज हो । भोली निक्षेपको अवस्था सहज भयो त्यसको प्रत्यक्ष असर बेस रेटमा पर्छ र बेस रेट तल झर्छ । त्यस्तो हुंदा कर्जाको ब्याजदर पनि स्वतः घट्छ ।

 

 

Ad