२०७८ माघ १० गते

भारतीय बैंकिङ भन्दा नेपालको बैंकिङ क्षेत्र बढी डिजिटलाइजेशन

बैंकिङ खबर/ एउटा लेजर सिष्ट्रमबाट सुरुवात भएको नेपालको बैंकिङ इतिहास आज डिजिटलाइजेशनको जमानामा आइपुगेको छ। परम्परागतरुपमा प्रवाह भएको बैंकिङ सेवालाई (वित्तीय प्रविधि) फिनटेकको माध्यमबाट प्रदान गर्ने प्रविधि नै डिजि बैंकको अवधारणा हो।

विश्व प्रविधिको बजारमा अत्याधुनिक प्रविधिमार्फत ग्राहकले सेवा लिइरहेको अवस्था छ। विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषले पनि प्रविधिको भरपुर प्रयोग गरि डिजिटल बैंकिङको विकास गर्ने सोचलाई प्राथमिकतामा राखेको छ भने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपालका बैंक तथा वित्तीय संस्थाहरुले पनि यसको आवश्यकताको महसुस गरेका छन्।

विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो वित्तीय आवश्यकताको परिपूर्ति ग्राहकहरुले घरबाटै गरेका छन् । खासगरि डिजी बैंक अर्थात् डिजिटल बैंकिङका उच्च आवश्यकताको मनन् गरि वित्तीय प्रतिधिलाई ब्यापक बनाउने, विश्व बजारमा आविस्कार भएका नयाँ प्रविधिसँगै सो को पूर्वाधार निर्माण गरि यसको विस्तार गर्दा, वित्तीय प्रविधिसँगै वित्तीय क्षेत्रले नयाँ गोरेटो कोर्दै आएको छ।

डिजिटल प्रयोगमा उछाल

नागरिकहरुमा डिजिटल प्रयोगमा आकर्षण बढ्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै डिजिटल प्रयोगमा आकर्षण बढ्दै गएको बताएको हो। प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् ।

यस्तै कोरोनाको तेस्रो लहरसम्म आइपुग्दा अझ यसले नेपालको बैंकिङ क्षेत्र डिजिटलतर्फ उन्मुख भइरहेको अवस्था छ। कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा होस् वा राष्ट्र बैंकका निर्देशनहरु किन नहोस् जहाँ डिजिटल कारोवारतर्फ लाग्न प्रोत्साहन गर्दै आएको अवस्था छ। नेपालमा मंसिरपछि विद्युतीय (डिजिटल) भुक्तानी पुनः बढ्दै गएको विभिन्न तथ्यांकहरुले देखाएको छ।

मासिक तथ्यांकका आधारमा कात्तिकमा डिजिटल भुक्तानी कारोबार घटेको थियो, तर मङ्सिरमा भने त्यस्तो कारोबार पुनः बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्मको तथ्यांकअनुसार मङ्सिरमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानीका माध्यमबाट हुने कारोबार रकम बढेको छ। कात्तिकमा यी माध्यमबाट हुने कारोबार रकम घटेको थियो ।

गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । कोरोना महामारी शुरु भएपछि नै नेपालमा डिजिटल भुक्तानी बढ्दै गएको थियो ।

तर, कात्तिकमा एकाएक डिजिटल भुक्तानीको बढ्दो ग्राफ रोकिएपछि विभिन्न आशंका उब्जिएको थियो। तर, मङ्सिरमा भने डिजिटल कारोबार पुरानै लयमा फर्किन लागेको देखिएको छ । गत कात्तिकमा कनेक्ट आईपीएसमार्फत रू. २ खर्ब ३ अर्ब कारोबार भएको थियो, मङ्सिरमा त्यो बढेर २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

गत कात्तिकमा ७८ अर्ब १५ करोड रहेको मोबाइल बैंकिङ कारोबार मङ्सिरमा भने ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। यस्तै, इन्टरनेट बैंकिङ, मोबाइल, वालेट, क्यूआर बेस पेमेन्टबाट हुने कारोबार रकम पनि बढेको देखिन्छ। नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेलका अनुसार कोरोनाको महामारीसँगै डिजिटल भुक्तानी पुनः बढ्दो क्रममा रहेको छ।

पछिल्लो १ वर्षमा डिजिटल भुक्तानी ह्वात्तै बढेको छ। अबको १/२ वर्षमा नै डिजिटल भुक्तानीले ठूलो फड्को मार्ने उनी बताउँछन् । अहिले नगद र डिजिटल भुक्तानी सँगसँगै भइरहेको उनको भनाइ छ।

उता छिमेकी देश भारतमा पनि पछिल्लो समय बैंक वित्तमा डिजिटलाइजेशनलाई प्रोत्साहन दिँदै आएको अवस्था छ। भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका अनुसार भारतको बैंकिङ क्षेत्रमा भुक्तानी, साना फाइनान्स बैंकहरु लगायतका नयाँ बैंकिङ मोडेलहरु अबलम्बन गरिएका छन् । भारतको डिजिटल पेमेन्ट सिस्टमको अवस्था विभिन्न २५ मुलुकको तुलनामा उत्कृष्ट रहेको दावी गरिएको छ।

भारतको बैंकिङ प्रणालीमा २७ वटा पब्लिक सेक्टरका बैंकहरु छन् भने २६ वटा प्राइभेट सेक्टरका बैंकहरु छन् । त्यस्तै, ४६ वटा विदेशी बैंक, ५६ वटा क्षेत्रीय ग्रामीण बैंक, १,५७४ वटा अर्बान कोअपरेटिभ बैंक र ९३,९१३ वटा रुरल कोअपरेटिभ बैंकहरुले भारतमा वित्तीय सेवा दिइरहेका छन् ।

साथमा केही कोअपरेटिभ क्रेडिट इन्स्टिच्युसनहरुले पनि सेवा दिइरहेका छन्। बैंकिङ प्रणालीमा भएको ७० प्रतिशत सम्पत्ति पब्लिक सेक्टरका बैंकहरुमा रहेको छ।

भारत सरकार एवम् केन्द्रीय बैंकले खराब कर्जाको न्युनिकरण, विद्युतीय भुक्तानी प्रणालीको विकास एवम् साना तथा मझौला उद्योगमा लगानी विस्तारलाई प्राथमिकतामा राखेर योजनाहरु तर्जुमा गरेका छन् ।

बैंकहरुले आफ्नो कारोबार मोबाइल फोनको प्रयोगबाट गर्न ग्राहकहरुलाई प्रेरित गरिरहेका छन् । आरबिआईले मोबाइल वालेट र बैंक एकाउन्टबीचमा रकम ट्रान्सफर गर्न अनुमति दिएसँगै मोबाइल वालेटको लोकप्रियता पनि बढ्ने अपेक्षा गरिएको छ।

अव्यवस्थित रुपमा रहेको रिटेल क्षेत्र पनि डिजिटल भुक्तानी प्रणालीमा सम्भावना रहेको छ। सेन्टर फर डिजिटल फाइनान्सियल इन्क्लुजनको तथ्यांकअनुसार, ६३ प्रतिशत रिटेलर्स मोबाइल तथा कार्ड भुक्तानी जस्ता डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा इच्छुक देखिएका छन् । यसरी भारतको तुलनामा नेपालमा पनि पछिल्लो समय नेपालको बैंकिङ क्षेत्र डिजिटलमय भएको देखिन्छ।